मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्राऊ परे एमाले कपिलवस्तु नगर अध्यक्ष श्याम प्रजापति, यस्तो छ कारण

पक्राऊ परे एमाले कपिलवस्तु नगर अध्यक्ष श्याम प्रजापति, यस्तो छ कारण

अपि टाइम्स

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु नगर कमिटीका अध्यक्ष श्याम प्रजापति बैंकिङ्ग कसुरमा पक्राउ परेका छन् । ठगी र चेक अनादरको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शुक्रबार १८ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रजापतिलाई पक्राउ गरेको हो ।

प्रजापतिलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले प्रजापतिलाई पक्राउ गरेपछि अब अनुसन्धान हुने बताए ।
समाचार श्रोत अनुसार यशोधरा गाउँपालिका ५ का ब्यापारी प्रमोद कुमार मिश्राले चेक बाउन्सको मुद्धा दर्ता गरेका थिए ।

श्रोत भन्छ, ‘मिश्रासंग प्रजापतिले हार्डवेयर संचालनका लागि ३० लाख रुपैयाँ ल्याएका थिए ।’ त्यो मध्ये १२ लाख दिइसकेको अवस्थामा अरु रकम दिन बाकी थियो ।

क्रण दिने ब्यक्ति मिश्रा तौलिहवा क्षेत्रमा पूर्वमन्त्री तथा एमाले क्षेत्र नम्बर २ का इन्चार्ज वृजेश कुमार गुप्ता निकट मानिन्छन् ।उनैको उक्साहटमा मिश्राले मुद्धा दर्ता गरेको चर्चा छ ।

एमालेभित्र अहिले ठुलो शक्ति संघर्ष चलिरहेको छ । त्यसैको घानमा प्रजापति परेका हुन् कि भन्ने अनुमान पनि छ । जिल्ला अध्यक्ष बाबुराम खनाल निकट मानिने उनलाई पार्टीभित्रकै केहि ब्यक्तिको योजनामा पक्राउ गरिएको हुन सक्ने बताइन्छ । श्याम प्रजापति कपिलवस्तु बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति र अनेरास्ववियुका पूर्व केन्द्रिय सचिव हुन् ।

जिल्ला अधिवेशनपछि अहिले एमालेमा नगर अधिवेशनको क्रम चलिरहेको छ । अब चाँडै कपिलवस्तु नगर कमिटीको अधिवेशन हुन लागेको छ । अधिवेशनको मुखमा श्याम प्रजापतिलाई उम्मेदवार बन्न नदिन र ब्रिजेश गुप्ता निकट विवादित व्यापारी सञ्जय गुप्तालाई एकलौटी उम्मेदवार बनाएर जिताउनका लागि पनि यो मुद्दा दर्ता गरिएको हुन सक्ने अनुमान छ ।

यस विषयले पार्टी पनि गिजोलिन थालेको बताइन्छ । श्याम प्रजापतिलाई पक्राउ गरेपछि एमाले भित्रकै नेताहरुले नै आरोप प्रत्यारोपको खेती सुरु गरेका छन् । कतिपयले पार्टीको शक्ति केन्द्रको सिकार प्रजापति भएका हुन् कि भन्ने अनुमान पनि छ ।
कतिपय नेताहरुले प्रजापतिलाई कानूनी प्रकृयामा सहयोग गरी निर्दोष सावित गरि सफाइ दिलाउने योजननामा छन् ।

प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ । अनुसन्धानमा दोषी ठहरिए उनीमाथि बैकिंग कसुर अन्तर्गत कारबाही हुने प्रहरीको भनाई छ । प्रजापति दोषी ठहरिए आगामी निर्वाचनमा समेत ठूलो असर पर्ने देखिन्छ। यस घटनाले कपिलवस्तु जिल्लामा ठूलो चर्चा पाएको छ ।