मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगााको मञ्जुश्री डुवाउने भावना लिगल, हेर्नुहोस् कर्मचारी कुटपिटसम्मका इलिगल धन्दा

बाणगंगााको मञ्जुश्री डुवाउने भावना लिगल, हेर्नुहोस् कर्मचारी कुटपिटसम्मका इलिगल धन्दा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । झट्ट हेर्दा सुन्दरीजस्तै लाग्ने । मानौँ कि उनी कुनै फिलिमकी हिरोइन् नै हुन् । तर उनको त्यो सुन्दरताभित्र कति कालो कुर्तुतको पोको लुकेको रहेछ भन्ने कुरा उनले काम गरेको संस्थाभित्रको आन्तरिक पक्षसम्म पुगेपछि उदाङ्गो हुन्छ । घर रुपन्देही, बर्ष २५ २६ (कर्मचारीको भनाई ) । पेशाले सहकारीकी ब्यवस्थापक अथवा शाखा प्रमुख । हाल फरार । हेर्दा मोटी र खाइलाग्दी देखिने भावना लिगलले कतिसम्म इलिगल धन्दा गर्ने रहेछिन् भन्ने कुराको पोल उनैले खटाएका कर्मचारीले खुलाएका छन् । उनैको कारण एउटा रेपुटेड सहकारीको शाखा टाँट पल्टन लागेको छ भने उनले जागिर दिएर काम गर्ने कर्मचारी अहिले यता न उताको स्थितिमा रहेका छन् । बचतकर्ता, सहकारीका अध्यक्ष र कर्मचारीले उनलाई माग गर्दा फेला पार्न सकिएको छैन ।

केहि दिनअघि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ सिद्धिपुरमा शाखा खोली कारोबार संचालन गरिरहेको मञ्जुश्री वहुउद्धेश्यी सहकारीलाई बचतकर्ताले घेराउ गरे । दुख्ख गरेर जम्मा गरेको बचत रकम हिनामिना गरेको सुइँको पाएपछि स्थानीय बचतकर्ताले सहकारी घेराउ गरेका थिए भने त्यसका अध्यक्षलाई प्रहरीले समातेर लगेको थियो । पछि बचतकर्तासंग बिभिन्न बुँदामा सहमति गरेर अध्यक्षलाई छाडेपछि अहिले अवस्था सामान्यजस्तो बनेको छ । सहकारी संचालनको लागि प्रमुखको जिम्मा पाएकी उनै भावना लिगल सहकारीमा छैनन् । सहकारीको सटर बन्द छ । ३ ४ जना कर्मचारी आएर दिनभर डरैडरमा कुरेर बस्ने गरेका छन् । बचत हुन छोडेको छ । दिनदिनै बचतकर्ता आउँदै ती २० २१ बर्षका भर्खरका किशोर किशोरी कर्मचारीमाथि हप्कीदप्की गर्ने गरेका छन् । बचत कर्ताको दिनदिनै कर्मचारीमाथि प्रश्न हुन्छ खोई भावना ?तर भावना नभएपछि सारा टर्चर तिनै कर्मचारीले खेप्नु परेको छ । आजै तिनै भावा लिगलको इलिगल हर्कतका बारेमा फलोअप समाचार प्रकाशन गर्दै छौँ ।

के भएको थियो ?

केहि समयअघिसम्म मञ्जुश्री सहकारी राम्रै सहकारीको दर्जामा पर्ने गर्दथ्यो । तर बुटवलमा सहकारीलाई बचतकर्ताले घेराउ गरेपछि त्यसको असर उसका बिभिन्न शाखामा पनि परेको छ । त्यसैअन्तर्गतको शाखा हो बाणगंगाको सिद्धिपुर शाखा ।
बाणगंगाको शाखा अरु कुनै कारणले डुवेको होइन एक जना ब्यवस्थापक खराब पर्दा डुब्न पुगेको हो । अर्थात् सहकारी डुब्ने प्रमुख कारणमा तिनै सुन्दरीजस्तो देखिने भावना लिगल रहेको खुल्न आएको छ ।

विहिबार समाचार फलोअपको लागि अपिटाइम्स मञ्जुश्रीको कार्यालयमा पुगेको थियो । त्यहाँ मात्र चार जना कर्मचारी थिए । कार्यालयका कोठाहरु अलपत्र थिए । कागजपत्रको हालत बेहाल छ । चारैतिर अस्तब्यस्त छ । त्यहाँ बस्ने कर्मचारी पीडाबोध गरेर जर्वजस्ती बसिरहेका थिए । तिनै कर्मचारीहरुसंग सहकारीको अवस्थाबारे बुझ्दा फरार शाखा प्रमुख लिगलबाटै ठुलो बदमासी र कर्तुत भएको खुलेको हो । भावनाले यतिसम्म हर्कत गरेको पाइयो कि उनले बचत कर्ताले जम्मा गरेर ल्याएको पैसा पनि साँझ स्कुटीको डिक्कीमा हालेर आफूले जम्मा गरेकी छन् भने रातदिन बचत जम्मा गर्ने कर्मचारीमाथि पनि टर्चर र बेलाबेलामा निर्घात कुटपिट हुने गरेको थियो । अति भएपछि अहिले कर्मचारीले त्यो सबै बदमासीको पोल खोलेका हुन् ।

पीडामा कर्मचारी

बाणगंगा ११ ओदारीकी रिता चौधरीले त्यहाँ काम गरेको २ बर्ष भयो । सहकारीको यस्तो हालत होला नेर उनले कहिल्यै कल्पना गरेकी थिइनन् । त्यहि विशवासमा परेर उनले दुख गरेर परिवारका बुबाआमाले जम्मा गरेको पैसा पनि बैङ्कमा नराखेर उनले त्यही सहकारीमा जम्मा गरेी छन् । उनको अहिलेसम्म डेढ लाख जम्मा भएको छ । उनले काम गरेको तलव पनि नपाएको ३ महिना पुगेको छ, रिताले अपिटाइम्ससंग भनिन् ‘यो सहकारी छोडेर जाऔँ डेल लाख बचत छ, तिन महिनाको तलब लिन बाकी छ । बसिरहूँ तलब पाइन्न । शाखा प्रमुख भावना भागेर कहाँ छिन् थाहा छैन । आज त्यहि भावनाको कारण सहकारी डुबेको छ । भावनाकै कारण सारा कुरा बिग्रेको छ । बजार गएर घामपानीमा पसिना बगाएर जम्मा गरेको पैसा आउँछ आउँदैन थाहा छैन ।
रिता चौधरीले तुरुन्त भावनालाई समातेर ल्याउन पनि आग्रह गरेकी छन् । उनले थपिन् ‘बचतकर्ता आएर पैसा फिर्ता चाहियो भन्नुहुन्छ । घरबार बेचेर भए पनि हाम्रो बचत फिर्ता चाहियो हामी अरु जान्दैनौँ भन्नुहुन्छ, हामीले अब के गर्ने ?’

भावनाबाटै कर्मचारीमाथि कुटपिट र टर्चर

यस्तै बाणगंगा ८ ढोँडेकोलकी राधिका घिमिरेमा पनि उस्तै तनाव छ । उनी पनि दिनदिनै सहकारीमा आउँछिन् । ढुकेर जान्छिन् । उनले जागिर खाएको २ महिना भएको छ तर उनले पनि स्यालरी पाएकी छैनन् । सहकारीमा काम गर्दा निकै दुख रहेको उनले सुनाईन् । ‘८ हजार दिन्छु भनेर जागिरमा लागेँ । यो चर्को घाममा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म फिल्डमा हिँड्यौँ । घर पुग्दा राति ९ पनि बज्ने गर्दछ । यसरी दुख गर्दा तलब भने पाइदैन, घिमिरे थप्छिन् ‘हामीले जम्मा गरेर ल्याएको पैसा त्यो भावनाले साँझ स्कुटीको डिक्कीमा हालेर जान्थिन् । यहाँ रेकर्ड राख्ने यताउति केहि हुँदैनथ्यो । आज सहकारीको यो हालत भएको उनैको कारण हो । प्रमुखजस्तो पदमा रहेकी भावनाले कर्मचारीमाथि तथानाम गाली गर्ने, कुटपिट गर्ने गर्ने गर्थिन् ।’ उनको बोली बचन र ब्यावहारले सबै कर्मचारी रुष्ट छन् ।’

वडा नम्बर ८ चप्परगाउँकी सन्ध्या खत्रीमाथि त भावनाले कुटपिट नै गरेको खुलेको छ । सहकारीमा डेढ बर्ष काम गरेकी उनले पनि विगत ४ महिनादेखि स्यालरी पाएकी छैनन् । अलिकति घरेको बचत रकम पनि खत्रीले सहकारीमा जम्मा गरेकी छन् ।
खत्रीले प्रमुखबाट पटकपटक कुटपिटको सिकार भएको बताइन् । सामान्य परिवारबाट जागिर खान आएकी उनले पिटाई खाएको अझै परिवारलाई ज्ञात छैन । उनले भावनाले दिएका सबै पीडा सहेर बसेकी छन् । खत्रीले आफ्नो एउटा हात देखाउँदै भनिन् ‘यहाँ नील डाम हुने गरी नै पिटाई खाएकी हुँ । धेरैपटक पिटाई खानु परेको थियो । मेरो भाग्य पनि कस्तो जागिर खान जाँदा पिटाई खाइयो ।’

उनले भावनामा कुनै दयामायाको भाव नरहेको पनि सुनाईन् । उनले थपिन् ‘दिनभर असिना पसिना भएर बचत जम्मा गरी ल्याउँछौँ, घर जानेबेला तथानाम गाली खानुपर्ने, पिटाई खानुपर्ने, काम गरेको पैसा नपाइने, यता बचतकर्ताबाट धम्की खानुपर्ने, हाम्रो पीडा कसले सुनिदिन्छ । जागिर छोडौँ बचत र स्यालरी लिन बाँकी छ, नछोडौँ आधा घण्टा लगाएर साइकल चलाएर आउनुपर्छ । बचत जम्मा हुन छाड्यो । बचतकर्ताको धम्की र गाली खाइरहनू परेको छ । अब मिडियाबाट न्याय पाउने आशामा हामीहरु बसेका छौँ ।’

कर्मचारीका अनुसार सर्वसाधारणको ५० लाखसम्म बचत सहकारीमा छ । बचतकर्ताले पनि सहकारी बदनाम हुनु र बन्द हुने स्थितिमा जानुको पछाडी शाखा प्रमुख भण्डारीकै प्रमुख भूमिका रहेको बताए । प्रहरीको रोहबरमा छोडेको हुनाले अहिलेसम्म चुप लागेको र अब एकदुईदिनसम्म पनि सहमति कार्यान्वयन नभए पुनः घेराउ गर्ने तयारीमा आफूहरु रहेको उनीहरु बताउँछन् । अधिकांस बचतकर्ताले अहिले तिनै भावनालाई खोज्दै हिडिरहेका छन् । भावनाको ब्यावहारबाट बचतकर्ता पनि आजित रहेका समाचार श्रोत छ । बोल्नमा माहिर मानिने भावनाका गफले आकाश छुने एक जना बचतकर्ताले बताए ।

फोन उठ्दैन, सामाजिक संजालबाट धम्की
यता भावनालाई फोन गर्दा लाग्दैन । भावनाले कर्मचारीलाई पनि सामाजिक संजालमा ब्लक गरेको बताइएको छ । सहकारी घेराउ हुने सुचनाले भावना फरार रहेपछि अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । फोन नउठाएकी उनले ह्वाटस्एपमार्फत् भने सहकारी डुबाउने आफू नभएको बताउँदै छोडेको बताइन् ।

जो चोर उसैको ठुलो स्वर भनेझै लिगललाई अझै पनि आफूले कबमजोरी गरेकोमा कुनै ग्लानी छैन । उल्टै उनले धम्कीको भाषा बोल्न छोडेकी छैनन् । तपाइले सहकारी डुबाउनु भयो, कर्मचारीमाथि कुटपिट गरेको आरोप रहेको छ भन्दा उनले नबुझी नबोल्नुस्, त्यहि अफिस छ गउर बुझ्नुस् भन्दै उनले धम्कीको भाषा प्रयोग गरेकी छन् ।

शाखा चलाउने जिम्मा पाएकै ब्यक्तिबाट धोका र बदनामी खेप्न विवस सहकारीका अध्यक्ष खेमराज भण्डारीलेकर्मचारीसंग कुरा गर्ने र बचत रकम फिर्ता गर्ने बचन दिएका छन् । भावनाको बारेमा भण्डारीसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् । कर्मचारीका अनुसार मञ्जुश्रीका अध्यक्ष भण्डारी पनि भावना लिगलसंगबाट हैरान छन् । भण्डारीको फोन पनि भावनाले उठाउन छोडेको सुनेको कर्मचारी बताउँछन् ।

पुराना कर्मचारी भन्छन् ‘पहिलेको म्यानेजर हुँदा राम्रो पनि थियो तर गत भावना जोडिएपछि सहकारी समस्यामा परेको छ । उनको ब्यावहारबाट हामीले पनि शंका गरेका थियौँ । तर हामी कर्मचारी भएपछि भनेको मान्नु पर्यो । केहि बोल्न मिलेन । यस्तो होला भनेर हामीले पनि सोचेका थिएनौँ । भण्डारीले फोन नउठाएपछि कर्मचारीको तलबको बारेमा थप कुराहरु निकाल्न सकिएन ।’ पटकपटक फोन लगाउँदा पनि भण्डारीले फोन उठाएनन् ।

इलाका प्रहरी कार्यालय पिपरासंग बुझ्दा सहमतिपछि सहकारीका संचालक सम्पर्कमा आएका छन् । प्रहरी नीक्षिक गोपाल रायमाझीले सहमतिपछि ६० हजार रुपैयाँ फिर्ता भएको र बाँकी पनि फिर्ताको तयारीमा रहेको कुरा अध्यक्षले आफूलाई बताएको बताए । सहकारीका अध्यक्ष सम्पर्कमै रहेको हुनाले चिन्ता नगर्न उनको बचतकर्तामा आग्रह छ ।

रायमाझीले पनि शाखा प्रमुख भावना लिगल फरार रहेका कारण समस्या जटिल बनेको बताउँछन् । उनको खोजी जारी रहेको रायमाचmीले बताए । कर्मचारीको पीडाबारे आफूलाई अहिले मात्र थाहा भएकाले उनीहरुको समस्याबारे पनि संवेदनशिल रहेको बताए ।

आगामी सोमबारसम्म थप एकडेढ लाख फिर्ता गर्ने र यसैगरी बचत रकम फिर्ता गर्दै जाने भण्डारीले बताएका छन् । सबै समस्या समाधान हुने भएकाले नआत्तिन आग्रह गर्दै भण्डारीले एकैपटक बचत फिर्ता नगरी सहज बातावरण प्रदान गर्न आग्रह गरेका छन् ।