मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब लोग्नेस्वास्नीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण भयो

जब लोग्नेस्वास्नीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण भयो

अपि टाइम्स

एजेन्सी । लोग्नेस्वास्नीको झगडा, परालोको आगो भन्ने उखान हामीकहाँ चर्चित छ । यसको अर्थ हो कि पतिपत्नीको झगडा भनेको मिलिहाल्छ अर्थात् फासफुस भैहाल्छ, त्यसैले अरुले टाउको दुखाउनु पर्दैन। तर, लोग्ने र स्वास्नीबीचका सबै झगडाको आगो कहाँ निभिहाल्दो रहेछ र ?

कतिपय झगडालु दम्पतिहरु त यतिसम्म जब्बर हुुँदा रहेछन् कि उनीहरुको मारमुंग्रीले गर्दा आकाशमा उडिरहेको हवाइजहाज समेत आपतकालीन रुपमा अवतरण गर्नुपर्ने आपत आइलाग्दो रहेछ ।
आयरल्याण्डमा हालै एउटा यस्तै घटना भएको डेलीस्टारले उल्लेख गरेको छ ।

समाचार अनुसार आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको उक्त जहाजका यात्रुका रुपमा रहेका एक दम्पतिबीच जहाज भित्रै झगडा सुरु भयो ।

आखिर पतिपत्नीको झगडा न हो, एकछिनमै कलह शान्त भैहाल्ला भन्ने अरु सबै यात्रु तथा चालक दलको विश्वास थियो । तर, त्यस्तो भएन । झगडा उग्र बनेर मारमुंग्रीकै तहमा पुग्यो । जसका कारण यात्रु तथा उडान सुरक्षालाई मध्यनजर गर्दै चालक दलले जहाजलाई गन्तव्यमा नलगी डाइभर्ट गरेर नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराए ।

बेलुकी करिब सबा सात बजे आयरल्याण्डको राजधानी डब्लिनबाट उडेको उडान नं इआइ७३८ को आयर लिंगसको जहाज करिब एक घण्टापछि पाइलटले आकस्मिक अवतरणको घोषणा गरेका थिए । उक्त जहाजभित्र यात्रुको रुपमा रहेका एक दम्पतिबीच निकै उग्र झगडा भएसँगै विमानका कर्मचारीले उनीहरुलाई शान्त पार्ने कोसिस गर्दा समेत झगडिया लोग्नेस्वास्नी मारपिटमै उत्रिन थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यसपछि सो जहाजलाई न्यानटेस विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

जहाजभित्र कुटपिट तथा झगडाका क्रममा पत्नी चाहीँको अनुहारमा चोट लागेको थियो ।

पत्नीमाथि हातपात गर्ने पुरुषलाई विमान अवतरण पश्चात् पक्राउ गरिएको थियो । झगडालु दम्पतिलाई निकालेसँगै करीब २ घण्टापछि जहाज पुनः उडाइएको थियो ।

जहाजभित्रै झगडा तथा मारपिट गर्ने ती झगडालु पति पत्नीको नाम चाहीँ खुलाइएको छैन ।