मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झोँकी शाहीसंग नम्र अर्यालको भीडन्त, कसको कित्ता बलियो ?

झोँकी शाहीसंग नम्र अर्यालको भीडन्त, कसको कित्ता बलियो ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

नेकपा एमाले बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन सुरु भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा जारीअधिवेशनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बन्द सत्रको उद्घाटन गरेपछि अधिवेशनको उद्घाटन भएको छ । उद्घाटन सत्रपछि बन्द सत्र चलिरहेको छ । बन्द सत्रमा बिभिन्न प्रतिवेदन प्रस्तुतिपछि अहिलेको युवराज पोख्रेल अध्यक्ष रहेको कमिटी विघटन भएर निर्वाचन मण्डल गठन हुने छ र चुनावी प्रकृया सुरु हुने छ । अधिवेशनमा २ सय ११ प्रतिनिधिहरू सहभागी छन् ।

नगर कमिटीमा उपसचिव बाहेक सबै जिल्ला कमिटीमा निर्वाचित भइसकेका हुनाले यसपटक नयाँले नगरको जिम्मेवारी पाउने निश्चित छ । तर कसले अध्यक्ष पदमा बाजी मार्छ ? सर्वसम्मत या चुनाव के हन्छ ? त्यसै भन्न सकिने अवस्था छैन । अहिलेसम्म अध्यक्षको चर्चामा ४ जनाको नाम चर्चामा छ ।

माओबादीबाट एमालेमा प्रवेश गरेका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल, शिक्षकको जागिरे भएर पेन्सनधारी भएका गजेहडाका मदन शाही, मनकामना सामुदायिक वनमा अध्यक्ष भइसकेका राजपुरका अमित पौडेल र पाका नेता चेत नारायण भण्डारीले अध्यक्षमा दावी गरिरहेका छन् ।

तर अधिवेशनको पहिलो दिनले भने पौडेल र आचार्य केवल चर्चाको लागि मात्र जस्तो देखिएका छन् । उनीहरु अध्यक्षको दौडमा कम रहेको देखियो भने शाही र अर्याल भने डटेर लागेका छन् । सम्भवतहः भोलि मनोनयनसम्म आचार्य र पौडेलले अध्यक्ष पदमा मनोनयन गर्ने छैनन् चुनाव भइहाले अध्यक्षमा शाही र अर्यालको मनोनयन हुने पक्का छ । चुनाव नै हुने भए पछि अध्यक्ष पदमा मात्र चुनाव हुन्छ या अरु पदमा पनि चुनाव हुने हो त्यो भने पक्का छैन ।

अध्यक्ष पदमा सहमति टरेर ९० प्रतिशत चुनावी माहौल बनिरहेको बेला १० प्रतिशत सहमतिको लागि शुक्रबार रातभर गृहकार्य हुने छ । उसो त अधिवेशनको खुला सत्रमा पनि भूमि सुधार मन्त्री बलराम अधिकारी र जिल्ला इन्चार्ज गिरीधारीलाल न्यौपानेले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । अब रातभर सहमतिको प्रयास विफल भए चुनावबाट बाणगंगा नगर कमिटिमा आगामि ३ बर्षे कार्यकालको लागि नेतृत्व चयन हुनेछ । त्यसमा मदन शाही र सोमनाथ अर्यालमध्ये एक जनाले बाजी मार्नेछन् ।

मन्त्री अधिकारी सहित शुक्रबार राति सहमतिको अन्तिम प्रयासमा नेताहरु

पोख्रलप्रति शाहीको भरोसा

वडा नम्बर ४ गजेहडा निवासी मदन शाही भर्खर शिक्षण पेशाबाट अवकास प्राप्त नेता हुन् । उनी विगत लामो समयदेखि पार्टीमा संगठित छन् ।

शिक्षण पेशामा आवद्ध हुँदा होओस् या अन्य समयमा पनि शाहीको स्वभाव आक्रामक र झोँकी खालको छ । उनको यहि स्वभावका कारण स्कुले जीवनमा पनि विद्यार्थीहरु डरले थुरथुर हुन्थे ।

उमेरले ६० बर्षमा लागे पनि शाही युवामाझ भने लोकप्रिय नै मानिन्छन् । ब्याडमिन्टन लगायतका खेलमा रुची भएका कारण पनि उनलाई युवाको साथ रहेको देखिन्छ । तर कतिपय युवा जमात भने शाहीको यहि स्वभावका कारण विच्किएको इतिहास पनि छ ।
अंग्रेजी विषययका शिक्षकसमेत रहेका शाही पढे लेखेका ब्यक्तिका रुपमा चिनिन्छन् भने परिवार पनि एमालेमै सक्रिय छ ।
अहिले ठुला भनिने नेता कोकोसंग खुले भन्ने ठ्याक्कै देखिन्न । तर अपिटाइमसले प्राप्त गरेको समाचार श्रोत अनुसार पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतका नेताहरु शाही पक्षमा अप्रत्यक्ष रुपमा लागेका छन् । अर्थात् पोख्रेल लगायतको एउटा समुह शाहीतिर झुकाव राखेको स्थिति देखिन्छ ।

जिल्लाको नेतृत्वमा बाबुराम खनाललाई जिताउँदा गेम चेञ्जर मानिएका पोख्रेल लगायतको खेमाले आफूलाई साथ दिने लक्षण देखेपछि शाही चुनाव भए पनि जित्नेमा ढुक्क देखिन्छन् । सहमतिको प्रयास भए पनि पोख्रेल लगायतका नेताले शाहीको पक्षमा बातावरण बनाउन सक्ने एक जिम्मेवार नेता र प्रतिनिधिले अपिटाइम्सलाई बताए ।

शाही त्यति निर्विबादित पात्र भने होइनन् । आक्राम र झोँकी स्वभावकै कारण शाही कहिलेकाही विवादमा तानिने गरेको इतिहास पनि छ । जे भए पनि पार्टीमा सुरुदेखि लागि परेको हुनाले शाहीलाई नै अध्यक्ष बनाउँदा राम्रो हुने पार्टीमा कटिवद्ध नेता कार्यकर्ता बताउँछन् ।

तर कतिपयले नेता र प्रतिनिधिले भने शाही शिक्षण पेशाबाट भर्खर निवृत्त भएकाले पार्टीमा योगदान दिएर अहोरात्र खट्ने ब्यक्तिलाई जिताउनु पर्ने बताउँछन् । एउटै ब्यक्तिले पटकपटक लाभ लिनु ठिक नुहुने एक नेताले अपिटाइम्सलाई बताए ।

शाहीले चुनाव भए आफूले सजिलै जित्ने दावी गर्दछन् । लामो समय एमालेमा रहेको र आफूले अधिकांस युवाको भावना बुझेको हुनाले यसपटक मतदाताले आफूलाई छान्ने शाहीले बताए ।
अर्याललाई कसको साथ ?
वडा नम्बर ११ ओदारी निवासी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका वडा नम्बर ११ मा वडा अध्यक्ष बनिसकेका सोमनाथ अर्याल वैदेशिक रोजगारीको क्रममा कोरिया पुगी फर्केर सक्रिय राजनीति गरेका ब्यक्ति हुन् । राजनीति र समाज बुझेका नेताको छवि बनाएका अर्याल सरल, शालिन र नम्र ब्यक्तिका रुपमा चिनिन्छन् । वडा अध्यक्ष भएर पनि उनी कहिल्यै विवादमा तानिएनन् । उनको त्यतिधेरै आलोचना गर्ने ठाउँ छैन तर माओवादीबाट लाभ लिएपछि स्वार्थको लागि एमालेमा प्रवेश गरेको भनेर कतिपय अवस्थामा स्वार्थी नेता भनेर पनि आलोचना हुने गर्दछ ।

उनको सरल स्वभावका कारण नेता कार्यकर्तामा प्रिय पनि छन् । एमाले बाणगंगामा अहिले अध्यक्ष भएका युवराज पोख्रेलमा रहेको सरलता र सबैलाई मिलाएर लैजान सक्ने क्षमता शाहीमा भन्दा अर्यालमा बढी रहेको नेता कार्यकर्ता बताउँछन् । माओवादीबाट एमालेमा आए पनि अधिकांस एमाले नेताको विश्वास जित्न अर्याल सफल भएको देखिन्छ ।

एमालेमा प्रवेश गर्ने क्रममा अर्याललाई निवर्तमान जिल्ला अध्यक्ष डम्ब्र शर्माले नगरमा जिम्मेवारी दिने आश्वासन बाँडेका कारण शर्मा पक्षलाई अर्यालकै पक्षमा माहौल सिर्जना गर्न बाध्यता छ । त्यसका कारण पनि अर्याल चुनाव या सर्वसम्मत जे भए पनि अध्यक्ष बन्नेमा ढुक्क छन् ।

वडा नम्बर ८ का वडा अयक्ष बाबुराम अर्याल खुलेरै अर्यालको पक्षमा लागेपछि सबैभन्दा धेरै प्रतिनिधि भएको वडाबाट आफूले साथ पाउनेमा अर्याल आशावादी छन् ।

वडा अध्यक्ष अर्याल सोमनाथ तर्फ खुलेकाले राष्टिय सभा उपाध्यक्ष विमला घिमिरे, मन्त्री बलराम अधिकारी, डम्बर शर्मा लगायतको टोली कतै अर्यालतर्फ लविंग गरिरहेका त छैनन् भन्ने अनुमान गर्न सकिन्छ । यदि यी सवै नेताको साथ भएमा अब अर्याल अध्यक्ष बन्ने पक्का जस्तो देखिन्छ ।

अर्याल प्रदेश सांसदद्धय विष्णु पन्थी र गिरीधारीलाल न्यौपानेबाट पनि समर्थन पाउनेमा आशावादी देखिन्छन् । यी दुवै सांसद भने खुलेर लागेका छैनन् । श्रोत अनुसार यी दुवै जना नेता पनि अर्यालतर्फ झुकाव राख्नेमा पर्दछन् । नगरप्रमुख चक्र अर्याल, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल पनि सोमनाथको पक्षमा रहेको आन्तरिक बुझाई छ ।

तर जिल्ला अधिवेशनको त्यो नमिठो भोगाई रहेका कारण नतिजा जे पनि हुन सक्ने नेता कार्यकर्ताहरु बताउँछन् । पार्टीपंतीबाट यस प्रकारको साथ भए तापनि माओवादीबाट आएको हुनाले सोमनाथलाई अध्यक्ष बनाउन नहुने पक्षमा कतिपय प्रतिनिधि छन् । यदि यहि जनमत बलियो हुने र नेताले भित्रभित्रै बाटो मोड्ने हो भने सोमनाथ बलिको बोको हुने निश्चित छ ।

तर प्रतिनिधि भने कसैको पक्ष र विपक्षमा नलागेर राम्रो र इमान्दार मान्छेलाई छनौट गर्ने पक्षमा छन् । अधिवेशन स्थलमा पुगेका एक जना प्रतिनिधिले भने, ‘अब कार्यकर्ता चलाख भइसके, नेताले अनुमान गरेको भन्दा फरक नतिजा आउँछ नगरमा । कुनै गुटको अघि पछि नलागेर प्रतिनिधि बनेका हामीले सबैका कुरा सुने पनि के निर्णया गर्ने जानिसकेका छौँ । ठुला नेता, साना नेता भन्ने यहाँ केहि हुँदैन ।’

अधिवेशन स्थलमा पुगेका ती प्रतिनिधिले थपे, ‘पार्टीलाई सरल र विनम्र मान्छे पनि चाहिन्छ, आवश्यकता अनुसार कडा प्रवृत्तिको मान्छे पनि चाहिन्छ । सोमनाथ जि अध्यक्ष बनेपछि यहि पाराले चल्दैन र शाहीको पनि यहि प्रवृतितले नगर चल्दैन । आवश्यकता अनुसार कडा र नरम हुन जान्नु पर्दछ नेताले । दुवै जनाले आगामी दिनमा आफूलाई अझै करेक्सन गरेर अघि बढ्नु पर्दछ ।’

अहिलेसम्मको स्थितिलाई तुलना गरेर हेर्दा केहि सुविधामा सोमनाथ देखिन्छन् । चुनाव भएको खण्डमा झिनो मतान्तर हुने नेताहहरुको भनाई छ । अर्यालले पनि चुनाव सजिलै जित्ने बताए । राजनीति, देश, समाज बुझेको र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको हुनाले एमालेका नेता कार्यकर्ताले यसपटक आफूलाई चुन्ने अर्यालको दावी छ ।