मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृक्षरोपणसंगै श्रृङ्गीघाटले दियो वन विज्ञानका विद्यार्थीलाई ३ लाख बढी छात्रवृत्ति

वृक्षरोपणसंगै श्रृङ्गीघाटले दियो वन विज्ञानका विद्यार्थीलाई ३ लाख बढी छात्रवृत्ति

अपि टाइम्स

बाणगङ्गा । वनले वन संवद्धनसंगै सामाजिक विकासमा खर्च गर्नु पर्ने अनिवार्य रकमलाई कार्यान्वयनमा ल्याएर चर्चा पाइरहेको बाणगङ्गास्थित श्रृङ्गिघाट सामुदायिक वनले अर्को चर्चा लायक काम गरेर प्रसंसा पाएको छ । नगरपालिकाभत्रका चार वटा वडा समेटेको वनले राष्ट्रिय वृक्षरोपण दिवस– २०८१ को अवसरमा वृक्षरोपणसंगै छात्रवृत्तिमा मोटो रकम हस्तान्तरण गरेर चर्चा पाएको हो ।

पर्यावरण संरक्षण शीर्षकमा नगरलाई सौन्दर्यीकरण गर्ने कार्यक्रम अन्तर्गत चारनम्बरस्थित तौलिहवा सडक खण्डमा बिभिन्न प्रजातिका १५० बढी फुल र विरुवाहरु रोपण गरेको वनले वन विज्ञान अध्ययनरत उपभोक्ताका छोराछोरीलाई ३ लाख बढी छात्रवृत्ति वितरण गरेको हो ।

सो छात्रवृत्ति रकम वडा नम्बर ४ का वडाअध्यक्ष छवि रेश्मी, वनका अध्यक्ष गणेश बहादुर सिंह ‘ठकुरी’ लगायतले हस्तान्तरण गरेका थिए । गरिब र जेहेन्दार विद्यार्थी छनौट गरेर ७ जना विद्यार्थीलाई रकम हस्तान्तरण गरिएको हो । विद्यार्थीको घरको आर्थिक अवस्था हेरेर एक जनाले ३५ हजारदेखि ७० हजार रुपैयाँसम्म पाएका छन् ।

वनका अध्यक्ष ठकुरीले वनका आगामी कार्यक्रम अझै राम्रा आउने भन्दै वनको रकम वास्तविक ठाउँमा लगानी गरेमा मात्र समाजको विकास हुने बताए । वनले गरेका पछिल्ला कार्यबाट सबैबाट प्रसंसा पाइरहेको भन्दै आफूहरुको हौसला बढेको बताए । वडा, नगरसंग निरन्तर सहकार्य गर्दै काम गर्ने उनले बताए । रोपिएका विरुवाको संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने भन्दै छात्रवृत्ति पाएका विद्यार्थीलाई रकमको सदुपयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख चक्रपाणी अर्यालले पनि प्रसंसा गरे । मेयर अर्यालले बाणगङ्गा भित्रका वनहरुले वन प्रवर्द्धनमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै श्रृङ्गीघाट अझै शशक्त ढंगबाट अघि बढेको बताए । वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मी ‘मगर’ले रोपिएका बिरुवालाई जोगाउन आवश्यक रहेकोमा जोड दिए ।

उनले नगरमा सौन्दर्यीकरणको अभियान आफूले सुरु गरेको बताउँदै उनले लगाईएका बिरुवाको रेखदेख गर्न जरुरी रहेको बताए । नगरलाई सुरक्षित र प्रविधियुक्त बनाउन बजेट विनियोजन भएको समेत उनले बताए । आफूले लगाएका विरुवाले एक बर्षभित्रमा सौन्दर्य थप्ने उनको भनाई छ ।

सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख बसन्त थापाले ब्यवस्थित रुपमा बिरुवा रोप्नुपर्ने बताए । कार्यक्रममा वनका पदाधिकारी, लायन्स, रोटरी लगायतका सङ्घसंस्थाले पनि सहभागिता जनाउँदै वृक्षरोपण गरेका थिए । यस क्षेत्रमा पहिलोपटक उपभोक्तको निशुल्क विमा गरिदिएर चर्चा पाएको वनले विकास निर्माणदेखि धेरै सामाजिक र मानवीय कार्यहरु गर्दै आइरहेको छ ।