मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीकै संरक्षणमा कपिलवस्तुबाट गोरु तस्करी, रुपन्देहीमा टाइट भएपछि तस्करले बदले रुट

प्रहरीकै संरक्षणमा कपिलवस्तुबाट गोरु तस्करी, रुपन्देहीमा टाइट भएपछि तस्करले बदले रुट

अपि टाइम्स

पाल्पा । छिमेकी मुलुक भारतबाट चोरी तस्करी गरी कपिलबस्तु जिल्लाको सिमावर्ती क्षेत्रमा संकलन गरिएका गोरु तस्करहरुले नयाँनयाँ बाटो प्रयोग गर्न लागेका छन् । रुपन्देही प्रशासनले गोरु तस्करीमा कडाइ गरेपछि नयाँनयाँ बाटो पहिल्याउँदै ओसारपसार गर्ने क्रममा गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयहरुले पुनः नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

कपिलबस्तुको महेन्द्र राजमार्ग खण्ड बाटभित्र पर्ने सालझण्डी–ढोरपाटन हुँदै गुल्मी पाल्पाको सिमाना रिडीबाट कालीगण्डकी र मिर्मीबाट स्याङ्जाको चापाकोट प्रयोग गरी पुनः काली गण्डकी करिडोर अन्तर्गत गरी पिपलडाँडादेखि गैडाकोट सडकमा पुग्ने गर्दछन् । तस्करीको यो पहिलो मात्र नभई यस अगाडि प्रहरीले वरामद गरेको थियो । उही तस्कर उही गाडीमा ल्याएका बखतमा स्थानीयले नियन्त्रणमा लिएको स्थानीय युवा कमल कार्कीले बताए ।
तस्करहरुले यसभन्दा अगाडि राजमार्गको बाटो प्रयोग गर्थे । जब रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले यस विषयलाई संवेदनशील रुपमा लिन लागेपछि नयाँनयाँ बाटोको पहिचान गरी प्रयोग गरेको हुन सक्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका कर्मचारीहरु बताउँछन् ।

रुपन्देही प्रशासनले कडाई गरेपछि रुपन्देहीको बेलबास–नुवाकोटको सडक प्रयोग गरेको वखतमा प्रहरी चौकी दोभान पाल्पाले ट्रक सहित गोरु नियन्त्रणमा लिएको थियो । तस्कर समूहले प्रहरीको साथ र सहयोगका कारण यसरी हप्तामा एक ट्रक गोरु निकासी गरेका हुन् । तस्कर समूहले बुटवल–पाल्पा सडक प्रयोग गरी पाल्पाको पिपलडाँडादेखि गैडाकोट सडक प्रयोग गरेका बखतमा रम्भा गाउँपालिकाको हुंगीमा स्थानीय युवाले नियन्त्रणमा लिएपछि पछिल्लो समयमा असुरक्षित महसुस गर्दै स्याङ्जाको बाटो प्रयोग गरेको स्थानीय कृष्ण गैरे बताउँछन् । “हिन्दु धर्मालम्बीहरुको देवी देवता समान मानिएका गाईगोरुलाई यहाँबाट मासुको लागि बंगलादेश लैजाने हो । धर्मका खातिर पनि हामीले हाम्रो बाटो प्रयोग गर्न दिदैनौं”– उनले भने ।

कृषि प्रयोजनका लागि ओसारपसार गर्न अनुमति लिएको कपिलबस्तुको ए ब्रदर्श पशु चौपाया सप्लायर्स चन्द्रौटाले एलिसा चौहान सप्लायर्स सर्लाही पठाउँदै आएको हो । प्रहरीको संरक्षणमा यसरी तस्करी मौलाएको स्थानीयहरुको दावी रहेको छ । कपिलबस्तुदेखि अर्घाखाँची, गुल्मीको प्रहरी प्रशासनले रोक्न चाहेको खण्डमा रोकिन्छ । प्रहरीको नै सेटिङमा पहाडी जिल्लाको सडक प्रयोग भएको हो । यसमा प्रहरीको पोष्टदेखि जिल्ला तहसम्म आर्थिक लेनदेन भएपछि यो सडक प्रयोग भएको हो । यो सडकमा ठाउँठाउँमा प्रहरीको पोष्ट छ तर प्रहरीले नै लेनदेनमा मिलाएपछि स्थानीय युवाहरुले धर्मका खातिर नियन्त्रणमा लिएको गुल्मी अर्वेनीका स्थानीय युवा किशोर न्यौपाने बताउँछन् ।
कपिलवस्तुको सिमाबाट बुटवलसम्म र पाल्पा हुँदै गुल्मीसम्म गोरु पुग्नुले प्रहरीकै संरक्षण रहेको मान्न सकिने उनीहरु बताउँछन् ।

यस अगाडि पाल्पा रामपुर हुँदै गैंडाकोट जाने क्रममा इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत एक प्रहरीले सबै सुरक्षा र सुराकीको व्यवस्था मिलाउने गर्थे । हाल उनी कपिलबस्तु सरुवा भएपछि पनि उनकै सेटिङ र सुराकीको आधारमा हुने गरेको स्रोतले बतायो । यसरी प्रहरी नै तस्करसंग हातेमालो गरेपछि तस्करी कसरी नियन्त्रण हुन्छ भन्ने प्रश्न उब्जिएको स्थानीयहरु बताउँछन् ।

प्रहरीले नियन्त्रणमा लिएको गोरु भन्सार कार्यालयमा पठाउने हो । भन्सार कार्यालयले लिलाम गर्ने हो । यही र यस्तै तस्कर समूहले लिलाम सकार्ने हो । भन्सारको लिलामी कागजको प्रतिलिपि तथा फोटोकपी देखाउँदै पुनः ओसार पसार सुरु हुने, भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन् । तस्कर समूहको संजाल ठूलो हुने भएका कारण जिल्ला जिल्लाका प्रहरी प्रमुख, समाचार लेख्ने पत्रकारलाई समेत प्रभाव पार्ने भएका कारण उनीहरु कानुनी दायारामा आउन नसकेको कपिलबस्तु चन्द्रौटाका हरि नारायण गुप्ता बताउँछन् । “यसरी प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीले नियन्त्रण गर्न चाहेको खण्डमा हुन्छ । कपिलवस्तुबाट गोरु लोड हुन्छ । नवलपरासीको पशु चिकित्सकले निरोगिताको प्रमाण पत्र दिन्छ । यसरी पनि बुझ्न सकिन्छ गलत तथा अवैध धन्धा भनेर”– उनले भने ।

बंगलादेशमा गोरुको मासु बढी खपत र बढी मूल्यमा बिक्री हुने भएका कारण यहाँबाट यसरी तस्कर हुने गरेको छ । २०४६ सालको राजनैतिक परिवर्तन भएसंगै कानुनी बाटो समाउँदै कृषि प्रयोजनको कागज र बहाना बनाउदै तस्करी बढेको हो । “यसमा प्रहरी नै मुख्य जिम्मेवार हो । प्रहरीले रोक्न चाहेको खण्डमा रोकिन्छ”–एक पुर्व प्रहरी अधिकृतले भने ।बुटवल टुडेबाट