मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्य थापाले भने- नेपालमा सहकारी आवश्यक नै छैन

सूर्य थापाले भने- नेपालमा सहकारी आवश्यक नै छैन

अपि टाइम्स

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्।

मंगलबार समितिले सहकारी अभियान्ताहरुसँग गरेको छलफलमा बोल्दै सभापति थापाले काठमाडौँको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन्।

उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताए। उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको बताए।

सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए। सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको उनको भनाइ थियो।

उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए। उनले बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनुपर्छ भन्ने नीतिअनुसार बैंकहरुको पहुँच बढाइएको उल्लेख गरे।

उनले काठमाडौँका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए। उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलापमा चल्ने सहकारी काठमाडौँ सहरमा भेटिएको बताए।

उनले सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानुनी भएको उल्लेख गरे। उनले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बाए। समितिले छानबिन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको उनको भनाइ थियो।