मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेतनपथको ‘फाँसी’

चेतनपथको ‘फाँसी’

अपि टाइम्स

कविता
फतक्कै गलेको छ मेरो दृश्यको संसार,
डरको मन्द विषले विस्तारै विस्तारै मर्दैछु
त्यसैले
म एक कायर हुँ,
जो बाच्न नजानेर मर्दैछ।
म प्रेमका खातिर भुतुक्कै भएको छु।
प्रत्येक प्रहरमा,
ताता स्पर्शलाई प्यालामा पिउछु,
यादलाई कालो ओठ भित्र च्यापेर राख्छु,
फोक्सो भित्रको घातलाई धुँवाले डढाइदिन्छु।
त्यसो त
म पटक पटक मरेको छु।
देशको चिन्ताले मरेको छु
सत्ताको दाँउपेचले मरेको छु
गोमन जस्तै मान्छेका स्वार्थले मरेको छु।
देश चलाउनेहरूका,
बहुरुपले सताएको छ,
चपाउने र देखाउने दाँतले सताएको छ,
नदेखिने लगाम र नभरिने भुँडीले सताएको छ,
अझै, यिनका बोली र दैनिकीले सताएको छ।
कति पटक,
मैले आफूले आफैंलाई मारेँ।
प्रेमको ढिकीले टाउको थिचेर मारेँ
धर्मको सिलौटामा गिदी पिसेर मारेँ
समाजको ओखलमा हातखुट्टा कुटेर मारेँ
आवश्यकताहरूको गाडीले लखेटेर मारेँ।
मलाई
केहीले भित्रभित्रै पत्तै नदिई मारेका छन्।
म भित्रको ूमूले,
म भित्रको आत्मसम्मानले,
म भित्रको अहङ्कारले,
म यिनै रोगको घर भएको छु।
प्रायः
अरुको खुसीमा रोएर मर्छु,
कहिले अरुको उन्नतिको पीरले मर्छु,
कोहि सिढी चड्दै गर्दा पिल्सिएर मर्छु।
थोरै बाचेँ भने,
कसैको रुवाइमा मुस्कुराएर बाच्छुँ।
सबैभन्दा धेरै त,
मलाई रहरको घनले हानेर मारेको छ।
कतै
आँखाको पट्टी खोलेको कानुन छ भने
तयार गर १ फाँसीको फन्दा।
किनकि अब,
दापबाट निकाल्छु खुकुरी
मज्जाले साँध लगाउछु र
रहरलाई एकै मारमा चट्ट छिनाल्छु ।
ताकि
अन्तिम पटक फगत मान्छे भएर मरौं।

कवि चेतनपथ माधव कवितासंगै मुक्तक लगायतका विधामा कलम चलाउने गर्नुहुन्छ