मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसले भत्ता रकम लुट्न ७५ वर्षीया वृद्धाको खुकुरी हानी हत्या गरे

जसले भत्ता रकम लुट्न ७५ वर्षीया वृद्धाको खुकुरी हानी हत्या गरे

अपि टाइम्स

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा वृद्ध भत्ता लुट्ने उद्देश्यले एक वृद्धाको हत्या भएको छ। कालिञ्चोक– ६ पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्ध भत्ता बापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या भएको प्रहरीले जनाएको छ।

दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार सोही गाउँपालिका वडा नम्बर ४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले रकम लुट्नकै लागि वृद्धाको खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। यहि साउन ९ गते राति मृतक वृद्धाकै घरमा बास बसेका कार्कीले राति खुकुरी प्रहार गरी हत्या गरेको डिएसपी खड्काले बताए।

साउन ११ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। हत्यापछि फरार रहेका उनलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा दुबई जानको लागि परीक्षा दिई काठमाडौँबाट घर फर्कने क्रममा ती युवक सुनुवारको घरमा बास बसेका थिए। वृद्धाले कार्कीलाई भान्साकोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुतेकी थिईन्।

कार्कीले राती आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।