मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा धेरै कर तिरेको भन्दै पौडेल सम्मानित, अरु कोको भए ?

बाणगंगामा धेरै कर तिरेको भन्दै पौडेल सम्मानित, अरु कोको भए ?

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले बिभिन्न क्षेत्रबाट नगरलाई योगदान दिएका ब्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा सबैभन्दा बढी कर तिर्नेदेखि खेलाडीसम्म रहेका छन् ।

१५ औँ नगरसभामार्फत् नगरले सबैभन्दा बढी कर तिर्ने नागरिकको रुपमा चार नम्बर निवासी हिमलाल पौडेललाई सम्मान गरेको छ । पौडेलले सर्वाधिक ८६ हजार रुपैयाँ कर तिरेको नगरपालिकाले जनाएको छ । बजेट सभाकि विशिष्ट अतिथि राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपाने, नगरप्रमुख चक्रपाणी अर्यालले पौडेललाई सम्मान प्रदान गरेका थिए । चार नम्बरको मेगा बैङ्क रहेको घरका मालिक पौडेल अन्य बिभिन्न ब्यवसायमा आवद्ध छन् ।

यस्तै उत्कृष्ट लोगो बनाउने प्रकाश घिमिरे पनि सम्मानित भएका छन् । उनले नगद ३० हजार, दोसल्ला र प्रमाण पत्र पाए ।
नगर भित्र रहेर सबैभन्दा धेरै रोजगारी सिर्जना गरेका सपना भाँडा पसलका संचालक वीर बहादुर बोहरा, सिद्धार्थ सामाजिक विकास संस्था पनि सम्मानित भए ।

बोहराले भाँडा पसल संचालन गरी १५० र सिद्धार्थले सामाजिक क्रियाकलापमा आवद्ध गराएर १ सय २५ बढी जनालाई रोजगारी दिएको हुनाले सम्मान गरिएको नगरले जनाएको छ । यसैगरी नगरले खेल क्षेत्रबाट नगरको परिचय राष्ट्रिय स्तरसम्म पुर्याउन वडा नम्बर ९ का धावक अजय पाण्डे, सांसद गिरीधारीलालका छोरा तथा नेपाली क्रिकेट टिमका फिजियो थेरापिष्ट वीक्रम न्यौपानेलाई पनि सम्मानित गरिएको थियो ।

यसै उत्कृष्ट पत्रकारिताबाट मायादेवी रेडियोका सहायक स्टेसन मयानेजर हरि आचार्य तथा बुद्ध आवाज रेडियो टिभीकी संवाददाता भगवती न्यौपाने पनि दोसल्ला र नगद १५ हजार पुरस्कारबाट सम्मानित भए ।

उत्कृष्ट कर्मचारीको रुपमा नगरको राजश्व फाँटका अधिकृत मदन घिमिरे, स्वास्थ्य फाँटकी दुर्गा पोख्रेल पुरस्कृत भए । यस्तै सहायक कर्मचारीको रुपमा वडा नम्बर ६ बाट सम्मानित भएका थिए भने बिभिन्न स्कुलमा आवद्ध रहेर योगदान गरेका शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको थियो ।

देश भित्र र बाहिर रहेर बिभिन्न पेशा र ब्यवसायमा जोडिएका नगरका नागरिकहरुलाई नगरले सम्मान गरेको भन्दै धेरैले नेतृत्वको प्रसंसा गरेका थिए ।