मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको राजदूत, आफू र पूरै परिवार भारतीय नागरिक

नेपालको राजदूत, आफू र पूरै परिवार भारतीय नागरिक

अपि टाइम्स

काठमाडौँ । पूर्व सरकारद्वारा साउदी अरबका लागि नेपाली राजदूत बनाउन सिफारिस गरिएका अबु सुफयानसहित उनको पूरै परिवार भारतीय नागरिक रहेको भेटिएको छ ।

उनका पिता अबु बकर, आमा अमिना सहित दाजुभाइको आधारकार्ड प्रमाणपत्र र भारतीय मतदाता प्रमाणपत्र पनि फेला परेको छ । काठमाण्डौको सामाखुशीस्थित विवादास्पद म्यानपावर एजेन्सी इसान ओभरसिजको सञ्चालक रहेका सुफयान जसपा नेपालका महासचिव इस्तियाक राइनको दबाबमा राजदूतमा सिफारिश भएलगत्तै उनी भारतीय नागरिक रहेको भन्दै राष्ट्रिय सर्तकता केन्द्रमा असार १६ गते सप्रमाण उजुरी परेको थियो ।

सतर्कता केन्द्रले असार २३ गते गृह मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएलगत्तै गृहले कपिलवस्तु प्रशासनलाई कारबाहीका लागि पत्र पठाएको छ । अबु सुफयानसहित परिवारको ठेगाना भारत उत्तर प्रदेश, जिल्ला सिद्धार्थनगर बर्डपुर–२, मौजा भैसाही रहेको भारतीय सरकारी कागजातले प्रष्ट देखाउँछ । भारतीय विशिष्ट पहिचान प्राधिकरणले जारी गरेको आधारकार्डसमेत उजुरीमा सामेल छ ।

जसमा उनको आधार–कार्ड नम्बर २७२२०२ उल्लेख छ । बाजेको नाम महमुद,बाबुको नाम अबुबकर, आमाको नाम अमिना,श्रीमती नूरजहाँको नाम भारतीय राशनकार्ड,भोटरआइडी कार्डमा प्रष्ट छ भने त्यही नाम र विवरणको नेपाली नागरिकता जारी भएको देखिन्छ । तीन पुस्ते नामावली तथा श्रीमतीको नामसमेत ठ्याक्कै मिल्ने दुबै देशको कागजातले विवादित म्यानपावर मालिक अबु सुफयान दोहोरो नागरिकताधारी भएको प्रष्ट छ । नेपाली नागरिकता नै शंकास्पद अबु सुफयानसहित तीन पुस्तेको नागरिकता नै शंकाको घेरामा देखिएको छ । मामा नाता पर्ने तत्कालीन पतरिया गाविस अध्यक्ष मोजिब खाँनले २०५६ कार्तिक ७ गते सुफियान र उनका बाबु अबुबकर दुबैको नागरिकता सिफारिस गरेका थिए । बाबुको नागरिकता नबन्दै छोराको नागरिकता सिफारिसमा बाबुको नाम राखेर सिफारिस गरिएको देखिन्छ ।

सुफयान र उनका बाबु अबुबकरले प्राप्त गरेको नागरिकताका कतिपय प्रक्रिया शंकास्पद रहेको र त्यसबारे अनुसन्धान जारी रहेको प्रजिअ अर्यालले जानकारी दिए ।

तत्कालीन प्रशासकहरुले शंकास्पद सिफारिस भन्दै अबुबकरको प्रहरी सर्जमिन मुचुल्का बनाएर मात्र कार्तिक १७ गते नागरिकता दिएका थिए भने १८ गते छोरा भन्दै सुफियानको नागरिकता बनाइएको थियो । सुफियानको नागरिकता अभिलेख विवरणमा आवश्यक पर्ने कागजातहरु समेत देखिँदैन । सुफियान र अबुबकर बाबुछोरा खुल्ने कुनै प्रमाण समेत देखिँदैन । उनको शैक्षिक प्रमाणपत्र, जन्मदर्ता केही छैन तर नागरिकता बनेको छ । झुठो विवरण पेश गरी नागरिकता बनाएको आरोप समेत उजुरीकर्ताहरुले लगाएका छन् ।

सुफयानका बाबु महमुद मुसलमानको नागरिकतासमेत २०४३ पुस १५ गते टोलीमा बनेको र उनको अभिलेख प्रष्ट नभएको कर्मचारी स्रोतको भनाई छ । गाविसले गरेको नागरिकता सिफारिसमा सुफियानको उमेर ४० वर्ष उल्लेख छ तर उनले १९ वर्षको उमेरमा नागरिकता पाएको देखिन्छ । अबु सुफयानले केही संशोधन गरी २०६२ भदौ २५ गते पहिलो प्रतिलिपी लिएका थिए भने २०६७ साउन ३० मा समेत केही संशोधन गरी दोस्रो प्रतिलिपी निकालेको प्रशासन स्रोतको दाबी छ । ‘पहिलो र दोस्रो प्रतिलिपी मात्रै होइन शुरुमै नागरिकता लिँदासमेत आवश्यक पर्याप्त कागजात देखिएन’ एक कर्मचारीले भने । छानबिन रोक्न दौडधुपः प्रशासन स्रोतका अनुसार नागरिकता छानबिन प्रक्रिया अघि नबढाउन अबु सुफयानको दौडधुप बढेको छ भने गृह मन्त्रालयबाट समेत छानबिन रोक्न दबाब आएको बताइन्छ ।

प्रशासनले नियन्त्रणमा लिएको नागरिकता गृह मन्त्रालयले फिर्ता दिन तथा राहदानीसमेत जफत नगर्न दबाब दिएको स्रोतको दाबी छ । अबु सुफयानले एक साताअघि २ पटक प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई नागरिकता फिर्ता माग्न भेटेका थिए, तर प्रक्रिया नसकिँदासम्म दिन नमिल्ने भनेपछि रित्तो हात फर्किएका हुन् । आइतबार उनी नेपाली राहदानी प्रयोग गरी साउदी अरब गएको बताइन्छ । शैक्षिक प्रमाणपत्र समेत शंकास्पदः अबु सुफयानले राजदूत सिफारिसका क्रममा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पनि शंकास्पद छ ।

दिल्लीस्थित मदरसा रियाजुल उलमबाट १९ वर्षको उमेरमा स्नातक तथा त्यसको एक वर्षपछि स्नातकोत्तर ९मास्टर डिग्री० पासको प्रमाणपत्र छ । जनवरी १९९९ मा स्नातक सुफयानको २२ वर्षपछि मात्र शैक्षिक प्रमाणपत्र जारी भएको देखिन्छ । इस्लामिक प्राध्यापकहरुका अनुसार स्नातक तथा मास्टरको इस्लामिक शैक्षिक अवधी पनि अन्य प्रमाणपत्र सरह हुन्छ । नागरिकता नियन्त्रणमा, राहदानी बुझाएनन् अबु सुफयानले प्रयोग गर्दै आएको दोस्रो प्रतिलिपी सक्कल नागरिकता प्रशासन कार्यालयमा बुझाएका छन् । उनले नागरिकता छानबिनका क्रममा दुई पटकसम्म प्रशासन कार्यालयमा पेशी लिएका हुन् । तर राहदानी भने बुझाएका छैनन् ।

साउदी लगायतका अरब मुलुकमा म्यानपावर कम्पनी तथा विभिन्न ह्युमन रिर्सोसेज सप्लाइ कम्पनी चलाएका सुफयानले उजुरी यता दुई पटक विदेश भ्रमण गरिसकेका छन् । राहदानी परराष्ट्र मन्त्रालयले छानबिन गरी नियन्त्रण गर्न सक्ने भएकाले उनीसँग राहदानी नमागिएको प्रजिअ विश्वप्रकाश अर्याल बताउँछन् । सुफयान र उनका बाबु अबुबकरले प्राप्त गरेको नागरिकताका कतिपय प्रक्रिया शंकास्पद रहेको र त्यसबारे अनुसन्धान जारी रहेको प्रजिअ अर्यालले जानकारी दिए ।जन आश्थाबाट साभार