मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदालतभन्दा माथि गएकै हो बाणगंगाको नेतृत्व ?, यस्तो थियो चर्काचर्कीको विषय !

अदालतभन्दा माथि गएकै हो बाणगंगाको नेतृत्व ?, यस्तो थियो चर्काचर्कीको विषय !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । सायद पहिलोपटक थियो कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालसंग काँग्रेसका नेता र कार्यकर्ता यसरी आक्रोशित भएको । नगरप्रमुखको कार्यकक्षमा भएको चर्काचर्की यो हदसम्म पुग्न लागेको थियो कि झण्डै हातहालाहालको स्थितिसम्म भएन । पछि स्थिति थामथुम भयो । हात हालाहालमा पुगेन । एउटा मौखिक सहमतिपछि करिब डेढ घण्टाको आक्रोशित वातावरण शान्त भयो । अलिकति गल्ती नभएको भए यसरी शान्त भएर बस्ने स्वभावका होइनन् मेयर अर्याल । यदि उनी पनि काँग्रेस नेताहरुजस्तै चर्किएको भए विहिबार मेयरको कार्यकक्षमा सानोतिनो दुर्घटना नहुन्थ्यो भन्न सकिन्न ।

बाणगंगा नगर सभापति विष्णु थापाको नेतृत्वमा विहिबार दुई दर्जन जति नेपाली काँग्रेसका नेताकार्यकर्ता नगर पालिकाको कार्यालयमा पुगे । त्यहाँ पुगेको केहिछिनपछि नगर प्रमुख चक्रपाणी अर्यालको कार्यकक्षमा टोली पुग्यो । त्यहाँ पुग्दा नगर प्रमुख अर्यालसंगै प्रमुख प्रशासकीय अधिकृत भक्तरिाम मरासिनी, नगर प्रवक्ता विष्णु पौडेल, वडा अध्यक्षहरु विष्णु गिरी, छविलाल रेश्मी लगायत थिए भने पछि नगर उपप्रमुख रिता थारुको पनि इन्ट्रि भयो ।

काँग्रेसका जिल्ला सचिव शक्तिसिंह ठकुरी लगायतका नेताकार्यकर्ता सहभागी रहेको उक्त छलफलमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायतका पत्रकार पनि थिए । तिनै ब्यक्तिहरु सहभागि रहेको छलफलमा हुनसम्म चर्काचर्की भएको थियो । त्यसपछाडी थुप्रै कारण छन् ।

काँग्रेसका ३ बुँदे मागहरु रहेको भए तापनि चर्काचर्की हुनुको मुख्य विषय थियो उदयपुर जनसेवा आधारभुत विद्यालय मोर्मीमा प्रधानाध्यापक नियुक्तिको विषय । सो विद्यालयमा विगत ६ महिनादेखि प्रधानाध्यापक नियुक्तिको विषय विवादित छ । विद्यालयका प्रधानाध्यापक ज्ञानराज पाण्डे पौष १४ गते अनिवार्य अवकाशमा परेपछि उनै प्रअले अस्थायी शिक्षक राजेन्द्र खनाललाई निमित्त प्रअमा नियुक्त गरेका थिए । त्यसपछि वडा अध्यक्ष बाबुराम अर्यालले विद्यालय ब्यवस्थापन समितिको वैठकको निर्णय भन्दै भोजप्रसाद थारुलाई विद्यालयमा प्रअकै रुपमा काज गर्न आग्रह गरेपछि दुईजना प्रअ भएका थिए ।

एक समय एउटै स्कुलमा २ जना (राजेन्द्र खनाल र भोजप्रसाद थारु ) प्रधानाध्यापक रहेपछि यो विषयले निकै चर्चा पाएको थियो । त्यसपछि सो विवाद अदालतसम्म पुग्यो । र अदालतले राजेन्द्र खनाल र भोजप्रसाद थारु दुवैलाई अयोग्य सावित गरेको अहिलेको स्थिति छ ।

तर अदालतले यस्तो ठहर गरेको अवस्थामा भने नगरको नेतृत्वले बलमिच्याई गर्यो । अदालतको निर्णय पनि नमान्दै नगर शिक्षा समितिको ८१ बैशाख १८ गतेको वैठकको निर्णय भन्दै अदालतले अयोग्य ठहर गरेको भोजराज थारुलाई पुनः निमित्त प्रअको पत्र थमाएर विद्यालयमा कायम रहेका प्रधानाध्यापक खनालसंग बरबुजारत माग्यो ।

तर राजेन्द्र खनालले थारु र आफू दुवैलाई अदालतले अयोग्य ठानेपछि थारुलाई बरबुजारत दिन जरुरी ठानेनन् र मानेनन् । स्कुलको तालाचावी, माइन्यूट, हाजिरी अहिले खनालसंग छ । त्यसपछि नगरले खनालमाथि थारुलाई बरबुजारत गर्न दबाब सिर्जना गरेको छ भने थारुलाई निमित्त भएर मज्जाले काम गर्न आदेश दिएको छ ।

अदाललते अयोग्य ठाने तापनि नगरले स्कुलको प्रशासन चलाउन आदेश दिएपछि थारु स्कुलमा काजमा छन् । स्कुलका शिक्षकलाई तलब खुवाउने काम पनि थारुबाटै भएको स्थिति छ । तर थारुले त्यहि विवादका कारण प्रतिशोध साँधेर राजेन्द्र खनालको तलब रोकेका छन् । नगरले विद्यालयको खातामा पैसा पठाए पनि थारुले आफ्नो तलब रोकेको खनालले बताउँदै आएका छन् । यहि विषय सतहमा आएको हो ।

यो विषयलाई लिएर नगर प्रमुखलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरेपछि बाध्य भएर कार्यकक्षमा आएर हकार्नु परेको नगर सभापति विष्णु थापाले छलफलमै जानकारी गराए । यहि विषयसंगै नगरमा शिक्षाको गुणस्तर सुधार गर्नको लागि भन्दै अरु २ बुँदा पनि समेटेर काँग्रेश नगरको ध्यानाकर्षणमा पुगेको हो ।

तर त्यो ध्यानाकर्षण गराउने विषयको कुरा गर्दागर्दै चर्काचर्की हुन थाल्यो । नगर प्रमुखले उदयपुर माविको निमित्त प्रअ रहेका थारुको पक्षमा कुरा गरिरहे । यता काँग्रेसका नेताहरु अदालतले अयोग्य ठानेको ब्यक्तिलाई नगरलाई निमित्त प्रअको पत्र थमाउन मिल्छ ? उसलाई तलब खुवाउने अधिकार कसले दियो ? के अदालतभन्दा माथि छ बाणगंगा नगरपालिका ? अथवा कार्यपालिकामा एमालेको बुहमत छ भनेर नगरप्रमुखले जे पनि गरेको भन्दै नगरप्रमुखमाथि खनिए ।

उदयपुर जनसेवामाविमा रहेका भोजप्रसाद थारु र राजेन्द्र खनाल दुवैलाई अदालतले अमान्य घोषणा गरेकाले अब नयाँ प्रअ नियुक्ति गर्न आग्रह गर्दै फेरि पनि थारुको पक्षमा नगर रहने हो भने अझै कडा कदम चालिने जिल्ला सचिव शक्ति सिंह ठकुरी, दोलख बहादुर घिमिरेले लगायतले नगरप्रमुखलाई चेतावनी दिएका थिए ।

जतिजति छलफल हुँदै थियो त्यतित्यति स्थिति असामान्य बन्दै थियो । आफूहरुको गल्ती रहेको महसुस गरेपछि नगर प्रमुख सुस्तसुस्त कुरा गरिहेका थिए भने भने काँग्रेस नेताहरु झन् उफ्रिरहेका थिए ।

यत्तिकैमा बाणगंगा माविको विषय पनि जोडियो । बाणगंगाको विद्यालय ब्यवस्थापन समितिका सदस्यसमेत रहेका हरि प्रसाद पौडेलले स्कुलको विषय जोड्दै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको अभिब्यक्तिको विषय उठाए ।
एक अनौपचारिक छलफलमा बाणगंगा माविको विद्यालय ब्यवस्थापनको विषय सल्टाउनु पर्यो हाकिम साप् भन्दा उनले बाणगंगा मावि नभए केहि हुँदैन, बाणगंगा मावि बन्द भए पनि फरक पर्दैन भन्ने खालको अभिब्यिक्ति दिएको प्रसंग सुनाए त्यसपछि स्थिति झन् खराब बनेको थियो ।

काँग्रेसका तर्फबाट छलफलमा सहभागि भएका दुर्गा बहादुर सेन, रविराज आचार्य, शक्तिसिंह ठकुरी लगायतले हाकिम साबले बोलेको यहि हो त ? यदि हो भने तपाईलाई यो बोल्ने छुट छैन, हाकिम भएर यस्तो गैरजिम्मेवार कुरा गर्न सुहाउँदैन भन्दै हप्काए । रविराज आचार्यले आफूहरुको करले पोसिएको ब्यक्ति हाकिम भएँ भन्दैमा जथाभावि गर्न छुट नहुने भन्दै सिधा राजनीतिमा आएर मुकाबिला गर्न चेतावनी दिए । यहि विषयमा स्थिति असामान्य बनिरहेको थियो पछि आफ्नो बोली सुधार्ने हाकिमको कुरापछि विषय थामथुम भएको थियो । उदयपुर माविको विषयमा काँग्रेसका नेताले र्याखर्याख पारेपछि मेयर अर्याल केहि गलेका थिए ।

नगरपालिकाको नेतृत्वले स्कुलदेखि हरेक क्षेत्रमा बढी राजनीति गर्न थालेपछि एमालेबाहेकका सबै दल खुसी नभएको रविराज आचार्यले बताए । यस्तै प्रवृत्ति रहिरहे सबै दलहरु एकजुट भएर नगरविरुद्ध लाग्नु पर्ने स्थिति आउने उनको चेतावनी छ । हाकिमसंग आचार्य, दुर्गा सेन र टेक बहादुर शाहीकोको राम्रै नोकझोँक चलेको थियो ।

त्यहि बीचमा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले सरकारी कर्मचारी, शिक्षक, प्रअ, जनप्रतिनिधि लगायतका ब्यक्तिका छोराछोरीले अनिवार्य रुपमा सरकारी स्कुलमा पढ्नुपर्ने गरी नगरपालिकाले निर्णय लिनुपर्ने कुरामा ध्यानाकर्षण गराएका थिए ।

यता पत्रकार चन्द्रकान्त न्यौपानेले छलफलको भिडिओ खिचिरहेको बेला नगर प्रमुखले नखिच्न आग्रह गरेका थिए । त्यसपछि पत्रकार खगप्रसाद चापागाई र स्वयम् न्यौपानेले मिडियासंग खेलाची नगर्न आग्रह गरेपछि मेयर अर्याल पछि हटेका थिए ।
सार्वजनिक लगायत सबै बैठक खिच्न पाउनु पत्रकारको अधिकार रहेको भन्दै कसैको अनुमति जरुरी रहेको भन्दै अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खालको गतिविधि नगर्न न्यौपाने र चापागाईले चेतावनी दिएका थिए । महासंघ अध्यक्ष किरणमान बज्राचार्यले पनि मेयरले गल्ती बोलेको बताए ।

यस्तै धेरै विषय जोडिएर विषय जोडिएर विषय गिजोलिन थालेपछि मेयर अर्यालले आफ्नो ब्यस्तता देखाउँदै छलफल सक्न आग्रह गरेका थिए । त्यसपछि मेयर अर्यालले साउन महिनाभित्रमा उदयपुर जनसेवाको प्रअ नियुक्ति समस्या समाधान गर्ने, भोजप्रसाद थारुलाई पनि प्रअको जिम्मेवारीबाट हटाउने मौखिक आश्वासन दिएका थिए ।

नगरमा रहेका सरकारी स्कुललाई अझै गुणस्तरीय बनाउन र सरकारी विद्यालयमा पढाउनुपर्ने विषयलाई अझै जोडसंग मुखरित गर्ने आश्वासन नगर प्रमुख अर्यालले नेताहरुलाई दिए । काँग्रेस बाणगंगा नगरले दिएको ध्यानाकर्षण पत्रबारे आफू गम्भीर रहेको भन्दै नगरप्रमुखले वैठक सक्नुपर्ने बताए । यता प्रमुख प्रशासकीय अधिकृत मरासिनीले पनि आफ्नो बोली सुधार्ने बताए । अहिलेसम्म नगरपालकाको नेतृत्वसंग काँग्रेस यसरी आक्रामक र आक्रोशित भएको उदाहरण नरहेको भन्दै यसलाई खेलाँची नठानी स्वभाविक मान्न आग्रह गर्दै वैठक सकिएको थियो ।

मेयरको बोलीमा साथ दिने काम नगरप्रवक्ता विष्णु् पौडेल, विष्णु गिरी र नगर उपप्रमुखले गरेका थिए भने वडा नम्बर ४ का वडाअध्यक्ष छविलाल छलफल अवधिभर मौन रहेका थिए ।

यस्तो थियो लफडा, अपिटाइम्सले उजागर गरेको पहिलेको समाचार