मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले भने- ‘ओलीसँगको भेट सकारात्मक छ, सबै नखोलौँ’

देउवाले भने- ‘ओलीसँगको भेट सकारात्मक छ, सबै नखोलौँ’

अपि टाइम्स

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भएको भेट सकारात्मक भएको बताएका छन् । संक्षिप्तमा ब्रिफिङ गरेका उनले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगर्ने बताए ।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री ओलीसँग भएको भेटबारे सभापति देउवाले बैठकलाई जानकारी गराएको बताए।

‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ, सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य विश्वकर्माले भने।

शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म ओली निवासमा सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा के कुरा भयो भन्ने अहिलेसम्म विस्तृतमा सार्वजनिक भइसकेको छैन।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार अध्यक्ष ओलीले सभापति देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका हुन्।

उक्त भेटबारे सभापति देउवाले सोमबारको पदाधिकारी बैठकमा भने, ‘अहिले ओलीजीसँग सम्बन्ध सुमधुर र सकारात्मक छ।’

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बीआरआईलगायत विषयमा पनि कुराकानी भएको छ। अनुदान हो भने स्वीकार गर्न सकिने नेताहरूले बताएका थिए।

साथै नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको र थप गर्नेबारे पनि कुरा भएको छ। असार १५ गते नै नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको थियो।

६ महिनाभित्र अधिवेशन गर्ने गरी भ्रातृ संस्थाका म्याद आगामी केन्द्रीय समिति बैठकबाट थप गर्न नेताहरू सहमत देखिएको विश्वकर्माले जानकारी दिए।