मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरामा इन्सपेक्टर रायमाझीः समग्रमा सफल, लागु औषध नियन्त्रणमा क्रान्ति !

पिपरामा इन्सपेक्टर रायमाझीः समग्रमा सफल, लागु औषध नियन्त्रणमा क्रान्ति !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुका प्रहरी नीरिक्षक गोपालजंग रायमाझीको बुटवल प्रदेश ट्राफिक कार्यालयमा सरुवा भएको छ । नेपाल प्रहरीको नियमित सरुवा अन्तर्गत रायमाझी प्रदेश ट्राफिक कार्यालयमा सरुवा भएका हुन् । केहिदिन अघि सरुवा भएका उनी सोमबार पिपराबाट औपचारिक रुपमा विदा हुँदै छन् ।
जिल्ला प्रहरी कार्यालय तौलिहवामा विहान विदाई भई त्यसपछि पिपरामा हुने विदाई कार्यक्रममा सहभागि भएर उनले यस क्षेत्र छोड्ने छन् । रायमाझीको सरुवापछि काठमाडौँबाट लोकन्द्र जिसी नयाँ प्रहरी नीरिक्षकको रुपमा पिपरामा हाजिर हुनेछन् ।
पिपरामा रहँदासम्म शान्ति सुरक्षा, अमनचयन कायम गर्न र अपराध नियन्त्रण गर्नको लागि प्रहरी नीरिक्षक रायमाझीले उत्कृष्ट ढंगबाट कार्यसम्पदान गरेको विश्लेषण गर्न सकिन्छ । अपराधको जननी मानिने लागु औषध नियन्त्रणमा रायमाझीले क्रान्ति नै गरेका छन् ।

इलाका प्रहरी कार्यालय पिपरामा हाजिर हुँदा धेरै प्रहरी नीरिक्षकहरुले गफ चुट्ने र जाँदा बदनाम हुने गरेकोे विगतलाई रायमाझीले मेट्ने काम गरेको यस क्षेत्रका आम जनता, राजनीतिज्ञ, उद्योगी, ब्यवसायी, पत्रकार लगायत बताउँछन् । रायमाझीले मुख्य रुपमा लागु औषध र यसबाट सिर्जित अपराधमा अनुभूति हुनेगरी कार्य गरेको उनीहरुको भनाई छ ।
पिपरा मातहतमा मुख्यगरी नदीजन्य पदार्थको दोहन, वन पैदवारको तस्करी र लागु औषध नियन्त्रणमा प्राय प्रहरी नीरिक्षकहरुले नतिजा दिनेगरी खासै काम गर्न सकेको देखिदैन भने शान्ति सुरक्षा कायममा पनि खासै भूमिका खेल्न नसकेको विगत छ ।

विगतका कतिपय प्रहरी अधिकृतहरुले बिभिन्न ब्यक्ति र संस्थाबाट अनेक बाहनामा मोटो रकम असुलेको आरोप पनि नखाएका होइनन् । प्रहरी अधिकृतहरुको त्यो इतिहाससंग तुलना गर्दा रायमाझी पूर्ण रुपमा सफल रहेको यहाँका सरोकारवाला बताउँछन् ।
बाणगंगाका राजनीतिक दल, ब्यवसायी र पत्रकारको भनाई छ कि, ‘रायमाझी बदनाम पनि भएनन् । आवेगमा आएर निर्णय पनि गरेनन् । जनतालाई पनि हाँसीहाँसी सेवा दिए । राजनैतिक दलदेखि सरोकारवाला सबैसंग समन्वय र सहकार्य गरेको गरेको देखियो । शान्ति सुरक्षा गतिविधिमा आफै खटिएको देख्यौँ । खोलानालामा पैसा खाएको, ठेकेदार र तस्करहरुको प्रभावमा परेको कुराहरु पनि त्यति सुन्नु परेन । समग्रमा रायमाझी राम्रै काम गरेर विदा भएको देखिन्छ । रायमाझीको समग्र कार्यलाई नियाल्दा सफल नै रहेको रुपमा बुझ्न कञ्जुस्याईँ गर्नु हुँदैन ।’

इलाका मातहतमा शान्ति सुरक्षा कायम गर्न मात्र नरहेर प्रशासनिक कार्यमा पनि रायमाझी अब्बल रहेको प्रहरीहरु बताउँछन् ।
इलाका प्रहरी कार्यलयमा लामो समय काम गरिरहेका एक जना हवल्दारले रायमाझीको कार्यकालमा लागु औषध नियन्त्रण नै भएकामा खुसी ब्यक्त गरे ।

‘रायमाझीमाथि कुनै प्रहरीको गुनासो रहेन । प्रशासनिक काममा पनि अब्बल नै रहनुभयो । प्रहरीको मनोबल बढाउने सबालमा पनि उहाँले राम्रो कार्य गर्नुभएको छ । हामी सबै प्रहरी खुसी नै छौँ’, उनले भने ।
कतिपय विषयमा गर्न खोज्दा पनि परिणाम निकाल्न नसकेको भन्दै समग्रमा यस क्षेत्रबाट साथ र सहयोग पाएकोमा उनले बाणगंगाबासी, स्थानीय सरकार सबैलाई धन्यबाद दिए ।

रायमाझीले जाने क्रममा वडा नम्बर ८ मा भएको एक घटनाले दुखी तुल्याएको बताए । ‘प्रहरी ठिक हुँदाहुँदै पनि केहि आरोप ब्यहोर्नुपर्यो । यसबाट दुखि छु । त्योबाहेक अरु सबै काममा साथ र जनताको माया पाएँ । कतिपय काम चाहेर पनि गर्न सकिनँ । लागु औषधका विषयमा कडा र निर्मम भएर काम गरेँ । चाहेर पनि केहि काम गर्न सकिएन । समग्रमा यहाँको कार्यकाल राम्रो भएको छ, सबैलाई धेरै धेरै धन्यबाद छ’, प्रहरी नीरिक्षक रायमाझीले थपे ।
धेरै जनतासंग राम्रो सम्बन्ध रहेकाले प्रदेश ट्राफिक कार्यालयबाट पनि कुनै पनि सहयोग गर्न आफू तयार रहेको उनले अपिटाइम्समार्फत् बताएका छन् ।

सम्भव भएसम्म विदाई कार्यक्रमको बेला पत्रकार सम्मेलन गरी आफ्ना उपलब्धि सार्वजनिक गर्ने उनको भनाई छ । लागु औषध नियन्त्रणमा भएको ठुलो उपलब्धिको डाटा नै दिएर जाने उनले बताए । उनले यस कार्यमा इतिहासकै राम्रो कार्य भएको दावी गरे । विदा हुने क्रममा रायमाझीले उपलब्धि सार्वजनिक गरे भने उनले नयाँ कार्यको थालनी गरेर जानेछन् ।

अहिलेसम्म यहाँ आएका अरु प्रहरी अधिकृतहरुले आफ्नो कामको विवरण सार्वजनिक गर्न सकेको देखिदैन । पिपरामा गरेको कार्यको कार्यसम्पदान मुल्यांकनमा पनि उत्कृष्ट ठहरिएर उनले बिभिन्न पुरस्कार पनि पाएका थिए ।