मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मायाको आयतन’ सार्वजनिक, मधुसुदनको लेखनीको मुक्तकण्ठले प्रसंसा

‘मायाको आयतन’ सार्वजनिक, मधुसुदनको लेखनीको मुक्तकण्ठले प्रसंसा

अपि टाइम्स

काठमाडौँ । युवाकवि मधुसुदन घिमिरेको कवितासङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा कवि उषा शेरचन, विप्लक प्रतीक, हेम प्रभास अधिकारी, साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालालगायतले कवितासङ्ग्रह संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

पूर्वप्रम खनालले मधुसुदन घिमिरे दृष्टिविहिन भए पनि मनको आँखाले सामान्य मानिसले भन्दा धेरै महसुस गर्ने गरेको बताए । उनले भने, ‘मधुसुदन घिमिरे दृष्टिविहिन भएर पनि सामान्य मानिसले भन्दा धेरै महसुस गर्ने क्षमता छ । उहाँले लेखेको हरेक कवितामा मर्म लुकेको छ । यस्ता कविताहरु धेरै धेरै लेख्न र नेपाली साहित्यका सबै विधामा योगदान गर्न पनि शुभकामना गर्न चाहन्छु ।’

कार्यक्रममा कवि उषा शेरचनले शुभकामना मन्तव्यका साथमा कवि घिमिरेको सम्मानस्वरूप २ कविता वाचन गरेर सुनाइन् ।
उनले मधुसुदनको लेखनीमा क्षमता रहेको बताएकी थिइन् । फरक ब्यक्तिमा साँच्चिकै फरक क्षमता हुन्छ भन्ने कुरा कवि मधुसुदनले प्रमाणित गरेको बताइन् ।

कवि विप्लव प्रतिकले मधुसुदन साँच्चिकै क्षमतावान् कवि रहेको कुरा आफूले पाएको बताए । साहित्य र सिर्जना समाजको नभई कविको दर्पण रहेको बताउँदै मधुसुदनका कविताले उनलाई प्रमाणित गरेको प्रतिकको भनाई छ ।


कवि हेम प्रभासले धेरै पछि एक सुन्दर कृति पढ्न पाएको बताउँदै ‘मायाको आयतन’ कविताप्रति गम्भीर अनुराग हुनेहरूले पढ्नै पर्ने सङ्ग्रह रहेको बताए ।

कार्यक्रममा बोल्ने अरु वक्ताले पनि समाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्था लगायत विषयहरुलाई समेटेर संग्रह गरिएका हरेक कवितामा अर्थ लुकेको बताए ।

मुक्तककार सन्तोष अमागाईले पनि कवि घिमिरेको खुलेर प्रसंसा गरे । घिमिरे नयाँ श्रष्टाको लागि आइडल रहेको उनको भनाई छ । कवि घिमिरेले पहिलो पुस्तक कवितासंग्रह प्रकाशन गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

शिक्षक मिना श्रेष्ठले घिमिरेको स्कुल जीवनबारे बताएकी थिइन् । १२५ थान छोटा आयतनका कविता सङ्ग्र गरिएको सङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

सङ्ग्रहमा रहेका कविताहरूसँगै चित्रहरूसमेत रहेका छन्, जसले अमूर्त रूपमा कवितालाई दृश्य दिएका छन् । कार्यक्रमको संचालन साहित्यकार तथा पत्रकार चन्द्रकान्त न्यौपानेले गरेका थिए ।