पन्त सर,अनुमति पाऊँ ।
म नागरिक भएर साउन १७ गते बिहिबार वडा कार्यालयदेखि इलाका प्रशासन कार्यालय बाणगंगासम्म आउँदाको एक दिनको दैनिकी सहित अनुभूति प्रस्तुत गर्न चाहन्छु । साँच्चै भन्नुपर्दा म अधिकारभन्दा कर्तव्यमा विश्वास गर्ने एक समान्य नागरिक हुँ । त्यसैले मैले आफ्नो कर्तव्यलाई सधैं सर्वोपरि सम्झिने गरेको छु। राज्यले निर्देशन गरेका कुरालाई पालना गर्नु नागरिक कर्तव्य हो।
त्यसैले म पनि राष्ट्रिय परिचयपत्र बनाउन हजुर प्रमुख रहेकाे इलाका प्रशासन कार्यालय बाणगंगासम्म आएको हुँ । करिब साढे दश बज्दा नबज्दै म उक्त कार्यालयमा हाजिर भएँ । कार्यालयको बाहिरी सटरमा भिडभाड थियो। त्यो भिडभाडमा राष्ट्रिय परिचयपत्र बनाउने कता होला भनेर सोधे र त्यहाँ बताउनु भएअनुसार म भित्र गए । कार्यालयको तल्लो तहमा राष्ट्रिय परिचय पत्रको कार्यालय रहेछ,पुगेँ । राष्ट्रिय परिचयपत्र बनाउन म एक्लै थिइन साथमा मेरी श्रीमती थिइन्। र मसँग दुवै जनाको नागरिकता र विवाहदर्ताको कागज थिए । परिचय पत्र शाखामा भीड थियो ।
एकैछिन पर्खिएर समन्वय शाखाका सरलाई आफ्नो बारेमा जानकारी गराए । नरेन्द्र दाहाल परिचय पत्र केन्द्रको पहिलो निर्देशक बन्नुभएको थियो । वहाँसँग मेरो कपिलवस्तु जिल्लादेखिको हिमचिम केन्द्रसम्म नै कायम थियो । वहाँ जिल्लामा सिडिओ साब हुँदाखेरि म कुनै प्रतिष्ठित दैनिकको जिल्ला संवाददाता थिए ।
०६४ सालको भदौ ३० गते कपिलवस्तु घटना पश्चात वहाँको जिल्लाबाट सरुवा भएको थियो । र पछि म पनि अध्ययन र कामको सिलसिलामा काठमाडौँमा स्थान्तरण भए । पत्रकारिता पेशामा निरन्तर रहे । सिंहदरबारमा दैनिकी, मेरो लागि सामान्य थियो । गृह मन्त्रालय परिसरमा नवनिर्मित परिचय पत्रको कार्यालयमा पुगेर सरसँग चिया पिउँदै गफ्फिनुको मजा छुट्टै नै हुन्थ्यो, र दाहाल सरले पन्थी राष्ट्रिय परिचयपत्र भर भनेपछि भोलिपल्ट नागरिकता सहित गएर मैले सिंहदरबारमा नैं भरेको थिए ।
विहीबार प्रशासन कार्यालयमा उक्त विगत जानकारी गराइसकेपछि कम्प्युटरमा रहेका सरले एकपटक चेक गरौँ न त भनेर चेक गरिदिनुभयो तर त्यतिवेला भरेको तथ्य फेला परेन । त्यसपछि नयाँ बनाउनु पर्यो भनेर, मेरो र श्रीमतीको नागरिकता वहाँ सरलाई देखायौं । र त्यतिबेला श्रीमतीको नागरिकता सही सदर गरिदिनु भयो, मेरो नागरिकतामा पछाडि पट्टि ल्याप्चे मेटिएकोले यो त हुँदैन भन्ने जानकारी गराउनु भयो । मैले वहाँलाई अनुनय गरेर बिन्ती गरे सर म यही जिल्लाको नागरिक हुँ। र नागरिकता जिल्लाबाट ०५२ सालमा लिएको त्यसैले यो नागरिकतालाई सदर गर्न मिल्छ भने यसैबाट काम गरिदिनुस् न ।
मेरो अनुनयमा वहाँले मिल्दै मिल्दैन भनेपछि मसँग विकल्प केही थिएन । पुनः मैले वहाँसँग जिज्ञासा गरे । सर अब मैले के गर्नु त ? वहाँले मलाई सुझाव गर्नुभयो । जानुस् वडामा, वडाबाट सिफारिस लिएर आउनुस नागरिकता आजको आजै बन्छ यही कार्यालयबाट । त्यतिन्जेलसम्म करिब साढे११ बजिसकेको थियो ।
कार्यालयबाट म बाहिरिए । बाहिरिए लगत्तै मैले काठमाडौँ परिचय पत्र केन्द्रमा कार्यरत मसँग सँगै अध्ययनरत अनिता शिवाकोटीलाई फोन गरे । वर्षौंअघि सिंहदरबारमा मैले परिचय पत्रका लागि भरेको भए पनि त्यो रेकर्ड भेटिएन अनिता भन्दा उनले हो संजय पहिलेका केही रेकर्डहरु हराएकोले पुन भर्नु नै उपयुक्त हुन्छ भन्ने सुझाव गरिन् ।
सबैका सुझावलाई मनन् गर्दैं मसँग निजी साधन पनि नभएको हुनाले सार्वजनिक सवारीको साधनमा यात्रा गरेर म नागरिक भएको बोडगाउँस्थित वडा नम्बर ८ को कार्यालयमा करिब १२ बज्दा नबज्दै हाजिर हुन । वडामा हाजिर त भए तर अहिले सबै काम प्रविधिबाट हुने व्यवस्था भएकोले त्यहाँ विद्युत नभएकोले सबै काम ठप्प थियो ।
त्यसो त वडामा पुगेपछि सिफारिस बनाउन बाहिर रहेको कुनै कन्सल्टेन्सी कार्यालयलाई फारम भर्न लगाइँदो रहेछ । त्यतिन्जेलसम्म विद्युत नआइपुगेकोले उक्त कार्यका लागि अतिरिक्त शुल्क तिर्नु मेरो लागि निर्विकल्प थियो । अतिरिक्त शुल्क सहित फारम भर्ने कार्य सम्पन्न गरे ।
म एक सचेत नागरिक पनि भएको हुनाले सुरुमा १०० नम्बरमा फोन गरेर प्रहरीलाई यहाँ विद्युत छैन भन्ने कुरा स्थलगत जानकारी गराए । विद्युतको समस्या प्रहरीले समाधान गर्दैन भन्ने मलाई अवगत नै थियो तर पनि जानकारीका लागि मैले वहाँहरुलाई फोन गरेको थिएँ। साथै त्यहाँबाट सुझाव गर्नुभयो । विद्युत कार्यालयमा सम्पर्क गर्नुस् न । साथै सदरमुकाम स्थित विद्युत कार्यालयको फोन नम्बर पनि उपलब्ध गराउनुभयो ।
उहाँकै सुझावमा आधारित रहेर विद्युत कार्यालयमा तत्कालै फोन गरे । विद्युत कार्यालयमा फोन गर्दा इन्जिनियर सावलाइ सम्पर्क गर्नुस् न भनेर नम्बर दिनुभयो । उक्त सुझावलाई मनन गरी इन्जिनियर चैधरीलाई सम्पर्क गरे र बाणगंगा वडा नम्बर ८ कार्यालयमा सेवाग्राहीको भिड रहेको जानकारी गराए । साथै विद्युत लाइन जडान गरिदिन आग्रह पनि गरे । वहाँले मेरो आग्रहलाई सुनवाई गरिदिनु भएछ । र तत्कालै दुई मिनेटमा विद्युत आयो । नेपाली कांग्रेसका वडा प्रतिनिधि जगन्नाथ भण्डारी त्यही नै थिए, मेरो उक्त कार्यको साक्षी उनी छन् ।
त्यहाँ पनि नागरिकहरूको भिडभाड नै थियो। मेरो जस्तै समस्या लिएर पुगेका अन्य नागरिकहरू पनि त्यहाँ भेटे। र लामबद्ध भएर नै मैले त्यहाँ ती सबै काममा सहभागी भए । वडा अध्यक्ष नभएकोले निमित्त वडा अध्यक्षले मेरो काममा सहयोग त गरिदिनुभयो तर त्यो सिफारिस पत्रमा लेखिएको भाषा र शब्द आफैमा यति निर्लज्ज छ कि मैले भन्नै पर्दैन यहाँ दृष्टान्तले नै उक्त तथ्यलाई प्रस्तुत गर्दछ । मेरो लिङ्ग नै परिवर्तन गरेर स्त्रीलिङ्गी बनाएर सिफारिस बनाइएको छ । म चुपचाप पत्र लिएर पुनः करिब एक बजे हजुर कार्यालय प्रमुख रहेको इलाका प्रशासन कार्यालय जितपुरमा हाजिर भए । उक्त लाजले भरिएको सिफारिस पत्र फेरि नागरिकता बनाउने शाखामा लगेर पेश गरे ।
त्यो पनि लामबद्ध भएर पालो पर्खिएरै, आफ्नैं पालोमा । करिब १ बजे पेश गरेको मेरो उक्त सिफारिस पत्रसहितको नागरिकता बनाउने कागजातमा ३ बजे पश्चात मात्रै रुजु गर्ने कार्य सम्पन्न भयो तर त्यहाँ मेरो सिफारिस पत्रक रिजेक्ट गरियो । पुनः वडामा फर्केर नयाँ फोटो टाँसेर त्यहाँ भएका गल्ती सच्चाएर उक्त सिफारिस पत्र बनाएर भोलिपल्ट आउन आग्रह गर्दै मलाई बिदा गरियो। उक्त प्रक्रियालाइ स्वभाविक नै मानिरहेँ ।
तर मेरो मनले भने स्वभाविक मान्न सकेन् किनकि मसँग नागरिकता छ। म यहीको नागरिक हुँ। दुईदुई पटकसम्म मैले पासपोर्ट बनाएको छु यही नागरिकताले । मेरो मनले मानेन म पनुःराष्ट्रिय परिचय पत्र समन्वय शाखामा सुरुमा मैले जसलाई सम्पर्क गरेको थिए वहाँलाई सम्पूर्ण कारवाही प्रक्रिया जानकारी गराए । र मैले भने सर म यही देशको नागरिक हो, कृपया मलाई यही नागरिकताले काम चलाइदिनुहोस् म अनागरिक हैन् ।
सुरुमा वहाँले मलाई नागरिकता आजै बन्छ भन्नुभएको थियो। तर नबनेपछि मेरो अनुनयलाई वहाँले नकार्न सक्नुभएन,अवाक हुनुभयो। र एकपटक माथि प्रमुख ज्यूको कोठामा जानुस् भन्नुभयो । त्यसैले म करिब सवा ३ वजको समयमा तपाईंको कोठामा हाजिर भएर ५ मिनेटको लाइन बसेर तपाईंलाई सम्पूर्ण जानकारी गराए। त्यतिबेला मेरो अनुनय मेरो सिफारिस पत्रलाई मान्य गरिदिनुहोस् र र आजै मलाई नागरिकताको प्रतिलिपि उपलब्ध गराइदिनुहोस् भन्ने थिएन ।
किनकि त्यहाँ गल्ती थिए त्यो गल्तीलाई सचाउनु वडाको काम काम हो । त्यहाँबाट उक्त काम हुँदैन भन्ने मलाई जानकारी थियो । तर उक्त कार्यका लागि मसँग रहेको नागरिकताबाट नै काम चलाइदिनुहोस् किनकि म सँग रहेको उक्त नागरिकतामा ल्याप्चेको छाप उडेको मात्र हो। र म लगाउन स्वयं हाजिर छु । उक्त नागरिकता कुनै किनबेचका आधारमा बनाइएको पनि थिएन । किनकि ०५२ सालमा जिल्ला प्रशासन कार्यालयबाटै बनाएको थिए। दुई दुई पटकसम्म त्यही नागरिकताबाट राहधानी अर्थात् पासपोर्ट पहिले बनाएको नम्बर त्यसको पछाडि पीठमा छ ।
तर पनि मान्य हुन सकेन । सायद नमिल्ने भएरै होला,तपाईँले त्यसलाई अस्वीकार गरिदिनुभयो मैले तपाईंको अस्वीकारमा अवाक भएर स्वीकार गर्न बाध्य भए । त्यतिन्जेल तपाईँले प्रविधिको सहयोग लिएर मेरो नागरिकताको पुरानो दस्तावेजलाई चेक पनि गरिदिनु भयो । विडम्बना नै भन्नुपर्छ मेरो त्यो नागरिकताको दस्तावेजीकरण उक्त प्रविधिगत दस्तावेज भेटिएन । र तपाईंले पिठमा अभिलेख शाखामा सम्पर्क गर्न लेखिदिनु भयो । तल ओर्लिएर फेरि परिचयपत्र समन्वय शाखामा सुरुमा जसलाई सम्पर्क गरेको थिए,वहाँलाई नै सम्पूर्णा जानकारी गराए, वहाँले नझिज्जी कनै सुनिदनु भयो ।
साथै वहाँले हाँसेरै अभिलेख शाखामा सम्पर्क गर्न,अर्को शाखामा देखाइदिनु भयो । त्यहाँ पनि लामबद्ध भएर मैले उक्त कार्य सम्पन्न गरेँ । साथै त्यहाँबाट बिदा भएर निस्किनु अगाबै मैले त्यहाँबाट दिइएको सम्पर्क नम्बरमा भोलि पुनः सम्पर्क गरेर आउने बाचा सहित बिदा भए।
पन्त सर,
भोलि मलाई हजुरको कार्यालयमा उपस्थित हुन कुनै कठिनाइ हैन् । तर मलाई आफ्नो सिफारिस सच्चाउन वडा कार्यालय पुग्न नै म लज्जित भएको छु। किनकि मैले आफैले भोट दिएर जिताएका प्रतिनिधिहरु त्यहाँ गजधम्म भएर बसेको र उनीहरुलाई नमस्ते गर्न पुग्नु म आफैलाई लज्जित र शर्मिन्दा बोध भइरहेको छ । ती तीता अनुभवलाई अर्को पटक पुनः यसैगरी प्रस्तुत गर्ने नै छु त्यतिबेला अनुभूत गर्नुहोला ।
फेरी पनि भन्छु, मेरो त्यो किशोर अवस्थामा बनाएको नागरिकतालाई कृपया रद्द नगरिदिनुहोस् ! किनकि त्यो नागरिकतामा मेरो भावनात्मक सम्बन्ध छ । त्यतिबेला स्वआर्जनले कमाएको कमाईबाट सदरमुकाम तौलीहवा पुगेर मैले बनाएको स्मरण मलाई ताजै छ । त्यो स्वार्जन भनेको म विद्यालय जीवनमा अध्ययनरत रहँदाखेरि हाजिरी जवाफ र वक्तृत्वकलामा उत्कृष्ट भएर पाएको पुरस्कारको संग्रहित रकमले मैले उक्त नागरिकता बनाएको हुँ ।
प्रसङ्गले स्मरण गराउँ कपिलवस्तुबाट कस्ता कस्ता मान्छेले नागरिकता लिएका छन् भन्ने कुरा, पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा साउदी अरेबियाका लागि राजदूत सिफारिस भएका अबु सुफयान खान मुसलमान नेपाली नागरिक नभएको जिकिरसहित उजुरी परेको छ ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जमिरुल्लाह खानले उजुरी दर्ता गराएका छन् । उजुरीमा उनी भारतीय नागरिक भएको प्रमाण र ठेगाना उल्लेख छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार, भारतीय नागरिक भएको उजुरीपछि अवु सुफयान खानका बारेमा अनुसन्धान भइरहेको छ । राहदानीको अनुसन्धान भने सम्बन्धित निकायले गरिरहेको छ । (१२बाह्खरी डटकम,१६साउन)।
साथै प्रसङ्गले यो पनि स्मरण गराउन चाहन्छु। १७ चैत २०६३ कान्तिपुर दैनिकमा कपिलवस्तु डेडलाइनबाट यो पंक्तिकारले लेखेको समाचार प्रकाशित भएको छ । कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित उक्त समाचारको शीर्षक रहेको छ, …कार्यकर्ताको मिलोमतोमा भारतीयलाई नागरिकता । उक्त समाचार प्रकाशित गर्दा प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल र सहायक प्रजिअ जनकराज रेग्मी हुनुहुन्थ्यो । साथै वहाँहरुले पन्थी स्याबास भनेको कुरा पनि म स्मरण गराउन चाहन्छु । कारण थियो त्यसबेला सात दलको सिफारिसमा टोलीबाट नागरिकता वितरण गरिएको थियो। र त्यसरी नागरिकता बेचबिखन गर्नेहरूमा जिल्लाका सात दलका प्रतिनिधिहरु नै थिए ।
प्रशासनले चाहेर पनि उक्त कार्य बन्देज लगाउन सक्ने अवस्था थिएन,त्यसैले समाचार प्रकाशित भएपछि दाहाल र रेग्मी सरले धन्यवाद दिनुभएको थियो ।
प्रसङ्गले फेरि पनि अर्को एउटा तथ्य जानकारी गराउँ कुनैबेला बब्लु श्रीवास्तव नामले प्रख्यात भारतीय गुण्डाले यसै कपिलवस्तुबाट नागरिकता लिएको थियो । उक्त नागरिकता छानबिन प्रकरणमा जिल्ला प्रशासन कार्यालयका सुब्बा तहका एक कर्मचारीले जागिरबाट हात धुनु परेको थियो । सर उल्लेखित दृष्टान्त मैले यहाँ प्रस्तुत गर्नुका पछाडि फेरि पनि मेरो नागरिकता किनबेचबाट प्राप्त हैन् । त्यसैले रद्द नगरियोस् भन्ने कामना नै हो । साथैं म जस्ता सेवाग्राहीले अनाहकमा दुःख नपाउन् ।
मेरो कर्तव्यमा तपाईंले सक्नुहुन्छ भने अहिले पनि स्याबास दिनुहोस् सक्नुहुन्न भने नागरिकता रद्द नगरिदिनुहोस, नगराइदिनुहोस् । मलाई मेरो पुरानै नागरिकताको माया छ ।
सञ्जय पन्थी
बानपा,८ कपिलवस्तु ।
प्रतिक्रिया