कपिलवस्तु । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देही, चन्द्रौटा, कपिलवस्तुमा सातौं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका आईजीपी अर्यालले सीमा क्षेत्रमा प्रहरी बलले प्रभावकारी रूपमा निगरानी गर्दै आएको र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील रहेको स्पष्ट पारे ।
आईजीपी अर्यालले भने, “सशस्त्र प्रहरी बलले चौकिदारको भूमिकामा रहेर सीमा क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण, र राजस्व चुहावट रोक्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ, राज्यले दिएको अधिकारको भरपुर उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्चित गराउन हामी प्रतिबद्ध छौं ।” अर्यालले सशस्त्र प्रहरी बलले आपतबिपद्का बेला नागरिकको भरोसा बन्दै सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताए ।
यस्तै, उनले थपे, सशस्त्र प्रहरी आपत विपतमा परेका नागरिकको भरोसा बन्नुपर्छ। हामीले सीमा क्षेत्रमा प्रभावकारी निगरानी गर्दै आएका छौं र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील छौं ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ अभिकुमार खत्रीले प्रदेशभित्र सशस्त्र प्रहरी बलले गरेका कामहरू र तिनका उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गरे । उनले सशस्त्र प्रहरीको भूमिकाले राज्यको सुरक्षा प्रणालीलाई सुदृढ बनाएको र यसले नागरिकहरूको विश्वास जित्न सफल भएको उल्लेख गरे ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सशस्त्र प्रहरी बलले पालिकाहरूलाई समन्वयमा ल्याएर शान्ति सुरक्षामा अतुलनीय योगदान गरेको बताए । उनले भने, “सशस्त्र प्रहरी बल नेपाली नागरिकहरूको शान्ति सुरक्षामा अब्बल छ । स्थानीय तहसँगको सहकार्यले सुरक्षाको प्रत्याभूति मात्र होइन, राज्यसत्ता र नागरिकबीचको सम्बन्धलाई पनि बलियो बनाएको छ ।”
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सशस्त्र प्रहरी बलको स्थापना पश्चात् द्वन्द्व नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन र आपराधिक गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
सातौं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा टप्पा, देउडा र मारुनी लगायतका नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, र सुरक्षासँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । विभिन्न विधाका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया