मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छहरे घटनाः आशिष भन्छन् ‘मलाई माछाले बचाए’ साथीले उमेशलाई भनेका थिए ‘डेञ्जर छ नजा’

छहरे घटनाः आशिष भन्छन् ‘मलाई माछाले बचाए’ साथीले उमेशलाई भनेका थिए ‘डेञ्जर छ नजा’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको लागि गत भाद्र १८ गते एउटा कालो दिन नै भयो । किनकि त्यो दिन नगरका २ जना कलकलाउँदा र होनहार युवा एकै समयमा सदाको लागि अस्ताए ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ सिमलपानीस्थित छहरे खोलामा रमाउनका लागि पुगेका बाणगंगा वडा नम्बर २ राजपुरका २९ बर्षिय उमेश पौडेल र २२ बर्षिय किशोर रास्कोटी फर्केर घर आउन पाएनन् । तर उनीहरुसंगै रमाउन गएका अमृत बेलबासे र आशिष घिमिरे ने भभाग्यले बाँच्न सफल भए । मृतक दुवैजनाको लक्ष्मणघाटमा एकैपटक अन्त्येष्टि भएको थियो ।

यहि घटनालाई लिएर बाहिर हुने/नहुने कुराहरु आए । बिभिन्न भ्रम पनि छरिए । मिडियाले पनि भ्रम बाँडे । कतिपयले छहरे खोलाले २ युवालाई बगायो भन्ने लेखे, कतिपयले पौडी खेल्न नजानेर डुबेर २ युवाको मृत्यु लेखे, जब की ४ युवा नै पौडीमा च्याम्पियन थिए ।

कतिपयले नमर्ने ब्यक्ति मरे भनेर अरुका तस्वीर मृतकको नाममा राखे । रुटिन अफ नेपाल बन्दले त सेल्फी खिच्ने क्रममा २ युवाको मृत्यु भनेर लेख्यो । कतिपयले त हुँदै नभएका यस्तासम्म कुरा लेखे कि संगै छहरे गएका २ जना युवाको निधन, २ युवा हिरासतमा ।

तर आजसम्म पनि सत्य कुरा लेख्न कसैले चासो दिएनन्, घटनास्थलमा भएका युवाले भनेका छन् । यी र यस्ता समाचारका हेडलाइनले साथी गुमाएर बाँचेका किशोर र अमृत विछिप्त छन् भने शोकमा डुवेको परिवारलाई पनि थप पीडा थपिदिएको छ ।
त्यसैले घटना घटेको एक हप्ता हुन लाग्दा पनि धेरै जनाले खास सुचना र जानकारी नपाएको हुनाले अपिटाइम्सले उक्त घटनाबारेको सत्यतथ्य कुरा खोतलेको छ ।

घटना कसरी भएको थियो, बाँचेका युवाहरु के भन्छन् ?

मृतक उमेश, किशोर अनि बाँचेका आशिष र अमृत पहिलेदेखिकै साथीहरु हुन् । उनीहरु सधैँजसो बुद्ध रंगशाला जितपुरमा साँझपख क्रिकेट खेल्ने गर्दथे । तर त्यो कालो दिनमा यस्तो जुर्यो कि उनीहरुको क्रिकेट खेल र प्रतियोगिता नै भएन । त्यसपछि त्यो खाली समयलाई कसरी सदुपयोग गर्ने भनेर सोच्दासोच्दै अकस्मात् एउटा प्लान बनेको रहेछ । तीजको दिन आउँदै थियो । यतिखेरसम्म २ हप्ताअघिबाट त्यो छहरे झरना सामाजिक संजाल, टिकटक, रिल्समा भाइरल बनिरहेको थियो ।

‘क्रिकेट नखेल्ने भएपछि उमेशले पनि यहि झरना सम्झे । उमेशको एकजना साथी पनि केहिदिन पहिले त्यो झरनामा गएका रहेछन् । त्यसपछि उमेशले छहरे झरना जाने सोच बनाए । लोकेसनको लागि साथीलाई म्यासेञ्जरमार्फत् सहयोग मागे । साथीसंग फोन पनि भएछ अनि एकाएक छहरेमा जाने प्लान भयो । अनि साथीहरु जुटेका थियौँ’, बाँचेका आशिष घिमिरे भन्छन् ।

‘छहरेबारे हामीलाई केहि पनि थाहा थिएन । उमेशले भनेपछि ओके गरेका थियौँ । छहरे जाने निधो भएपछि हामीले खाना खायौँ । फोटो । भिडिओ खिच्ने भनेपछि कपाल पनि काट्यौँ, आशिषले घटना अघिको कुरा सम्झँदै भने, सिमलपानीदेखि मुनि पावरादेखि माथि ढावा भन्ने ठाउँ नजिक तल्लो गाउँ मुनि घुम्तिनेर अनकञ्टार ठाउँमा त्यो झरना रहेछ । उमेशले दुईचार दिन अघि घुम्न गएको साथीलाई फोन गरी गरी हिँडिरहेका थियौँ । त्यहि साथीबाट नै लोकेसन खोजिरहेका थियौँ । सिमलपानी बाइक राखेर पुगियो । त्यो साथीले उमेशलाई भनेको थियो त्यहा रिक्स छ नजा । उमेशले ‘भन न भन’ भनेपछि लोकेसन पायौँ र त्यहाँ पुगियो । फोनबाट साथीले डेञ्जर छ नजा भनेको मैले पनि सुनेको थिएँ । १२ बजे निस्केका हामी घुम्दै, गफ गर्दै हिँडिरहेका थियौँ ।’
आशिषले थपे, ‘पावरादेखि ८०० मिटरमाथि झरना छ भनेको त ८००० मिटर अर्थात् ८ ९ किलोमिटर माथि पो रहेछ । यस्तै दिउसोको २ बजे पुगेका थियौँ । त्यहाँ पुग्दा लास्टै मनमोहन झरना । पानी पनि चिसो, मस्त २ ४ घण्टा मज्जाले भुल्ने ठाउँ रहेछ । २ हप्ताअघिदेखि फेमस रहेको हुनाले फोटो खिच्न र भिडिओ टिकटक बनाउन गएका थियौँ । साबुन स्पाम्फू केहि पनि लगेका थिएनौँ । पौडने भए त साबुन स्याम्पू लिएर जान्थ्यौँ नि ।’

घटनापछि आएको समाचारको हेडलाइन सुनेर आफ्नो चित्त दुखेको बताउँदै उनले आफूहरु पौडी खेल्न भनेर नहिँडेका बताए ।
उनले थप भने, ‘त्यहाँ पौडी खेल्न मिल्दैन । भिडिओ र फोटो एकदमै राम्रो आउने रहेछ । लगभग १५० मिटरमाथिबाट झरना खसेको छ । समाचार जे पायो त्यहि हालेको छ । तल तिखातिखा ढुंगा रहेछन् । पानी जम्मा हुने ठाउँ नै थिएन । कसरी पौडी खेल्न नसकेर डुवेर मरे ? उमेश त पौडीमा च्याम्पियन थियो ।’

पहिले यस्तो थियो झरनाः रमाउँदै आशिष

घण्टौँ रमाउन गएका उनीहरु १ घण्टा पनि रमाउन पाएनन !

अब उनले घटनाबारे सुनाउन थाल्दछन् । ‘सुरुमा म झरनामा गएँ । यतिखेरसम्म यस्तै २ बजेको थियो । केटाहरु आउँदै थिए । हामी करिब त्यहाँ ३० देखि ४५ मिनेट भुलेका थियौँ । चिच्याइरहेका थियौँ एक्साइटेड भएर । लास्टै मज्जाको झरना के दाजु,
उनी भन्छन्, ‘म झरनामा खेलेपछि निस्केँ । फोटो/भिडिओ खिचेँ । घटनाअघिका भिडिओहरु पनि छन् दाजु । म यता निस्केपछि उमेश र किशोर झरनाको बीचमा गएका थिए । उनीहरु मज्जाले रमाउँदै थिएँ । मैले फोटो भिडिओ खिचिरहेको थिएँ । म साइडमा रहेर ढुंगामाथिका माछा पनि खिन्च थालेँ । माछा हेर्न थालेँ । त्यतिखेर मेरो पछाडी झरना थियो र म अघि थिएँ । अमृतको पहिले नै खुट्टामा चोट भएकाले बीचमा गएन साइडमै बस्यो ।’घण्टौँ रमाउन गएका उनीहरु १ घण्टा पनि रमाउन पाएनन

घटना सुनाउँदै नै भाभुक रहेका उनी भन्छन्, ‘दाजु मैले साइडमा रहेर माछा के हेरिरहेको थिएँ, यस्तै ५ सेकेण्डमा लेदोसहितको बाढी आयो । उल्टो फर्केको हुनाले मैले कसैलाई देखिनँ । झरनाको फोर्स र हावाले मलाई साइडमा फाल्यो । म पनि लोटेँ । यस्तै ३ मिटर उछिट्टिएँ । छालसंगै म हुत्तिएँ । किशोरभन्दा ३ मिटर टाढा थिएँ । झरनाको हावाले नै फाल्यो मलाई । अमृत पनि साइडमा थियो । माछा हेरेर उल्टे फर्केको हुनाले साथीहरुलाई थिचेको र बगेको पनि देख्न पाएन ।’

लगत्तै यस्तोमा परिणत थियो झरना

त्यतिखेर आफू बेहोस् भएको उनी सुनाउँछन् । ‘म कसरी निस्केँ ? केहि पनि थाहा छैन । पछाडी हेर्दा साथीहरु थिएनन् । म पल्टेँ, मेरो होस् थिएन । मैले केटाहरु खै केटाहरु खै भनेर एकोहोरो चिच्याइरहेँ । अर्को साथी अमृत पनि उस्तै आत्तिरहेको थियो । उसको खुट्या इन्ज्युड थियो । उसले पनि साथीहरु बगेको देखेनछ तर बाढी आएको देखेको रहेछ । मेरो विचारमा झरना मान्छे मार्नै आएजस्तै गरी आयो । साथीहरुलाई लगेर एकैछिनपछि ७० प्रतिशत पानी घटिसकेको थियो ।’

२ वटा माछाका कारण जीवनदान

२ वटा माछाका कारण आफूले जीवनदान पाएको आशिषले सुनाए । उनी सुनाउँछन्, ‘खुसी भनम कि दुखि, मेरा अति नै मिल्ने २ साथीहरुलाई छहरेले लग्यो । म र अमृत बाँचेका छौँ । बाँच्यौँ भनेर कसरी भनुम् साथीहरु गए । मलाई २ वटा माछाले नै बचाए उनी भन्छन् यदि ढंगामा माछा हुँदैनथे र माछा हेर्न लाग्दैनथेँ भने भने म पनि बीचमै हुन्थेँ । म पनि यतिखेर मरेको हुन्थेँ ।
अमृतको खुट्टा भाँच्चिएको थियो । उसलाई पनि देखेन ।’

उनले भने ‘त्यसपछि अल्लि होसमा आएर मैले मम्मीलाई कल गर्छु भनेको मम्मीको नम्बर नै याद भएन । मेरो होस् नै थिएन के । म आत्तिरहेको थिएँ । त्यसपछि साथीलाई झरनाले बगायो उद्धारमा पठाइदिनु भनेर आमालाई भनेँ । त्यसपछि बाइक राखेको ठाउँम आइयो । ३० मिनेटपछि गाउँले आए । अमृतको खुट्टामा चोट थियो । पुलिस प्रहरी कोही आएनन् । यता हल्ला फिजिसकेको रहेछ । नजिकै गाउँका मान्छे आए । एक जना अंकल आउनुभयो । राजपुरबाट मान्छे पुग्दा बल्ल प्रहरी आए । जब कि ४ / ५ किलोमिटर माथि प्रहरी थिए । प्रहरी निकै ढिला आए । उत्तखेरै पानी घटेको थियो । रमाएको र घटनाको समय २ देखि ३ बजे नै थियो । वडा अध्यक्ष पनि आए । त्यसपछि खोजी भयो । डेढ घण्टामा शव भेट्टिएको थियो । शव उमेशको काइला र र जेठाको बुबाको छोरा अर्थात् उमेशका भाइले दाइको शव भेट्टाए । ठाउँ एकदमै डेञ्जर, पल्टेपछि बाँचिएला भन्ने आश थिएन । माछा नभएको भए म पनि मर्थे’, उनले दोहोर्याएर भने ।

माछासंगै खेलीरहेका आशिष

उनले भने, ‘घटना भएको ठाउँदेखि एक जनाको ५०० मिटर र एकजनाको ७०० मिटर तल लास भेटिएको थियो ।’

‘झरनाको बीचमा भएका उमेश र किशोरलाई निकै वेगमा आएको लेदो, ढुंगासहित आएको बाढीले टाउकाबाट थिच्यो । त्यसैले थिँचेर उनीहरुको मृत्यु भयो । शव पनि चोटैचोटले भरिएको थियो’,आशिषले भने ।

आशिषले उमेश र किशोरबीच भएको अन्तिम संवाद सुनेको पनि सुनाए । उनी भन्छन्, ‘मलाई सम्झना छ उनीहरु बोलेको कुरा जस्ताको तस्तै । उमेशले यहाँ फोटो आउँदैन यहाँ आइज, ढंगामाथि आइज भनेको थियो भने रोसनले त्यहाँ हुँदैन यहाँ आइज भनेका थिए । आफ्नो छिमेकी दाइ र साथी गएकोमा अति पीडामा छु ।’

त्यो दिन क्रिकेट खेल हुन्थ्यो भने यो घटना हुने थिएन

उनले थपे, ‘सधैँ क्रिकेट खेल्ने हामी सायद त्यो दिन क्रिकेट खेल हुन्थ्यो भने यो घटना हुने थिएन ।क्रिकेट भनेपछि हामी हुरुक्क हुने खालका थियौँ । सधैँ लक्ष्मणघाटसंग फ्रण्डली म्याच हुन्थ्यो । यस्तै हुन लेखेको रहेछ ।’ लामो खोजीपछि शव झिकेर फर्कँदा निकै राति भएको उनले बताए । शवको पोष्टमार्टममा पनि शरीरभित्र कत्ति पनि पानी नदेखिएको उनले बताए ।
‘घटनास्थलमा भएका हामी यता हावामा न्यूजहरु आएछन् । फेक न्यूजहरु भाइरल भएछन् । सानो देखि ठुला पत्रकारहरुले पनि हुँदै नभएका कुराहरु समाचारमा हालेछन् । कतिपयले ज्यूउदा साथीलाई पनि मृत बनाइदिएछन् ।’

अमृत खुट्टामा चोट भएकै कारण बाँचे

यता अमृतले पनि आफ्नो खुट्टामा चोट भएकै कारण आफू त्यो दिन बचेको बताएका छन् । साथी गुमेकोमा दुख लागे पनि चोट भएका कारण पनि झरनाको बीचमा जाँदा झन् चोट लाग्न सक्ने भयले नगएकोले साइडमै थिएँ त्यसैले बचेँ । कहिलेकाहि चोटले पनि मान्छे बचाउने रहेछ, अमृतले आशिसलाई सुनाएका थिए । अमृतले पनि बाढी देखेको तर साथीहरु बगेको नदेखेको आफूले नदेखेको बताए ।

प्रहरीले पनि ठाउँ निकै अफ्ट्यारो रहेको र शवहरुमा टाउकोदेखि खुट्टासम्म चोटहरु रहेको बताएको छ । स्थानीय र प्रहरीको पनि अनुमान छ कि, ‘ढुंगामाटोसहित तीव्रवेगमा माथिबाट आएको बाढीले उनीहरु थिचिए । अनि त्यो अनकञ्टार भीरमा लड्दै तलतिर खसे । मृतकहरुले बाँच्ने कोसिस गर्न कुनै मौकासम्म पाएनन् । यो घटनाले अहिले सिंगो बाणगंगा दुखि छ ।’

छहरे झरना निकै खतरनाक रहेको हुनाले एक्लै नजान पनि आशिषले सुझाए । त्यो झरना मान्छे मार्ने झरना रहेछ । हामीलाई मार्नै त्यो झरना बढेर आयो । त्यहाँ घुम्न जाने साथीहरु झरनामाथि पनि निगरानी गरेर मात्र रमाउनुहोला, साथी र प्रिय छिमेकी दाजु गुमेको पीडामा छटपटाइरहेका उनको सबैमा आग्रह छ ।