मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई एक लाखसहित भरतपुरको सम्मान

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई एक लाखसहित भरतपुरको सम्मान

अपि टाइम्स

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गरेका हुन् ।

महानगर प्रमुख दाहालले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताइन् । उनले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछूतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने बताइन् ।

उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछूत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राखिन् ।

महानगरपालिकाले विगत चार वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । हालसम्म २३ जोडीलाई सम्मान गरिएको त्यसअवसरमा जानकारी दिइयो । तीमध्ये एकजना गैरदलितले दलितको छोरी विवाह गरेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् । रासस