मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाका मृगौला र क्यान्सर पीडितले पाएनन् भत्ता, नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र

बाणगंगाका मृगौला र क्यान्सर पीडितले पाएनन् भत्ता, नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । बाणगंगा नगरपालिका भित्रका दीर्घ रोगीहरुले आफूहरुले पाउनुपर्ने भत्ता नपाएको भन्दै आक्रोशित भएका छन् । नेपाल सरकारबाट उपलब्ध हुँदै आईरहेको औषधी खर्चबापतको मासिक ५ हजार भत्ता नगरपालिकाबाट नपाएपछि उनीहरु कार्यालयमै पुगेर नगर प्रमुख चक्रपाणी अर्याललाई ज्ञापन पत्र बुझाउन बाध्य भएका हुन् ।

यस बर्षको असार मसान्त लाग्न लाग्दासमेत विगत ८ महिनाको भत्ता नपाएपछि औषधी उपचारमा समस्या भएर समस्यामा परेको दुवै मृगौला पीडित बाबुराम कडेलले बताए । चालु बर्षको ४ महिनाको मात्र भत्ता आफूहरुले पाएको र बाँकी ८ महिनाको भत्ता नपाएको पीडितहरुको गुनासो छ ।

ज्ञापन पत्र बुझ्दै मेयर अर्यालले थामथुम पार्ने प्रयास गरेको कँडेलले बताए । मेयरले आफूहरुले रोकेको नभएर माथिबाटै रकम नआएको बताए । असार २४ गतेसम्म सकेसम्म २ महिनाको मात्र भत्ता दिने आश्वासन मेयर अर्यालले दिएका थिए ।
नगरपालिकाको रेकर्डमा यस्ता दीर्घरोगीको संख्या १ सय १५ जना रहेको छ । नगरले २४ गतेसम्म २ / २ महिनाको भत्ता उपलब्ध गराए पनि थप ६ महिनाको भत्ता पीडितहरुले पाउने छैनन् । यसरी १ जनाको मासिक ५ हजारको दरले हिसाब गर्दा ११५ जनाको करिब ३५ लाख रुपैयाँ नआउने भएको हो । यद्यपी नगरपालिकामा यस्ता पीडितको संख्या १ सय ३३ जना छ । रेकर्डमा अझै १८ जना छुटेका छन् ।

दुवै मृगौल पीडित हरि न्यौपानेले पटकपटक आग्रह गर्दा पनि आफूहरुलाई बेवास्ता गरिएको बताए । यसअघि पनि दबाब दिँदै मिडियामा गएपछि मात्र आफूहरुले २ महिनाको भत्ता पाएको भन्दै आफूहरुको भत्ता दिन नगरले किन आनाकानी गरिरहेको छ भन्दै प्रतिप्रश्न गरे ।

सरकारले पठाएको छैन, बिभिन्न शीर्षकमा रकम काटेर आएको छ, हाम्रो आन्तरिक श्रोत छैन भन्दै नगरले टार्ने गरेको न्यौपाने बताउँछन् । उनको माग छ, ‘यदि सरकारले भत्ता नपठाएर नआएको हो भने हामीले पनि कर तिरेका छौँ नगरमा, आन्तरिक श्रोतबाट हाम्रो लागि थोरैधेरै सम्बोधन हुनुपर्दथ्यो । तर नगरले हामीलाई पुरै वेवास्ता गरेको छ । अनावश्यक ठाउँमा मोटो रकम छुट्याउने तर समस्या परेका नागरिकलाई नहेर्ने कस्तो नेतृत्व हो ।’

विरामीहरुले सरकारले नपठाएको भन्दा पनि आएर पनि कतै मिलिभगत गरेको हो कि भन्ने शंका लाग्न थालेको अपिटाइम्सलाई बताए । उनीहरु भन्छन् ‘लुकाई लुकाई रेकर्ड देखाउनू, नगरप्रमुख, स्वास्थ्य र हाकिमका फरकफरक बोली आउनुले कतै रकम आएर पनि गायब पारिएको त होइन, अचेल शंका लागेको छ ।’

एक जना मृगौला पीडितले भने नगरले आए जतिको पैसा समयमै नदिएर फर्जि गरिरहेको छ । गत पौष महिनामा पनि पैसा आयो भनेर २ / ३ महिनापछि दिनू लगायतले शंका उत्पन्न हुने काम गरेको छ ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनीले आए अब २ दिनपछि २ महिनाको आउने र यो बीचमा नआए दीर्घरोग पीडितको भत्ता यो आर्थिक बर्षलाई नआउने प्रष्ट्याए । पीडितहरुलाई कोलनिका लगायत सबै रेकर्ड देखाएका छौँ । अर्थ मन्त्रालयसंग पनि कुरा गरेका हौँ । तर रकम पठाएन । अरु पालिकामा पनि यस्तो समस्या छ, उनले भने थोरै विरामी भएका पालिकामा यस्तो नहोला तर धेरै विरामी भएका पालिकामा हाम्रोजस्तै समस्या छ ।

नगरले यो समस्या बुझेर थोरैधेरै आन्तरिक श्रोत छुट्याएको भए अलिक सजिलो हुने थियो भनेर बताए । अहिले सामाजिक सुरक्षा भत्ता पनि रोकिएको बताउँदै मरासिनीले सरकारले दीर्घरोगी पीडितलाई सामाजिक सुरक्षा पाउने ब्यक्तिलाई भन्दा कम प्राथमिकतामा पारेको बताए ।

यो बर्ष यस्तै भए पनि अर्को आर्थिक बर्षको लागि भने सुरुदेखि पहल गर्ने उनले बताए । ज्ञापन पत्र बुझाउन कँडेल र न्यौपानेसंगै नारायण सापकोटा, सुरक्षा पौडेल, दिनेस भुसाल, टेकेन्द्र जिसी लगायत नगरपालिकामा पुगेका थिए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रसासकिय अधिकृत भक्तीराम मरासिनी, स्वास्थ्य शाखाका अधिकृत भक्ति पाण्डे लगायत सहभागि थिए ।