मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल–गोरुसिङ्गे सडकखण्डमा पोल सार्ने र नाप गर्ने काम सुरु, दसैँपछि निर्माण

बुटवल–गोरुसिङ्गे सडकखण्डमा पोल सार्ने र नाप गर्ने काम सुरु, दसैँपछि निर्माण

अपि टाइम्स

बुटवल । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा सात हजार रुख काटिने भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने जङ्गलमा रहेका करिब सात हजार रुख काट्न वन विभागसँग अनुमति मागिएको छ ।

यसै गरी सात हजार रुख काटिँदा ७० हजार रुखका बिरुवा रोपिने छ । आयोजनाका प्रमुख होमबहादुर एसीका अनुसार ती सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने छ । आयोजना प्रमुख एसीले वन विभागले सबै प्रक्रिया पूरा गरेपछि रुख काट्ने काम सुरु हुने बताउनुभयो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।

आयोजनाका अनुसार सडक विस्तारकैक्रममा विद्युत्का पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने सडक नाप गर्ने काम भइरहेको छ । सडक विस्तार अन्तर्गत भौतिक पूर्वाधारको काम भने दसैँपछि मात्र सुरु हुने छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा अन्डर पास ओभर पास निर्माण हुने छन् । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।

यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । बहुवर्षीय योजना अनुसार निर्माण हुने सडकखण्डको पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणका लागि ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । त्यसपछि बुटवलको अहिलेको तिनाउ पुललाई विस्थापन गरी चितवनको जस्तै सिग्नेचर पुल निर्माण गरिने छ । तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।

आयोजनाका बुटवल प्रमुख एसीले ठेक्का सम्झौता सम्पन्न भएको तर वर्षाको समय रहेकाले सडकलाई असर नपर्ने गरी दसैँपछि मात्रै सडक विस्तारको काम सुरु हुने जानकारी दिए  ।