मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल राजमार्ग निर्माणका लागि किन भयो नयाँ टेण्डर आह्वान ?

बुटवल राजमार्ग निर्माणका लागि किन भयो नयाँ टेण्डर आह्वान ?

अपि टाइम्स

बुटवल । ठेकेदार कम्पनीले आठ वर्षसम्म अलपत्र पारेपछि ठेक्का रद्ध गरिएको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणको लागि नयाँ टेण्डर आह्वान गरिएको छ।

६ लेन सडक अन्तर्गत बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ३।२५ किलोमिटर सडक निर्माणको लागि २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको थियो।

तीन वर्षमा सम्पन्न गर्ने गरी द कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा सात वर्षमा जम्मा ५४ प्रतिशत मात्र काम गरेको थियो।

पछिल्लो एक वर्ष सडक निर्माणको कुनै पनि काम अगाडि नबढाए पछि डिभिजन सडक कार्यालय बुटवलले गत वैशाख १३ गते ठेक्का रद्द रद्ध गरेको थियो। डिभिजन सडक कार्यालयले सोही सडकको नयाँ टेण्डर आह्वान गरेको हो। सोही निर्माण कम्पनीसँग ठेक्का रद्ध गरिएको बेलहियादेखि बाइपास सम्मको ७ सय ५० मिटर सडकको पनि नयाँ टेण्डर आह्वान गरिएको छ।

उक्त कम्पनीले २०७३ सालमा बेलहियादेखि बाइपास सम्मको सडकका लागि १७ करोड र राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडकको लागि ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

बुटवलको सडकको लागि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाई गरेपछि सडकको लागत थप हुँदै ५३ करोड ९७ लाख रुपैयाँ पुगेको थियो। यो अवधिमा दुईवटा सडकको लागि करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको छ।

अहिले पुन ५८ करोडमा नयाँ टेण्डर आह्वान गरिएको छ। डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्सालले बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको लागि ४८ करोड र बेलहियातर्फको लागि १० करोड गरी ५८ करोडमा टेण्डर आह्वान गरिएको जानकारी दिए।

अहिले गरिएको टेण्डर आह्वान अनुसार दुबै तर्फको सडकको निर्माण कार्य ६ महिनाभित्र सक्नुपर्ने छ।

२०६९ सालमा ४ लेनमा निर्माण भएकोमा बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बनाउने योजना अनुसार बुटवल खण्डलाई पनि ६ लेनमा विस्तार गर्ने योजना अगाडि बढाइएको थियो। तर, मुख्य बजार क्षेत्रमा आठ वर्ष सम्म सडक अलपत्र रहँदा यहाँका व्यवसायीहरू विस्थापित भएका छन् भने आयोजनाको लागत पनि बढेको छ।

बुटवलतर्फको थप भएको रकम समेत गरी दुईवटा ठेक्काको लागत ७१ करोड पुगेको थियो। तर लागत भने अहिले टेण्डर आह्वान गरिएको ५८ करोड र निर्माण कम्पनीले यसअघि भुक्तानी लगेको ३५ करोड जोड्दा ९३ करोड पुग्ने भएको छ।

इञ्जिनियर लम्सालले अघिल्लो ठेक्का अनुसार बुटवल तर्फको सडकमा करिब ३० करोडको काम बाँकी रहेकोमा अहिले टेण्डर आह्वान गर्दा ४८ करोड पुगेको बताए।

‘निर्माण कम्पनीले समयमै काम गरेको भए सोही रकममै काम सम्पन्न हुन सक्थ्यो, आठ वर्षसम्म ढिलाइ हुँदा पहिले ३० करोडमा गर्न सकिने सडकको लागत अहिले ४८ करोड पुगेको छ,’ लम्सालले भने।

निर्माण कम्पनीले ५४ प्रतिशत काम पुरा गरेको भनिएपनि मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने काम मात्रै भएको छ। अन्तर्राष्ट्रिय स्तरको अस्फाल्ट पिच गर्ने योजना रहेको यो सडकको मुख्य पिचको काम सबै बाँकी छ। फुटपाथ, सर्भिस लेन, ग्रिनबेल्ट सबै निर्माणको काम बाँकी छन्।

२०७३ चैत १७ गतेको सम्झौता अनुसार यो सडक २०७६ असोज १२ गतेसम्म निर्माण सम्पन्न गरीसक्नुपर्ने थियो। आठ वर्षको अवधिमा ६ पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माण कम्पनीको लापरवाहीका कारण अन्ततः पुरानो ठेक्का तोडेर नयाँ टेण्डर आह्वान गरिएको इञ्जिनियर लम्सालले बताए।

ठेक्का तोडेर कञ्चनजंघा बिरुवा जेभी काठमाडौंलाई कालोसूचीमा राखेको डिभिजन सडक कार्यालयले बैंक ज्ञारेण्टी बापतको १२ करोड बढी रकम तानिसकेको छ। निर्माण कम्पनीले दुई तर्फको सडकको ३२ करोड रकम जरिवाना तिर्न बाँकी छ।