मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाका होटेलमा मौलाउन थाल्यो यौनधन्दा, हेर्ने कल्ले ?

बाणगंगाका होटेलमा मौलाउन थाल्यो यौनधन्दा, हेर्ने कल्ले ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाका होटेलहरुमा देह ब्यापार मौलाउन थालेको छ । जोडीहरुलाई सहज रुपमा इन्ट्री दिन मात्र होइन युवती नै तैनाथ गरेर ग्राहकसंग मोलमोलाई गर्नेसम्मका क्रियाकलाप हुन थालेको छ भनेर चोकचोकमा कुरा हुन थालेको छ ।

यसको पछिल्लो पुष्टि श्रावण ५ गतेको नाबालिगमाथिको सामुहकि बलात्कार हो । चार नम्बरको बसपार्क स्थित एक होटलमा ५ गते रातभर ३ जना युवकले १ जना नाबालिग (१५ बर्ष) माथि बलात्कार गरेको प्रहरीले पुष्टि गरेपछि यस क्षेत्रमा यौन धन्दा छ भन्ने कुरामा कुनै शंका छैन ।

यो घटना घट्नुमा होटल संचालकले कुनै संवेदनशिलताको ख्याल नगरेको प्रष्ट बुझ्न सकिन्छ । होटलको एक कोठामा १ नाबालिग र ३ जना पुरुषलाई बस्न दिनुले नै होटल संचालकको असंवेदनशिलता र गम्भीर लापरबाही पुष्टि हुन्छ ।

कानुनले निश्चित प्रकृया पुरा नगरी होटलमा यस्ता क्रियाकलाप बर्जित गरेको छ । तर जनगुनसो भए पनि यहाँको प्रहरी, स्थानीय सरकार, उद्योग बाणिज्य तथा होटल संघको अनुगमन, छड्के जाँच नहुँदा केहि होटल संचालकले सजिलै देह ब्यापार चलाउन उद्धत भइरहेका छन् ।

जनगुनासो आए पनि प्रहरी, स्थानीय सरकार र अरु सरोकारवाला निकायले बेलाबेलामा खबरदारी, छड्के जाँच नगरिदिँदा कतै उनीहरुकै सेटिमा होटल संचालकहरु यस्ता विकृति फैलाउन उद्धत रहेका त होइनन् भन्ने आसंका गर्न सकिन्छ ।
पिपरादेखि चारनम्बर, चार नम्बरदेखि ठाकुरापुर, गजेहडा, ओदारी, चार नम्बरदेखि बोडगाउँ र वनगाईसम्मका राजमार्ग केन्द्रित तथा भित्री होटलमा यस्तो यौन धन्दा चलिरहेको सर्वत्र गुनासो छ ।

यहाँका गेष्ट हाउस नाम दिएर या खानबस्नको राम्रो ब्यवस्था भनेर होर्डिग बोर्ड झुण्डाउने होटलहरुमा छड्के जाँच गर्ने हो भने यस धन्दाका दर्जनौँ प्रमाण भेटिने स्थानीयहरु बताउँछन् । तर यहाँ जनगुनासोको आधारमा छड्के जाँच गर्ने न प्रहरी छ न स्थानीय सरकार या संघहरु । त्यसपछि यहाँका होटल संचालकहरु छाडा भएका हुन् ।

स्थानीय सरकार र प्रहरीजस्तै होटलहरुको नियामक संस्था होटल तथा पर्यटन ब्यवसायी संघ र होटल तथा रेष्टुरेन्ट ब्यवसायी नाम गरेका संस्था पनि यसबारे पुरै बेखबर छन् । यिनै संस्था चलाउने कतिपय ब्यक्तिहरुका होटलमा नै यस्तो हुने भएका कारण यो धन्दाबारे उनीहरुमा बोल्न र नियमन गर्न सक्ने आँट नरहेको सरोकारवाला बताउँछन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संघ यहाँका उद्योगी, व्यवसायी र ब्यापारीको सबैभन्दा ठुला संघ हुन् । तर यी संघ पनि केवल नामका मात्रै छन् । मातहतमा दर्ता भएका होटलहरुले यसरी देह ब्यापार गरेको गुनासो सुनिरहेको भए तापनि नियमन गर्नेमा कुनै उनीहरुको ध्याउन्न छैन ।

बाणगंगाका होटलहरुमा यसरी यौन धन्दा हुन थालेपछि यहाँका अभिभावक पनि निकै चिन्तित हुन थालेका छन् । श्रावण ५ गतेको घटनाले अब यहाँका रेष्टुरेन्टमा पस्न, खान, बस्नसम्म डर हुन थालेको उनीहरु बताउँछन् ।

होटल तथा पर्यटन ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले यस्ता कार्य क्षम्य नरहेको बताए । उनले भने, ‘होटलहरुमा अनैतिक क्रियाकलाप छन् भने कडा प्रतिवाद हुन्छ । कानुनको दायरामा रहेर होटलहरु संचालन गर्नुपर्दछ ।’

यसरी विकृति मच्याउने होटलको पक्षमा आफूहरु नरहेको उनले बताए । नाबालिग बलात्कारका घटनाले आफूहरुलाई संवेदनशिल बनाएको पौडेल बताउँछन् । यस्ता क्रियाकलापबारे बेलाबखत अनुगमन गर्ने गरेको पनि उनले बताए ।

समाजमा विकृति फैलाउने यस्ता घटनामा आफूहरु शुन्य सहनशिल भएर लाग्ने प्रहरी बताउँछ । श्रावण ५ गतेको घटनापछि होटल संचालकसंग पनि कागज गरिएको बताउँदै यौन ब्यापारको गुनासो अहिलेसम्म नआएको तर आएको खण्डमा कडा रुपमा प्रस्तुत हुने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक गोपालजंग रायमाझीले बताए ।

५ गतेको घटना घटाउने होटलमा यसअघि पनि यस्तो क्रियाकलाप भएको रायमाझी बताउँछन् । उमेर पुगेका, नाता प्रमाण पत्र र नागरिकता होटलमा छोडेर पैसाको कुनै लेनदेनविना हुने क्रियाकलापलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै प्रहरी नीरिक्षक रायमाझी भन्छन् तर होटलमा प्रकृया पुरा नगरी नाम थर, ठेगाना, नागरिकता, नाताप्रमाण नछोडी, पैसाको लेनदेनमा यस्ता क्रियाकलाप भएमा होटल संचालक र उक्त क्रियाकलापमा संलग्न हुने जोकोहीमाथि कडा कारबाही हुनेछ । यसमा प्रहरी निर्मम बन्छ ।

अब चाँडै होटल संचालकहरुसंग छलफलमा बस्ने उनले बताउँदै उनले होटलहोटलमा यौन धन्दा चलेको छ भन्ने म्यासेज दिने गरी गतिविधि भएको भए कारबाही गरिने बताए ।

बाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले बलात्कार घटनाले आफूहरुलाई तर्साएको बताए । बाणगंगाका होटलमा यौन धन्दा हुने गरेको प्रमाण फेला नपारे पनि गुनासो भने सुनिएको उनले बताए ।

उनले भने, ‘अपिटाइम्सबाट यो घटना पढेँ । यसले संवेदनशिल बनाएको छ । गुनासो सुनिएको थियो तर पुष्टि हुने प्रमाण थिएन । अब झसंग भएका छौँ । जानकारी आयो, प्रहरीसंग सहकार्य गरेर यसको नियमनमा लाग्दछौँ ।’

‘५ गतेको घटनामा होटल संचालकले कुनै प्रकृया पुरा नगरेको देखिन्छ, साँझ परेपछि अथवा दिउसै उमेर नपुगेका र शंकास्पद ब्यक्तिलाई गोप्य कोठा या बारेको क्याविनमा पनि बस्न दिन हुँदैन’, एक जना स्थानीयले भने’ ‘उमेर पुगेका जोडी भए पनि छ्यापछ्याप यौनधन्दा चलाउने कुरालाई यहाँको समाजले अझै स्वीकार गर्न दिँदैन । यसमा पनि प्रहरीले निगरानी बढाउनु पर्दछ ।’

उमेर पुगेका जोडीलाई बस्न दिने नाममा समाजलाई विगार्ने म्यासेज दिने गरी यस्ता क्रियाकलाप गर्न छुट नदिन उनले प्रहरीलाई आग्रह गरे । एउटा होटलको विषयले समग्र बाणगंगाका होटलहरुलाई गिजोल्न नहुने होटल ब्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय देशमा बढेको आर्थिक मन्दीसँगै राजमार्गमा रहेका ठूलो लगानीका होटलहरूले समेत यौन व्यवसाय गर्न थालेको समाचार स्रोतले जनाएको छ । साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरुले समेत युवतीहरू राखेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ । 

रकमको मोलमोलाईमा होटलमा युवती राखिए त्यसलाई मानव बेचविखनको कसुरमा कारबाही हुने कानुनमा उल्लेख छ । मानव बेचबिखन तथा ‌ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनुलाई मानव बेचबिखन र ‌ओसारपसार गरेको मानिने भनिएको छ।

त्यस्तै, उपदफा २ को (ख) मा ललाई फकाई, प्रलोभनमा पारी,झुक्याइ,जालसाझ गरी जबरजस्ती गरी,डरधम्की तथा प्रलोभनमा पारी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा सारेमा मानव ओसारपसार गरेको मानिने उल्लेख गरिएको छ।

र यो पनि