मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटको पावरहाउस अस्ट्रेलियाले इंगल्यान्डलाई ३६ रनले हरायो

क्रिकेटको पावरहाउस अस्ट्रेलियाले इंगल्यान्डलाई ३६ रनले हरायो

अपि टाइम्स

काठमाडौं। अस्ट्रेलियाले आइसिसी ट्वान्टी(२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले इंगल्यान्डलाई ३६ रनले पराजित गरेको हो।

समूह बी मा रहेको अस्ट्रेलियाको यो दोस्रो जित हो। अस्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले चार अंक जोडेको छ।

आयरल्यान्डसँगको पहिलो खेल वर्षका कारण रद्द हुँदा इङ्ल्यान्डको एक अंक रहेको छ। अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।

इङ्ल्यान्डका कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। २८ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। फिल साल्ट ३७, मोइन अली २५, ह्यारी ब्रूक २०, लियाम लिभिगस्टन १५ र विल ज्याक १० रनमा आउट भए।

अस्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए। जोश हेजलवुड र मार्कस स्टोइनिसको नाममा समान एक विकेट रह्यो।

त्यसअघि केन्सिङ्टन ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले सर्वाधिक ३९ रन बनाए। १६ बल खेलेका उनले दुई चौका र चार छक्का प्रहार गरे। कप्तान मिचेल मार्श ३५, ट्राभिस हेड ३४, मार्कस स्टोइनिस ३०, ग्लेन म्याक्सवेल २८ र टिम डेभिड ११ रनमा आउट हुँदा म्याथ्यू वेड १७ रनमा अविजित रहे।

इङ्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक दुई विकेट लिए। मोइन अली, जोफ्रा आर्चर, आदिल रशिद र लियाम लिभिगस्टनको नाममा समान एक विकेट रह्यो।