जितपुर । कपिलवस्तुका भूमिहिन तथा सुकुम्बसीहरुले भोलि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने भएका छन् ।
गत श्रावण २ गते बुद्धभूमि नगरपालिका वडा नम्बर २ बक्डेरिया, सोनपुर टोलमा सुकुम्बासी जनतामाथि डिभिजन वन कार्यालयले डोजर प्रयोग गरी गरेको धरपकडको विरोधस्वरुप भोलि जिल्लाभरका सुकुम्बासीले राजमार्ग बन्द गरी दबाब सिर्जना गर्ने भएका हुन् ।
जिल्लाभरका सुकुम्बासीहरुको संयुक्त संगठन संयुक्त सुकम्बासी, अब्यवस्थित भूमि संरक्षण समितिले आइतबार साँझ बाणगंगामा पत्रकार सम्मेलन गरी बन्दको कार्यक्रम घोषणा गरेका थिए ।
समितिका संयोजक कृष्ण घिमिरेले बन्द कार्यक्रममा १० हजार जना सुकुम्बासी जनता सहभागि हुने दावी गरे ।
गोरुसिंगे चोकमा विहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा शान्तिपूर्ण तवरले बन्द कार्यक्रम राखिएको घिमिरेको भनाई छ । अत्यावश्यक सवारी साधन चल्न दिने र अरु सवारी साधनलाई पूर्ण रुपमा बन्द गर्ने समितिले चेतावनी दिएको छ । कार्यक्रममा जिल्लाभरबाट जनताहरु उत्रने भएकाले दमनको रणनीतिमा नरहन उनीहरुले प्रशासनलाई चेतावनी दिएका छन् ।
राज्यका सबै प्रकृया पुरा गरी विगत लामोसमयदेखि बसोबास गरेको ठाउँबाट मातहतको सामुदायिक वन र डिभिजन वन कार्यालयले अमानवीय तवरबाट गरिब दुखी जनतालाई लखेटेको जानकारी गराउँदै संयोजक घिमिरेले अझै पनि सर्वसाधारणमाथि यातना दिने काम भएको भन्दै दुख ब्यक्त गरे ।
पत्रकार सम्मेलनमा पीडितहरुले भने, ‘अहिले जनताका घरबास उठेको छ, अहिले बालबालिकासहित घरपरिवार त्रिपालको सहायताले कष्टपूर्ण जीवन विताइरहेका छन् । घरगोठ नष्टसंगै खेतमा लगाइएको धान विजुलीको तार, खानेपािनीको धारासमेत निकालेर क्षतिग्रस्त बनाइएको छ।’
जिल्ला वन कार्यालयले पैसा र पावरको बलमा गुण्डाहरु लगाएर आफूहरुको उठिबास लगाएकाले अब आन्दोलन गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ । सुकुम्बसी वस्तीमा चलेको डोजरले ५० लाखको क्षति भएको घिमिरेले दावी गरे ।
आफूहरुले पाएको दुख र समस्याकोबारे स्थानीय राजनैतिक दल, नगरपालिका र बिभिन्न निकायमा जानकारी गराउँदासमेत कतैबाट साथ नपाएपछि बाध्य भएर बन्दको कार्यक्रम आयोजना गरिएको उनीहरु बताउँछन् । रेकर्डमा जिल्लाभर ३० हजार सुकुम्बासी रहेका छन् ।
यस्तो छ विज्ञप्ती
प्रतिक्रिया