मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौमा महासंघको चुनावः कपिलवस्तुका प्रिय पत्रकारहरुलाई अप्रिय सुझाव !

भदौमा महासंघको चुनावः कपिलवस्तुका प्रिय पत्रकारहरुलाई अप्रिय सुझाव !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने ।
प्रिय श्रमजिवी, मिहिनेती र अझै पत्रकारितामै भविष्य देख्ने, कलम चलाएर जीवन र परिवार धान्ने पत्रकार, कलमवीर साथीहरु । आज म वडो सरल शब्दमा, सबैले बुझ्ने भाषमा केहि चुनावकेन्द्रित कुराहरु भन्दै छु । समय रहेको खण्डमा सबै पढ्नु हुने छ भन्ने विश्वासमा छु । र जनमानसले यसबाट पत्रकारिता भित्रको केहि सत्य कुरा बुझ्नु हुनेछ भन्नेमा आश्वस्त छु ।

साथीहरु,
आगामी भदौमा नेपाल पत्रकार महासंघको निर्वाचन हुने कुराले यहाँहरु उत्साहित हुनु भएकै होला । सके चुनाव होला भदौमै नभए पनि केहि छैन हामी तयारीमा लागौँ । पत्रकारितामा आवद्ध भएपछि यस चुनावलाई हामीले दशैँ बराबर सेलिब्रेसन गर्नुपर्ने हुन्छ । तर कताकता यस्तो चाडमा पनि पत्रकार साथीहरुलाई निरास देख्दछु ।

कपिलवस्तुका पत्रकारमा उत्साहभन्दा बढी निरासा थपिएको जस्तो लाग्दछ मलाई । किन किन त्यस्तो भान छ, हुन्छ मलाई । गल्ती सोचिरहेको रहेछु भने माफ दिनुहोला । किनकि यसअघि हामीले छानेका नेतृत्वले त्यो मुताविक काम गर्न सफल रहे भनेर फेयरिस्त सुनाउन सक्ने तथ्य देख्दिनँ । तसर्थ पत्रकारकै लागि लाग्ने केहि अप्रिय सुझावहरु दिन चाहान्छु ।
बाध्यतावस भन्नुपर्दछ कपिलवस्तुमा मिडियाको संख्या बढे पनि न त्योइतरमा पत्रकारिताको विकास भएको देखिन्छ न संस्थागत नै । यहाँ मिडिया हाउस त धेरै भए तर सबल बन्न सकेनन् । यो भन्दै गर्दा मुलुककै स्थिति यस्तै छ, हामीले मात्र के गर्ने भन्ने कुरा आउन सक्छ अहिलेसम्मको नेतृत्वमा । तर लिडरले अरुसंग तुलना गर्दैन आफू मातहतमा के भइरहेको छ भन्ने खुटेर काम गर्दछ ।

कपिलवस्तुमा पत्रकारिता पेशाप्रति जनतामा उभार छर्न सकियो नत दुख र पीडामा परेका पत्रकारले महासंघबाट न्याय पाए नत साथ । उल्टै आजभोलि पत्रकार भनेपछि जनता वाक्क हुन थालेका छन् । पत्रकारको परिचय पत्र देखाउन लाजै लाग्ने स्थिति छ । यस्तो अवस्थामा निरासा थपिनु स्वभाविक हो ।

तर पनि केहि बिग्रेको छैन, आगामी दिनमा उत्साह थप्न सकिन्छ । त्यसको प्रयोग भनेको चुनाव नै हो । चुनावमार्फत् या सर्वसम्मतिबाट आएको नेतृत्वले गरेको ३ बर्षले महासंघलाई कस्तो बनाउने भन्ने चित्र कोर्न सक्दछ ।
यो जिल्लामा अझै पनि श्रामजिवी पत्रकारको खाँचो छ । पत्रकारितामा केहि छैन भन्ने लघुतावासबाट अब पत्रकार मुक्त हुनुपर्दछ पत्रकारहरु साथीहरु । सम्मान नगर्ने मात्र होइन अन्तरहृदयबाट सम्मान गर्ने प्रशस्त जनमानस अझै पनि जिल्लामा हुनुहुन्छ । तर त्यसको लागि त्यहि स्पिडमा काम गर्ने पत्रकारको खाँचो मात्रै भएको हो ।

हामी पेशाप्रतिको मर्यादा, विश्वसनीयता, वस्तुपरकता र सन्तुलनतालाई शीरमा राखेर हिँडेको खण्डमा पत्रकारको काँधमा ढाप मार्ने धेरै आमाबुबा यहाँ हुनुहुन्छ । लघुतावासमा रहन जरुरी ठान्दिनँ । परिचयमा पहिलो वाक्य र शब्द नै पत्रकारको निकाल्न सकिन्छ ।

तर विडम्बना पत्रकारिताको सिद्धान्त भुसुक्कै विर्सेर कपिलवस्तुमा पनि पित पत्रकारिता गर्ने पत्रकारहरुको द्रुततर वृद्धि छ । केहि भएन भने माइक र क्यामेरा छोप्छन् मान्छेले भनेर गिराउने जनमत पनि बढ्न थालेको छ । यसो हुँदा धेरै पत्रकार खिन्न हुनुभएको कुरा सत्य हो । त्यस पछाडी खास कारण छन् ।

यहाँ बिभिन्न पार्टीको खोल ओढेर त्यसैको शक्तिको आडमा कुनै बार्गेनिंग गर्ने र कुरो नमिले न्यूज लेख्ने अनि डिलिट गर्ने पत्रकार, कोहि खोला र प्रहरी ढुक्ने पत्रकार, कोहि स्थानीय तहकेन्द्रित पालिकाको मात्रै चाकडी गर्ने पत्रकार, कोहि वनजंगलका नेता रिझाउने पत्रकार, कोहि एनजिओ, आइएनजिओको चाकडी गर्ने पत्रकार, कोही माछा, गोरु, लत्ता कपडाको तस्करसंग मिलेर कमिसन लिने पत्रकार, कोहि सिमानामा क्यामेरा लिई ढुक्ने पत्रकार, कोहि बिभिन्न ठेकेदार रिझाउने ठेकदार पत्रकार, कोही दल रिझाउने पत्रकार, कोही नेता र सांसदको पिछलग्गु बनेर उनैहरुको भजनमडलीमा रमाउने पत्रकार भयौँ । यिनै विशेषता भएका पत्रकारको दादागिरी र धन्दाका कारण संस्था भुत्ते हुँदै गएको हो र जनइतरमा विश्वास गुम्दै गएको हो । त्यस्तो पत्रकारिताले सिमित वर्गलाई पोष्ने काम भएको छ ।

त्यहि प्रवृत्ति हावी हुँदा पत्रकारले उठाउनु पर्ने समाजका धेरै विषय ओझेलमा परेका छन् । विकास र वास्तविक पत्रकारितामाथि अन्याय भएको छ । तर पत्रकारिताको आयाम कति विराट र फराकिलो छ, भन्ने कुराको स्मरण गरौँ पत्रकार साथीहरु । आज पत्रकारले लाखौँ करोडौका पुरस्कार पनि त पाएका छन् । राज्यबाट ठुलाठुला पदवी पनि त पाएका छन् । तर यसको लागि पत्रकारको दायरा र आयाम निकै फराकिलो छ भनेर बुझ्नु पर्दछ ।

पत्रकारिता पेशामाथि दिनप्रतिदिन प्रश्न उठ्नु र पत्रकार बदनाम हुनुको पछाडीको अर्को मुख्य कारण पनि छ । त्यो हो दलीय पत्रकारको विगविगी बढ्नु र बर्चस्व हुनु । अर्थात् काँग्रेस, एमाले, माओवादी,जनमोर्चा लगायतका दलमा पत्रकार विभक्त हुनु । नेताको हुनु जनता र समाजको हुन नसक्नु । मुलुककै यहि स्थिति हो । कपिलवस्तुमा पनि यस्तो प्रवृत्तिले जरा गाडेको छ ।
पत्रकारिता बदनाम हुनुको पछि अर्को कारण पनि छ । त्यो भनेको सदस्यता वितरण ।

सदस्यता वितरण गर्दा नै असल र काम गर्ने पत्रकारलाई प्राथमिकता दिएनौँ । चुनाव आफ्नो वसमा पार्न आफैले मिडिया खडा गरेर भए पनि पत्रकारतिाको न्यूनतम ज्ञान पनि नभएकाहरुलाई महासंघको साधारण सदस्यता प्रदान गर्यौँ । यसको टिठलाग्दो स्थिति भोट खसाल्ने बेला देखिन्छ । जहाँ चिन्दै नचिनाका ब्यापारी, पार्टीका नेताहरु पत्रकारको नेता छान्न लाइनमा उभिएका अवस्थामा देखिन्छ । त्यहाँ देखिन्नन् बर्षौँदेखि मिडियामा काम गरेका श्रमजिवी पत्रकार । अनि कसरी छनौट हुने त असल नेतृत्व ?
अर्को विडम्बनाको कुरा के छ भने पत्रकारको चुनावमा पत्रकारको नेता छान्ने जिम्मा लिइदिन्छन् पार्टीका नेताहरुले । त्यो वातावरण दिए पछि त आआफ्नो हित हेरेर उम्मेदवार छनौट गर्ने नै भए नि दलका नेताहरुले । यो केन्द्रदेखिको समस्या हो । अनि पार्टीका नेताले चुनाव लगायतमा आफूले टिका लगाइदिएका र आशिर्वाद दिएका ब्यक्तिमार्फत् सिंगो संस्थालाई प्रयोग गर्दछन् । अनि बदनामीको पगरी गुथ्न थाल्दछ सिंगो संस्थाले ।

अर्कोतर्फ मिडिया हाउसका संचालकले पनि त्यस्तै विशेषता भएका पार्टीका पत्रकार छनौट गर्दछन् र चुनाव लगायतमा प्रयोग गरेर संस्थालाई बदनाम बनाउँदछन् । त्यसैले दलको गोटी र चम्चा बनेकाहरुलाई उम्मेदवारको रुपमा अघि सार्नु उनीहरुको धर्ममा पर्दछ ।

तर पत्रकार साथीहरु इमान्दार र पेशानिष्ट हुने हो भने उनीहरुको धोक्सामा हामी पर्नु पर्दैन, दलीय पत्रकार र दलको योजना चौपट बनाउन सक्ने ल्याकत हामी राख्न सक्दछौँ । यसको लागि पत्रकार स्वयम् अलिक चनाखो देखिनु पर्दछ भने केहि त्याग र केहि स्वाभिमानको भावनामा अट्न सक्नुपर्दछ ।

अब डरछेरुवा भएर नबसौँ साथीहरु । पत्रकारका नेता भनौदाले तपाईँहामीलाई बहुत प्रयोग गरे । के उनीहरुले तपाई हाम्रो लालनपालन र जिन्दगीको ग्यारेन्टी गरेका छन् । अनि यति डर छेरुवा बन्नु पर्ने ? नमिठो लागे पनि कपिलवस्तु जिल्लाको हकमा कोही भेषराज पाण्डे भनेर डराउनु पर्ने, कोहि वसन्त गिरी भनेर डराउनु पर्ने, कोहि डिला भुसाल, गोपाल भण्डारी, किरणमान बज्राचार्य, कोहि हरि अधिकारी र कोही पार्वती पाण्डे भनेर श्रम गर्ने पत्रकार डराउनु पर्ने स्थिति छ । त्यहि डर र त्रासका कारण महासंघमा आज श्रम गर्ने र इमान्दार पत्रकारको खडेरी भएको हो । महासंघ उनैहरुको कब्जामा पुग्दा इमान्दा र मिहिनेती पत्रकारहरुले बषौँ भयो महासंघभित्र के हुन्छ अनुभूति गर्न सकेका छैनन् ।

पत्रकार साथीहरु,
यी माथिका नामहरुले तपाइहरुको हक हितमा मज्जाले काम गरे भन्ने आँकडा मेरो स्मरणमा छैन । माथि पावर होला, यी नामहरुको महासंघको भवनसवन बनाउन काम गरे होलान् त्यसमा धन्यबाद दिन चाहान्छु तर विसुद्ध पत्रकारको हित गरेको देखिन्न । अन्यायमा परेका पत्रकारमाथि न्याय गरेको देखिएको छैन । यसको उदाहरण म र अरु साथीहरु छन् ।
मिडिया हाउसका मालिक धनी बन्दा काम गरेर विहान साँझ दुख्ख गर्ने पत्रकार दिप्रतिदिन गरिब बनेको कुनै हेक्का राख्न सकेनन् अहिलेसम्मका नेतृत्वले ।

श्रमजिवी पत्रकारले कति तलबमा काम गर्दछन्, के खान्छन्, दुख पीर र समस्या के छ ? एकछिन भए पनि ती पीडामा परेका पत्रकारसंग छलफल गर्न एक सेकेण्ड पनि हाम्रा नेताहरुमा समय रहेन भन्दा तितो नमान्नु होला । तपाइहरु आफू बन्नु भयो तर मिडिया र त्यहाँ काम गर्नेहरुलाई भीख माग्ने बनाउनु भयो । यदि पत्रकारको हित सोच्नु भएको छ भने आफ्नो गोजीभित्र अटाएकाहरुको बारेमा मात्रै सोच्नुभएको छ । आम श्रमजिवीहरु तपाईको प्रिय कहिल्यै बन्दैनन् । यो वडो दुखको कुरा हो । तसर्थ अब उनैहरुको कब्जा र उनैहरुको बोलबालले महासंघको नेतृत्व बन्नु पर्दछ भन्ने पक्षमा म छैन ।

साथीहरु हामी पनि कति विचरा र सोझा, उनीहरुको जाल र पासोमा परिहाल्नु, र फसिहाल्नु पर्ने । किन डराइरहेका छौँ हामी ती चित्रसंग ? के हामी नीरिह लाचार र कुनै क्षमता नभएका प्राणी भइसक्यौँ । यदि त्यस्तो भएका हौँ भने पत्रकारिता छोडौँ र अरु पेशा अपनाआ, मेरो भन्नु केहि छैन । अरुको दास बनेर संस्था बनदाम गराउने त्यो प्रवृत्तिले संस्थाको मान, इमान र गरिमा दिनप्रतिदिन खुइलिरहेको छ । यसकारण अब माथि दलिय र दास मानसिकताबाट माथि उठ्नै पर्ने स्थिति छ ।

अहिलेसम्म हामी बहुत प्रयोग भइसक्यौँ । हामीलाई नांगै बनाउन आँटिसके । तर पनि चेत छैन । तालिमसालिम भनेर दारु पानी भत्ता खुवाएकैमा छक्क परेर नबसौँ । स्वार्थ लिनेसंग अब सतर्क रहनुपर्दछ । तपाईको जीवन चलाउने तपाई नै हो, आफ्नो जिन्दगीको मालिक आफू नबनेर तपाईको जिन्दगी चलाउने चालक अरु पर्यो र स्टेरिंग घुमाउन थाल्यो भने निश्चित रुपमा खाडलमा जाक्छ, सतर्क रहनुस् । रेडियोको सबालमा हामी एकजुट भएर जानुपर्दछ ।

महासंघमा यसअघि विसुद्ध श्रमजिवी पत्रकार चाहिएको थियो । किरण दाइ भएर खुसी लागेको पनि थियो । तर पछि उहाँ श्रामजिवीको पक्षमा लाग्न नसक्नू भएकै हो । नेतृत्व आफूभित्रको सुविचारले चल्नुपर्दछ । यहाँ चलाइन्छ । मलाई लाग्दछ किरण दाई पनि चलाइनु भएकै कारण यस्तो भयो । महासंमा अध्यक्षको खोल ओढेर मञ्चीय अवसर लिने, मायाको चिनो लिने र आफ्नो सिभी यस्तो भयो भनेर लेख्ने हेतुले केहि पत्रकार फेरि पनि लागिरहेका छन् । जसको क्षमता हामीले देखिसक्यौँ, नापी सक्यौँ ।

पदाधिकारीमा रहँदा सिमित वर्गको पिछलग्गु बनेर संस्थालाई कमजोर बनाउने कोको हुन् हामी पत्रकारले जानि बुझिसकेका छौँ । द्धिजिब्री बिभिन्न नियुक्ति खाइरहेका, एनजिओ आइएनजिओका रैथाने अब महासंघलाई चाहिएको छैन । त्यसैले नेतृत्वमा र्याल नकाढ्दा हुन्छ । अरुको आशिर्वाद लिएर भोटको बाक्सा थाप्न खोज्नेलाई पनि सायद पत्रकारले चिनेको हुनुपर्दछ । यहाँ दलको कोटा होइन मिडियाबाट कोटा छुट्याएर हरेक मिडिया (रेडियो, टिभी, अनलाइन, पत्रिका) लाई सम्बेधन गर्ने, संघ, प्रदेश र पालिकासंग आफू र आफू मातहतको कुरा लिएर होइन मिडिया हाउस र त्यहाँ कार्यरत पत्रकारको हक अधिकारको कुरा लिएर बिभिन्न सहयोगी संस्थासंग पुग्ने नेतृत्व चाहिएको छ ।

त्यसको लागि अहिले चर्चामा रहेका चाहे पार्वती पाण्डे, जानु पाण्डे, हरि अधिकारी तिनै जनालाई नेतृत्वको उययुक्त उम्मेदवार देख्दिनँ । बरु श्रमजिबीको हिसाबले खग प्रसाद चापागाईप्रति थोरधेर भरोसा छ । किनकि उहाँ काम गर्ने विसुद्ध पत्रकार हो । उहाँमा नेतृत्व गर्ने क्षमता विकास गर्नुपर्ने हुन सक्छ । त्यो सुधार हुन विषय हो तर अरु नामहरुले न आफूलाई सुधार्न सक्दछन् न पत्रकारिताको मर्म बुझ्न सक्दछन् । उनीहरु केवल अध्यक्ष पद भजाउने र त्यसबाट मनग्यै फाइदा लिने कोटीमा पर्दछन् ।

त्यसकारण अब अरु पत्रकार साथीहरु पनि चर्चामा आउनुहोस् । हामीलाई कुनै ठुलो र चलेका नाम होइन इमान्दार नेतृत्व चाहिएको छ । ब्यक्ति इमान्दार भयो भने सके राम्रो नै गर्न सक्दछ नभए पनि बिगार भने गर्दैन भन्नेमा विश्वस्त छु । द्धिजिब्री र जता पनि ठिक्क पारेर दुनो सोझाइरहेकाहरुलाई नेतृत्वमा आउँछु भनेर भन्न पनि लाज लाग्नु पर्ने हो, तर यहाँ भनिरहेका छन् । त्यस्तो कुचेस्टा नगर्नुहोला किनकि अब पत्रकार जान्ने भइसके ।

महासंघको विधानले के भन्छ ? विधानअनुसार सबैले आँट गर्नुपर्दछ । नेतृत्व र महत्वपूर्ण पदमा पुग्न यहाँ सजिलो छैन, पाए मागेर नपाए लडेर लिनुपर्दछ । अब सल्लाह गरेर सामुहिक निर्णयमा खुट्टा नकमाइकन अघि बढौँ साथीहरु । यसमा मेरो पनि हिम्मत हुने छ भने साथीहरुको पनि हिम्मत हुनेछ ।

र अन्तिममा महासंघलाई यो स्थानसम्म ल्याउने अग्रजहरुप्रति कृतज्ञ छु । अब पत्रकारलाई स्वतन्त्र छाडिदिनुहोला । अब महासंघलाई कब्जामा लिन पत्रकारलाई पनि कब्जामा लिने खेलबाट मुक्त हुनुहोला । दलिय सिण्डिकेटको पासो थापेर चुनावमा श्रमजिवी पत्रकारमाथि डर, त्रासको वातावरण सिर्जना नगरिदिनुहोला ।

यदि हाम्रा अज्रजहरुबाट त्यो धाक र धम्की आएछ भने पनि मुलुकको चौथो अंगको पगरी गुथेका हामी आफै निर्णय लिनुपर्दछ । यदि त्यहि त्रासमा बाँच्यौँ भने हामी हामी जिवित लास शिवाय केहि हुने छैनौँ र जीवनमा यहि प्रवृत्तिका कारण धेरै कुराहरु गुमाउनेछौँ ।

धन्यबाद !