मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भत्ता कार्ड नविकरण गर्न लौरो टेकेर वडा धाउनु पर्ने ‘सास्ती’ बाणगंगामा

भत्ता कार्ड नविकरण गर्न लौरो टेकेर वडा धाउनु पर्ने ‘सास्ती’ बाणगंगामा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । दिपायलको सिलगढी नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष राजेन्द्रबहादुर खड्काले आफ्नो गाउँपालिकाका वृद्धवृद्धाहरुलाई घरमै पुगेर बृद्धभत्ता दिन्छन् । वृद्धवृद्धा मात्र होइन एकल महिलाको पनि भत्ता घरमै पुगेर वितरण गर्दछन् खड्काले । त्यसअघि भत्ता कार्डको नविकरण पनि खड्काले घरमै गएर गरिदिन्छन् ।

पाल्पाको माथागढी गाउँपालिकाले दुर्गम वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गर्दछ ।
हेटौंडाको मकवानपुरको विकट कैलाश गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता आजभोलि घरदैलोमा पुगेर वितरण गर्दछ ।
भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले पनि अशक्त वृद्धलाई घरमै पुगेर भत्ता वितरण थालेपछि त्यहाँका अशक्त वृद्धवृद्धालाई राहत भएको छ ।

मुलकका ७५३ पालिकाहरुमध्ये धेरै पालिकामा यस्तो सुविधा छ । तर मुलुकभरकै सवृद्ध नगरपालिका दावी गरिएको कपिलवस्तुको बाणगंगा नगरपालिकाका वयोवृद्ध आमाबुबा अझै पनि सकिनसकी लौरो टेकेर वडामै धाएर सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गर्नुपर्ने बाध्यतामा छन् ।

कतिसम्म भन्ने १०४ र त्यो भन्दा माथिका अति वृद्धवृद्धा वडामा नपुगिकन वृद्धभत्ता खान पाउँदैनन् । घरमै आएर वृद्धभत्ता दिनु त कता हो कता नविकरणसमेत घरमा हुँदैन । यसो भएपछि मिनी सिहदरबारको अनुभूति नपाएको उनीहरुको गुनासो छ । यस्तो अवस्थाकाबीच जनप्रतिनिधि भने कार्यालयमा बोलाएरै वृद्धवृद्धाको भत्ता कार्ड नविकरण गरिदिएकोमै खुसीले गद्गद् छन् ।

केहि दिनअघि ४ नम्बर वडाको झुँगा गाउँकी १०४ बर्षीया पिम कुमारी मल्लले गजेहडास्थित वडा कार्यालयको भवनमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण गरेकी थिइन् । तर यो विषयलाई वडाअध्यक्ष छविलाल रेश्मी मगरले प्रचार नै गरे । जब कि ती वृद्धाको घरमै पुगेर कार्ड नविकरण गरिदिनु पर्ने र भत्ता पनि घरमा नै वितरण गरिदिनुपदर्ने थियो वडा अध्यक्ष रेश्मीले । उनले ती मल्ल आमासंग फोटो खिचाएर समेत नविकरण गरेको प्रचार गरेका थिए ।

मल्ल जस्तै उमेर सय नाघेकी खन्तरी रेग्मीले पनि लौरो टेकेर वडामा गएर भत्ता कार्ड नविकरण गरेकी थिइन् ।
रेग्मी र मल्ल जस्ता वयोवृद्धवृद्धाको संख्या धेरै छ, बाणगंगामा तर उनीहरुको दुख भने नगरपालिका र सम्बन्धित वडाले अझैसम्म बुझ्न सकेका छैनन् । हरेक बर्ष नगरका ११ वटै वडामा यसरी ती ज्यृष्ठ नागरिककले दुख पाइरहेका छन् ।

बाणगंगाको यो दुख अब हट्नु पर्ने सरोकारवाला बताउँछन् । उनीहरु भन्छन्, ‘उमेरले ८५ ८० र त्यो भन्दा माथिका हरेक नागरिकलाई घरघरमै गएर वृद्धभत्ता दिने र नविकरण पनि घरमै गएर गरिँदिदा राम्रो हुने थियो तर हाम्रो पालिका र जनप्रतिनिधिले यसबारे अझै सोच्न भ्याएका छैनन् ।’

यत्ति मात्र होइन अशक्त, अपांगता भएका, एकल महिलाको बारेमा पनि नगरले यस खालको सुविधा उपलब्ध गराएमा धेरै राम्रो हुने उनीहरुको भनाई छ ।

ज्येष्ठ नागरिकको हक अधिकारको लागि काम गरिरहेका ४ नम्बर वडाका रामु पौडेलले भने, ‘अहिलेको २१ औँ शताब्दिमा मुलुकका कतिपय वडाले भत्ता कार्ड नविकरण गर्ने मात्रै होइन घरघरमै पुगेर वृद्ध भत्ता उपलब्ध गराउँछन् तर हाम्रा जनप्रतिनिधिले यसो गर्न सक्दैनन् । सबै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरमै पुगेर नविकरण गर्नुपर्दछ सकिएन भने पनि ९० बर्षमाथिका सबै वृद्धवृद्धाको भत्ता कार्ड घरघरमै पुगेर नविकरण गर्नपर्दछ । भत्ता पनि घरमै गएर दिनुपर्दछ भन्ने हाम्रो माग छ ।’

अहिले धेरै बुबाआमाका छोराछोरी साथमा नभएकाले वडासम्म धाउने मान्छे पनि नभएको पौडेलको भनाई छ । उनले थपे ‘छोराछोरी र नातिनातिना हुने घरका आमाबुबलाई समस्या नहोला तर घर कोहि पनि नभएका आमाबुबालाई वडामा पुग्न, कागजपत्र मिलाउन पनि समस्या छ । स्वास्थ्य पनि ठिक छैन कतिपयको । भत्ता लिन बैंकमा जाने स्थिति पनि छैन । यस्तो अवस्थामा उहाँहरुलाई भत्ता समेत दिने गरी ब्यवस्था गर्नुपर्दछ ।’

यता नगरपालिकाले यसबारे अझै सोचेको छैन । नगरप्रवक्ता विष्णु पौडेलले यसबारे नगरले विचार गरिरहेको अपिटाइम्सलाई बताए । उनले भने, ‘सबै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण घरमै गएर गर्न नसके पनि अति वृद्धको बारेमा नगरमा छलफल भएको छ । आगामी दिनमा धेरै उमेर पुगेका ज्येष्ठ आमाबुबाको भत्ता कार्ड नविकरण घरमै गएर हुनेछ । यसको कार्यविधि अझै बनेको छैन । अब यसबारे छलफल गर्दछौँ । कार्यपालिकामा पनि कुरा उठेको छ । भत्ता घरमै गएर बाँड्न सकिन्छ भन्ने प्रश्नमा उनले थपे भत्ताको लागि बैंकको झण्झट छ । भत्ता नसके पनि कार्ड नविकरण घरमै गएर गर्नुपर्दछ । हजुरले उठाएको कुरा राम्रो हो ।’ यसका साथै अशक्त र अपांगता भएकाहरुको बारेमा पनि नगरले सहज हुनेगरी काम गर्ने उनले बताए ।

अघिल्लो बर्ष वडामा टोल विकास समिति मार्फत् पनि पायक पर्ने स्थानमा सामाजिक सुरक्षा भत्ता कार्ड बाँड्ने ब्यवस्था नगरले गरेको थियो । तर पनि त्यहाँ टोलसमितिका मान्छेले आफ्ना मान्छेको काम छिटोछिटो गरेर दिनै भरी कुराउने गरेको पनि जनगुनासो आएको थियो ।

वृद्धवृद्धालाई एउटा चोकमा बोलाएर भतेर खुवाएर, हर्लेक्स र मह बाँडेर, सिरक कम्बल दिएर आफूहरुको सम्मान नहुने स्वयम् ज्येष्ठ नागरिकहरु बताउँछन् ।

भत्ता कार्ड नविकरण गर्न वडा कार्यालय गजेहडा पुगेकी झुँगा गाउँकी १०४ बर्षीया पिम कुमारी मल्ल