मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैभन्दा धेरै संघिय बजेट बाणगंगालाई, कम पाउनेमा शुद्दोधन गाउँपालिका

सबैभन्दा धेरै संघिय बजेट बाणगंगालाई, कम पाउनेमा शुद्दोधन गाउँपालिका

अपि टाइम्स

कपिलवस्तु । जेठ २० गते । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१ र ८२ का लागी कपिलवस्तुमा पाँच अर्ब बजेट बिनियोजित गरेको छ । जिल्लाका १० स्थानीय तहका लागि पाँच अर्ब १६ करोड ६५ लाख विनियोजन गरेको हो । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ५२ करोड ३७ लाख, सःशर्त अनुदानतर्फ तीन अर्ब ४३ करोड ९३ लाख, बिशेष अनुदान नौ करोड ४५ लाख र समपुरक अनुदान दश करोड ९० लाख विनियोजन गरेको हो ।

वित्तीय हस्तान्तरण मार्फत कपिलवस्तुको १० वटै स्थानीय तहले रकम प्राप्त गरेकोमा जिल्लाको सबैभन्दा बढी बाणगंगा नगरपालिकाले रकम प्राप्त गरेको छ । सबैभन्दा कम यसोधरा गाउँपालिकाले कम रकम प्राप्त गरेको छ । बाणगंगा नगरपालिकाले ७२ करोड ३५ लाख रकम वित्तीय हस्तान्तरण मार्फत प्राप्त गर्दा यसोधरा गाउँपालिकाले ३३ करोड ८९ लाख रकम प्राप्त गर्ने भएको छ । बाणगङ्गा नगरपालिकाले ७२ करोड ३५ लाख संघीय सरकारबाट पाउने मध्ये वित्तीय समानीकरण तर्फ १९ करोड ९ लाख र सशर्त अनुदानतर्फ ५२ करोड ६१ लाख रहेको छ । बिशेष अनुदान तर्फ ६५ लाख अनुदान समेत प्राप्त गरेको छ ।

जिल्लामै सबैभन्दा बढि बिशेष अनुदान कृष्णनगर नगरपालिकाले अनुदान प्राप्त गरेको छ, जस्मा ३ करोड बजेट विशेष अनुदान प्राप्त गरेको हो । कृष्णनगर नगरपालिकाले ४८ करोड १२ लाख संघीय सरकारबाट अनुदान प्राप्त गर्ने भएको छ । जस्मा समानीकरण अनुदान तर्फ १६ करोड ३ लाख र सशर्त अनुदान तर्फ २७ करोड ५९ लाख, र समपुरक अनुदान तर्फ १ करोड ५० लाख रहेको छ ।

यस्तै, अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्तर्गत कपिलवस्तु नगरपालिकाका लागि सरकारले आगामी आवका लागि ६० करोड ४४ लाख बजेट विनियोजन गरेको छ । कपिलवस्तुले वित्तीय समानीकरणतर्फ १८ करोड ४१ लाख र सशर्त अनुदानतर्फ ४० करोड ८३ लाख प्राप्त गर्नेछ । समपुरक अनुदान एक करोड २० लाख समेत कपिलवस्तु नगरपालिकाले प्राप्त गर्नेछ ।

यस्तै, बुद्धभुमी नगरपालिकाका लागि सरकारले ६१ करोड ५६ लाख बजेट विनियोजन गरेको छ । बुद्धभुमिले वित्तीय समानीकरणतर्फ १६ करोड ६५ लाख र सशर्त अनुदानतर्फ ४४ करोड २६ लाख प्राप्त गर्नेछ । समपुरक अनुदान तर्फ ६५ लाख प्राप्त गर्नेछ ।

महाराजगन्ज नगरपालिकाका लागि ५७ करोड २१ लाख बजेट विनियोजन गरेको छ । यस्ले वित्तीय समानीकरणतर्फ १४ करोड ५५ लाख र सशर्त अनुदानतर्फ ४० करोड ६ लाख प्राप्त गर्नेछ । बिशेष अनुदान तर्फ एक करोड ४० लाख र समपुरक अनुदान तर्फ एक करोड ५० लाख प्राप्त गर्नेछ ।

यसैगरि, शिवराज नगरपालिकामा ५७ करोड २ लाख बजेट विनियोजन गरेको छ । शिवराजले वित्तीय समानीकरणतर्फ १६ करोड ९५ लाख र सशर्त अनुदानतर्फ ३८ करोड ५७ लाख प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । समपुरक अनुदान तर्फ भने शिवराजले एक करोड ५० लाख प्राप्त हुनेछ ।

गाउँपालिकामध्ये मायादेवी गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । मायादेवी गाउँपालिकाले आगामी आवमा ४७ करोड २८ लाख संघीय सरकारबाट प्राप्त गर्नेछ । जसमा वित्तीय समानीकरणतर्फ १३ करोड ८० लाख र सशर्त अनुदानतर्फ २९ करोड ६८ लाख छ । बिशेष अनुदान तर्फ एक करोड ५० लाख र समपुरक अनुदान तर्फ दुई करोड ३० लाख प्राप्त गर्नेछ ।

यस्तै यशोधरा गाउँपालिकाका लागि सरकारले आगामी आवका लागि ३३ करोड ८९ लाख बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरणतर्फ १२ करोड १४ लाख र सशर्त अनुदानतर्फ १९ करोड ५५ लाख प्राप्त गर्दैछ साथै बिशेष अनुदान तर्फ एक करोड २० लाख र समपुरक अनुदान तर्फ एक करोड प्राप्त गर्नेछ ।

यसैगरि, बिजयनगर गाउँपालिकाले पनि ४४ करोड १ लाख बजेट प्राप्त गरेको छ, जस्मा बित्तीय समानीकरण तर्फ ११ करोड ६६ लाख र सशर्त अनुदान तर्फ २९ करोड ६० लाख बिनियोजित गरेको छ । बिशेष अनुदान तर्फ एक करोड ५० लाख र समपुरक अनुदान तर्फ एक करोड २५ लाख प्राप्त गर्नेछ ।

यस्तै, शुद्दोधन गाउपालिकाका लागि सरकारले आगामी आवका लागि ३४ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । शुद्दोधनले वित्तीय समानीकरणतर्फ १३ करोड ९ लाख र सशर्त अनुदानतर्फ २१ करोड १८ लाख प्राप्त गर्नेछ । शुद्धोधनले बिशेष अनुदान तर्फ ५० लाख प्राप्त गर्नेछ ।

सरकारले कपिलवस्तुका तीन पालिकामा विशेष अनुदान कटौती गरेको छ, जस्मा कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकाले प्राप्त गर्ने विशेष अनुदान सरकारले कटौती गरेको छ ।