मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक विद्यालयले अनुदानमा पाएको बस नीजि विद्यालयलाई भाडामा दिएपछि..

सामुदायिक विद्यालयले अनुदानमा पाएको बस नीजि विद्यालयलाई भाडामा दिएपछि..

अपि टाइम्स

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मझगावाँस्थित मर्चवार आदर्श माध्यमिक विद्यालयको बस निजी विद्यालयले सञ्चालन गरेको छ ।

लु १ क ५५८१ नम्बरको बस विद्यालय आफैंले सञ्चालन गर्न नसकेपछि गत साउन ७ गतेदेखि निजी विद्यालयलाई भाडामा दिएको खुलेको हो ।

२०८० साउन ७ गते बुद्ध उन्नोभेटिभ रिसर्च एण्ड टेक्निकल इन्स्टिच्युट प्रा।लि। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। २ सँग प्रत्येक ३ महिनामा बुझाउने गरी मासिक २५ हजारका दरले भाडामा दिने सम्झौता गरिएको विषय बाहिर आएको छ । सो बस विराट स्मार्ट नामको निजी विद्यालयले प्रयोग गरेको छ ।

प्रदेश सरकारको २५ लाख र विद्यालयबाट २ लाख ७८ हजारको साझेदारीमा २०७९ फागुन २३ गते सो बस खरिद गरिएको थियो । प्रदेश सांसद वसीउद्दीन खाँले सो बसको उद्घाटन गरेपछि केही समय विद्यालयमै थन्किएको थियो ।

सामुदायिक विद्यालयको गुणस्तर अभिवृृद्धि तथा विद्यार्थीहरूको सुविधाका लागि खरिद गरिएको सो बस निजी विद्यालयका विद्यार्थीहरूले प्रयोग गरिरहेको भन्दै स्थानीयको गुनासो छ ।

समाजसेवी गुरुवचन यादवले भने, “विद्यालयमा बस आएको खबरले हामीलाई निकै उत्साहित बनाएको थियो, तर हाम्रो विद्यालयले उक्त बस सञ्चालन गर्न नसकेर निजी विद्यालयलाई भाडामा दिंदा मन दुखेको छ ।” सो बसलाई मर्चवार आदर्शले नै संचालन गर्न स्थानीय तह समेतले पहल र सहयोग गर्न उनको सुझाव छ ।

उक्त बसलाई बनभोज, विवाह र पार्टीका लागि समेत भाडामा दिने गरिएको छ । २०८० फागुन २७ गते गणेश सामुदायिक प्राथमिक विद्यालयलाई बनभोजमा जानका लागि १२ हजार रूपैयाँमा भाडामा दिइएको थियो । केही महिनाअघि सोही विद्यालयको एक शिक्षकको छोरीको विवाहमा उक्त बस प्रयोग गरिएको थियो ।

विद्यालयमा विद्यार्थीहरूको चाप बढाउन तथा यातायातको सुविधा दिने उद्देश्यले माग गरिएको बसको दुरुपयोग भइरहेको सो विद्यालयको विद्यार्थीरूको आरोप छ । निजी स्वार्थमा, आवश्यकता र क्षमता अध्ययनबिना विद्यालयलाई बस खरिदका लागि प्रदेश सरकारले अनुदान रकम दिएको उनीहरूको आरोप छ ।

मर्चवार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीले स्थानीय सरकारले बस सञ्चालनमा कुनै चासो नदेखाएकोले बस भाडामा दिन बाध्य भएको बताए ।

“अहिले विद्यालय पूर्णरूपमा स्थानीय सरकारको अधीनमा रहेको छ । यो विद्यालयमा विद्यार्थीहरूबाट कुनै शुल्क लिइएको छैन ।’’ उनले भने, ‘‘चालकको तलब पनि दिने अवस्था छैन । गाउँपालिकामा सञ्चालन खर्च माग गर्दा कुनै वास्ता गरिएन । बसको इन्धन, मर्मत लगायतका खर्च कहाँबाट व्यहोर्ने रु” विद्यालयमा आन्तरिक स्रोतबाट केही शिक्षक तथा कर्मचारी भर्ना गरी विद्यालय सञ्चालन गरिएको छ तर त्यो पनि पर्याप्त नरहेको प्रधानाध्यापक त्रिपाठीले बताए ।

त्यस्तै, विद्यालयका १४ वटा व्यवसायिक सटरहरू सामान्य भाडामा दिइएको भए पनि सोको भाडा समेत समयमा उठ्न नसकेको भन्दै, २–३ वर्षसम्मको सटर भाडा बाँकी रहेको त्रिपाठीले बताए ।

कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरीले बस सञ्चालनका लागि गाउँपालिकाबाट खर्च व्यहोर्ने कुनै सहमति नभएको बताए ।

उनले भने, “विद्यालयले आफ्नो क्षमतामा सञ्चालन गर्न प्रदेश सरकारबाट बस माग गरेको थियो । खरीद गर्दा मात्र गाउँपालिकाबाट सिफारिस मागिएको थियो ।” बस सञ्चालनका लागि विद्यालयका आफ्नै थुप्रै स्रोत रहेको र तिनको सदुपयोग नभएको प्राविधिक सहायक चौधरीले बताए । “सामुदायिक विद्यालयका लागि खरिद गरिएको बस निजी विद्यालयलाई भाडामा दिन मिल्दैन’’ उनले भने ।

मर्चवार अदर्श माध्यमिक विद्यालयले गाउँपालिकाको निर्णय अवहेलना गरेको छ । कोटहीमाई गाउँपालिकाको निर्णय बिपरीत बिद्यालयले दिवा कक्षा सञ्चालन गर्दै अवहेलना गरेको हो ।

अत्यधिक गर्मीको समयमा दिवा कक्षा सञ्चालन हुँदा विद्यार्थीहरू बेहोस हुनेक्रम बढिरहेको भन्दै २०८१ बैशाख २१ गते कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले बैशाख २३ गतेदेखि बिहान ६ बजेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा मर्चवार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठी समेतको हस्ताक्षर छ ।

दिवा कक्षा सञ्चालन हुँदा विद्यार्थीहरूको उपस्थिति पनि न्यून रहेको पालिकाको भनाइ छ । गर्मीको समयमा विद्युतीय भोल्टेज न्यून हुने र पंखा समेत राम्रोसँग नचल्ने भएकोले बिहान १० देखि ४ बजेसम्म विद्यार्थी र शिक्षक समेतले निकै गर्मी सहनु परेको बताइएको छ ।

विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीका अनुसार, “विद्यालयमा पर्याप्त पंखा रहेकोले दिउँसो कक्षा सञ्चालन गर्न कठिनाइ छैन । विद्यालयको प्रांगणमा पर्याप्त रुखहरू छन् जसले गर्दा यहाँ उच्च गर्मी हुँदैन ।’’

बिहानी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थी दुवै ११ बजेसम्म भोकै बस्नुपर्ने भएकोले कक्षा दिउँसो सञ्चालन गरेको उनले बताए । उनले भने, “बिहानी कक्षामा अध्यापन समय घट्ने भएकाले पूर्ण समय अध्यापनका लागि दिउँसो कक्षा सञ्चालन गरिएको हो ।“ नेपालप्रेसबाट