मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७० मिनेट लामो दिग्दारिलो बाणगंगाको बजेट सभा, मेयर बोल्दा कुर्सी खाली !

२७० मिनेट लामो दिग्दारिलो बाणगंगाको बजेट सभा, मेयर बोल्दा कुर्सी खाली !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । सोमबार राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे बोलिरहँदा बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले एउटा कुनाबाट चिच्याएर भन्दै थिए ‘लामो भयो लामो भयो ।’ घिमिरेले करिब आधा घण्टा लामो भाषण गरेकी थिइन् ।

नेपाली काँग्रेसका बाणगंगा नगर सभापति विष्णु् थापाको भाषणमा त हलभरी रहेका ब्यक्तिले हाइ काढेर बसेका थिए । उनले ४० मिनेट जति बोलेका थिए ।

कार्यक्रम संचालक विष्णु गिरीले पनि भन्दै थिए, ‘पछाडीबाट कर्मचारी साथीहरुबाट हल्ला भयो, कृपया राष्ट्र सेवक कर्मचारीहरु हल्ला गरिदिनु भएन । कसैले पनि हल्ला गरिदिन भएन ।’

नेकपा एसका नगर अध्यक्ष दीपक पन्थी र कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको भाषणको पालामा पनि कम हल्ला थिएन ।

मंचको बीच भागमा त केहि ब्यक्ति नीँदले लट््ठ परेका देखिन्थे । कतिपय हाइहाइ काढेर बसिरहेका थिए ।
प्रमुख अतिथि भूमि ब्यवस्था तथा सहकारी मन्त्रीको भाषणको पालामा बलजफ्ती दर्शकको ओँठमुख टालिएको देखिन्थ्यो ।
नगर प्रमुख चक्रपाणी अर्यालको मन्तव्यको बेलामा त मंचमा अतिथिले टम्म भरिएका कुर्ची लगभग खालि थिए भने दर्शक दीर्घाका कुर्चि पनि खाली देखिन्थे ।

यी सबै दृश्यहरु अरु कहिँका नभएर बाणगंगा नगरपालिकाको आर्थिक बर्ष २०८१ । ८२ को बजेट सार्वजनिकीकरण कार्यक्रमका थिए । प्रचण्ड गर्मीले जिउभरी खलखली पसिना काढेर बसेका अतिथि तथा दर्शकको लागि त्यो कार्यक्रम यति पट्यारिलो भइरहेको थियो कि मंचमा संघीय मन्त्री, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सांसद, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागिता भए पनि दर्शकलाई कुनै मतलब नै थिएन, मतलब थियो त कार्यक्रम कति चाँडो सकिन्छ भन्ने कुराको ।

मंचमा बोलेका कसैको भाषण सुन्न त्यो भीँड तयार थिएन । कार्यक्रम संचालकले छोटो भाष्ण गर्न अनुरोध गरे पनि केहि वक्ताबाहेक कसैले पनि प्रचण्ड गर्मी, दर्शकको अनिच्छालाई बुझ्ने प्रयाससम्म गरेको देखिदैनथ्यो ।

दर्शकको यहि स्थिति बुझेर कार्यक्रम संचालक विष्णु गिरीले समयसमयमा ब्युँझाउँथे र झकझकाउँथे । रमाइलो कुरा गर्थे ।
कार्यक्रम यतिधेरै लामो भयो कि अरुबेला सायदै यति लामो कार्यक्रम हुन्छ । मायादेवी रिसोर्टमा दिउसो १ बजे सुरु भएको कार्यक्रम साँझ साढे ५ बजसम्म लम्बियो । अर्थात् २७० मिनेट लामो कार्यक्रम भयो । बजेट प्रस्तुत गरेका सभाका अध्यक्ष नगर प्रमुख चक्रपाणी अर्याल बोल्दा त मंच र दर्शक दीर्घाका कुर्ची खाली थिए । नगर प्रमुख अर्यालले प्राप्त सुझावमाथि पनि मज्जाले टिप्पणी राख्न पाएनन् भन्दै धन्यबाद ज्ञापन गर्न पनि हतार थियो । किनकि मान्छे आत्तिसकेका थिए भने हल र मंच पनि खाली भइसकेको थियो ।

त्यो बीचमा न चिया आयो न कफी न खाजा न नाचगानका कार्यक्रम । एकोहोरो भाषण सुन्नुपर्दा विज्ञ समुहले भरिएको सभाहल एक प्रकारले केटाकेटी सहभागि भएको जस्तो देखिन्थ्यो । संचाल गिरी अलिक जोशिलो र हँसिलो भएकाले कार्यक्रम थप पट्यार लाग्दो स्थितिबाट जोगिएको थियो ।

कार्यक्रम चाँडो सक्न बजेटका सबै बुँदा पनि पढिएको थिएन । जसका कारण कतिपयले बजेट सभालाई नगरले हल्का रुपमा लिएको भनी टिप्पणी पनि गरेका थिए । बजेट पढ्नै समय नभएको भनिएको कार्यक्रम धेरै लामो भएपछि सरोकारवालाले आलोचना गरेका थिए ।

कार्यक्रम संचालक तथा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले ६० भन्दा धेरै अतिथि भएकोमा थोरैलाई पनि समेटदा कार्यक्रम लामो भएको बताए । साथमा बजेट प्रस्तुति, बिभिन्न सम्मान कार्यक्रमले पनि कार्यक्रम लामो भएको उनले बताए । कार्यक्रममा १ दर्जन बढी ब्यक्तिको भाषण रहेको थियो ।

कार्यक्रममा सहभागि धेरैले अब परम्परागत शैलीमा कार्यक्रम गर्न नहुने सुझाउँछन् । एउटा कार्यक्रम सक्न ४ / ५ घण्टा लाग्दा विकास रोकिने, मानिसको सिर्जनशिल समय बर्बाद हुने भन्दै आगामी दिनमा सबैले औपचारिक कार्यक्रमको प्रकृति बदल्नुपर्ने सहभागिहरु बताउँछन् ।