मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षात् सुरु भएको २१ दिनभित्र ६७ जनाको मृत्यु, ८३ घाइते

वर्षात् सुरु भएको २१ दिनभित्र ६७ जनाको मृत्यु, ८३ घाइते

अपि टाइम्स

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

आइतबार साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

शनिबार यताको भारी वर्षात्का कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा पहिरोका कारण ८ जना तथा बाढीले लुम्बिनीमा ३, वाग्मतीमा २, कोशी र उपत्यकामा १र१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार गण्डकीमा ६० घर डुबानमा परेका छन् भने डेढ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । ३ जना बेपत्ता छन् । बाढीले उदयपुरको बेलका–३ मा एक पुरुष, सुर्खेतको सिम्तामा एक बालिका र पहिरोमा परी स्याङ्जाको भीरकोटमा एक महिला बेपत्ता भएका छन् ।

त्यस्तै स्याङ्जाको बिरुवा–६ र तनहुँको शुक्लागण्डकी–७ मा पहिरोले पुरिएर ३र३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा नै परी पर्वतको फलेबास कार्कीनेटामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीले बगाएर दाङको लमही र राजपुरमा २ जनाको मृत्यु भएको छ भने पाल्पाको माथागढीमा र कोशीमा एकरएक जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशीमा बाढीमा परी दुई जनाले ज्यान गुमाएका छन् । त्यस्तै काठमाडौंको नागार्जुनमा एक जनाको मृत्यु भएको जनाइएको छ । बाढीपहिरोमा परी पछिल्लो दुई दिनमा मृत्यु हुनेमा ७ पुरुष, ६ महिला र २ बालबालिका रहेका छन् । पहिरोमा परी स्याङ्जामा ७ र तनहुँमा ५ जना घाइते भएको प्रहरी प्रवक्ता कार्कीले जनाए ।सिन्धुपाल्चोकको हेलम्बु, गुल्मीको रुरुक्षेत्र, चितवनको इच्छाकामना र ओखलढुंगामा ६ जना घाइते भएका छन् ।

बाढीमा परी काठमाडौंको दक्षिणकाली र बूढानीलकण्ठमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । वर्षायाम सुरु भएदेखि नै जेठ मसान्तयता देशभर बाढीपहिरो लगायत मनसुनजन्य घटनामा परी ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी तथ्यांकअनुसार यस अवधिमा बाढीपहिरोमा परी मृत्यु हुनेमा २८ पुरुष, २२ महिला र १७ बालबालिका रहेका छन् । त्यस्तै ८३ जना घाइते भएका छन् । घाइते हुनेमा ३९ पुरुष, २९ महिला र १५ जना बालबालिका रहेका छन् । ६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

हालसम्म बाढीका कारण १ सय २१ घर डुबानमा परेको, ८२ घर, ४६ गोठ, ४१ पुल, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी तथ्यांक छ । १ सय ८८ वटा पशु चौपायाको मृत्यु भएको छ । तीन साताको अवधिमा विपद्‍का घटनाबाट १ हजार ५८ घरपरिवारभन्दा बढी विस्थापित भएका छन् ।

विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने र विभिन्न ठाउँमा भएका बाटो अवरोध हटाउने काम भइरहेको प्रवक्ता कार्कीले बताए ।

बाढीपहिरोका कारण देशभरका सडक र राजमार्गहरू पनि अवरुद्ध भएका छन् । प्रहरीको तथ्यांकअनुसार केही सडक पूर्ण रूपमा र केही आंशिक रूपमा अवरुद्ध भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले सोमबारसम्मै अधिकांश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान गरेको छ । विभागको मौसम पूर्वअनुमान बुलेटिनमा सोमबार कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबानको समेत जोखिम हुन सक्ने भएकाले विभागले सतर्कता अपनाउन अपिल गरेको छ । कान्तिपुरबाट