कपिलवस्तु । नौ वर्षअघि शिवराज–५ चन्द्रौटाका ३४ वर्षीय दीपक पौडेलको २९ वर्षीया पूजासँग विवाह भयो । शिवराज नगरपालिकामा कम्प्युटर इन्जिनियर पदमा कार्यरत दीपकको २०७८ मा ‘ब्रेन ट्युमर’बाट मृत्यु भएको थियो ।
एकल बनेकी पूजा ससुरा घनश्याम पौडेल र सासू जालपासँग बसेर ८ वर्षकी छोरी हुर्काइरहेकी थिइन् । बुहारी बनाएर भित्र्याएकी पूजालाई पौडेल परिवारले छोरी नै मानेर अहिले अन्माइदिएका छन् ।
जेठा छोरा दीपकको मृत्युपछि पौडेल दम्पतीले दुई साताअघि बुहारी पूजाको विवाह गरिदिएका छन् । उनको विवाहसँगै श्रीमान्को मृत्युपछि आजीवन एकल बस्ने परम्परासमेत तोडिदिएका छन्, बुहारीको विवाह गरेर । पूजाको बिहे ससुरा घनश्यामले घरबाटै गरिदिएका हुन् ।
संयोग पनि कस्तो, पूजाको बिहे भएका दोस्रो श्रीमान्को नाम पनि दीपक पौडेल नै हो । रूपन्देहीको सैनामैना नगरपालिका रानीबगिया घर भएका ३५ वर्षीय दीपकको पनि १० वर्षकी छोरी छन् । श्रीमतीसँग सम्बन्धविच्छेद गरेका दीपक वैदेशिक रोजगारीमा माल्टाबाट फर्किएका हुन् । उनी घर आएका बेला रूपन्देहीको सालझन्डीस्थित पूजाका मावली हजुरबुबाले कुरा ल्याएर विवाह गराइदिएको घनश्यामले बताए ।
‘बिहेको कुरा ल्याउनुभयो, बुझ्दा राम्रै लाग्यो । कुरा चलाएर दुवैको विवाह गरिदियौं,’ पूजाका ससुरा घनश्यामले भने, ‘समाजलाई थोरै शिक्षा पनि होस् भनेर बेहुलालाई घर बोलाएर विवाह गराइदिएका हौं ।’ केटा पक्षका बुबा र ४र५ जना जन्ती आए । ‘हामीले टीकाटालो गरेर पठायौं,’ घनश्यामले भने । बिहेपछि पूजाले पहिले विवाह गरेर भित्र्याएको परिवारले नमुना काम गरेकोमा आफूलाई गर्व लागेको बताइन् । ‘पहिले म बुहारी भएर आए, अहिले छोरी भएर अन्मिन पाउँदा खुसी छु । आफ्नो जिम्मेवारी पूरा गर्न पाउँदा यो परिवारको मनैदेखि ऋणी र उत्तिकै खुसी छु,’ उनले भनिन् ।
नयाँ साथी भेट्टाएका पूजा र दीपकका दुवै छोरी पनि आपसमा मिलेर बसिरहेका छन् । पूजा पनि अब एकपटक माल्टा गएर आउन राहदानी बनाएर तयारी अवस्थामा बसेकी छन् । ‘पूजा अब छिट्टै माल्टा जाँदै छिन्,’ बुबा घनश्यामले भने, ‘हामी अहिले पनि उनलाई पूरै सहयोग गरेका छौं । नातिनीहरूको पनि उस्तै मित्रता पनि गजबको बनेको छ ।’
यसअघि चन्द्रौटाकै एक गुप्ता परिवारले पनि बुहारीलाई छोरी बनाएर विवाह गराइदिएका थिए । गुप्ता परिवारले त्यो विवाहलाई बाहिर ल्याएका थिएनन् । पूजा र दीपकको बिहेको अहिले चर्चा भइरहेको छ । नेपाली समाजमा बुहारीलाई छोरी मानेर अन्माउने काममा शिवराज नगरपालिका उदाहरणीय रहेको नगर प्रमुख अजय थापाले बताए । ‘हाम्रो नगरपालिकाले मुलुकलाई नै राम्रो सन्देश दिएको छ,’ उनले भने, ‘यसले नयाँ जग बसाएको छ ।’कान्तिपुर
प्रतिक्रिया