मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा दिवसमा ककसले पाउँदैछन् पदक र पुरस्कार ?

शिक्षा दिवसमा ककसले पाउँदैछन् पदक र पुरस्कार ?

अपि टाइम्स

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।

तर आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरण भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् ।

पोखरा विश्वविद्यालय मातहतको आंगिक क्याम्पसतर्फको उत्कृष्ट कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ ।

त्यस्तै, विद्यालयतर्फ सामुदायिकतर्फ दाङको श्रीमावि तुल्सीपुर सेन्टर र निजीतर्फ काठमाडौं, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।

देशभरका सार्वजनिक विद्यालयमध्येबाट ०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङ, तुल्सीपुरको श्री मावि तुल्सीपुर सेन्टरलाई उत्कृष्ट ठहर गरिएको मन्त्रालयले जनाएको छ । स्कुलले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त नतिजाकै आधारमा मन्त्रालयलले काठमाडौं विश्वनिकेतन माविलाई द्वितीय घोषणा गरेको छ । उक्त स्कुलले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तेस्रो स्थानमा आएको दाङकै जनकल्याण माविले ३ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । निजी विद्यालयतर्फ ०८० काठमाडौं, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट ठहरिएको छ । फलोरेसेन्टले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै द्वितीय बनेको काठमाडौंको विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयले २ लाख र तेस्रो बनेको काठमाडौंको बूढानीलकण्ठ स्कुलले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्राविधिकतर्फ बनेपाको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुल्सीपुर पोलिटेक्निक इन्स्टिच्युट, काठमाडौंको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् । प्राविधिक विधातर्फ उत्कृष्ट भएका विद्यालयले १र१ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो वर्षको समाज कल्याण शिक्षा पुरस्कार काठमाडौं, कागेश्वरी मनोहराको श्री युवा क्रियाकलाप उत्थान केन्द्र र ललितपुरको श्री सी–आशा फाउन्डेसनले पाउने भएका छन् । सडक बालबालिका, एचआईभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षामा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गर्न लागेको हो । दुवै संस्थाले २र२ लाख रुपैयाँबाट पुरस्कृत हुनेछन् ।

विद्याभूषण र छात्रापदकको नाम पनि सार्वजनिक

मन्त्रालयले उच्च शिक्षातर्फ विद्याभूषण तथा विद्या पदक पाउनेको नाम पनि सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार नेपाल विद्याभूषण ‘क’ प्राप्त गर्ने २६४ जना छन् ।

त्यस्तै सोही विद्या भूषण पाउने ‘ख’ प्राप्त गर्ने ३५ जना र ‘ग’ प्राप्त गर्ने २१ जनाको नाम मन्त्रालयले सार्वजनिक गरेको छ । यस वर्ष छात्रा पदकका लागि १५ जनाको नाम सरकारले घोषणा गरेको छ ।

यो वर्ष विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारी ५ जना, सार्वजनिक विद्यालयतर्फ ७४ जना र निजी विद्यालयतर्फ ३२ जनालाई सम्मान गर्ने भएको छ ।

त्यस्तै, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्तारशिक्षकतर्फ सम्मानित हुने ३५ जनाको नाम पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

नाम मात्रै घोषणा, पदक दिन पैसा पुगेन

पछिल्ला ३ वर्ष रोकिएको शिक्षा दिवस सरकारले यो वर्षदेखि फेरि मनाउन सुरु गरेको हो । शिक्षा दिवसको अवसरमा सरकारले नेपाल विद्या भूषण, नेपाल छात्रा पदकलगायत शिक्षातर्फका विभिन्न पदक र भूषणका लागि नाम घोषणा गरेको छ । तर, उनीहरुले कहिले पाउँछन्, त्यसको टुंगो छैन ।

मन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘राष्ट्रिय शिक्षा दिवस ०८० र राष्ट्रिय शिक्षा दिवस ०८१ का अवसरमा घोषणा भएका नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकलगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र वितरण सम्बन्धमा पछि थप सूचना सार्वजनिक हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’

सरकारले अघिल्लोपटक घोषणा गरेका पुरस्कृत व्यक्तिले समेत अझै पुरस्कार पाएका छैनन् । मन्त्रालय स्रोतका अनुसार अघिल्ला वर्ष र यो वर्षकोसमेत गरेर पदकसहित पुरस्कार वितरण गर्न बजेट माग गरिएको थियो । तर, बजेट नपाएपछि पुरस्कार वितरण पनि पछि धकेलिएको हो ।

‘पहिले पनि मागेको पैसा नपुगेर वितरण नभएको सुनेको हो । यस पटक पनि पुग्दो बजेट आएन’, मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पुरस्कार नै अभाव हुने भएपछि कार्यक्रम नगरिएको हो ।’

मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले पुरस्कार वितरण कार्यक्रम टुंगो नलागिसकेको बताउँछन् । ‘पोहोरदेखिको बाँकी छ । अहिलेको पुरस्कार पनि कहिले हुन्छ भन्ने ठ्याक्कै निर्णय भइसकेको छैन’, उनी भन्छन् ।

स्रोतको जोहो भइसकेपछि मात्रै अर्को सूचना जारी गरेर पदक, पुरस्कार तथा प्रमाणपत्रबारे जानकारी गराइने मन्त्रालयले जनाएको छ ।

सरकारले २०३१ सालदेखि १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन सुरु गरेको थियो । २०६२र६३ जनआन्दोलन पछि तत्कालीन राजसंस्थाले सुरुआत गरेका धेरै कार्यक्रमहरु मनाउन छोडेको थियो । २०६३ सालको १२ फागुनमा शिक्षा दिवस मनाइएन ।

२०६४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस एकै दिन मनाउने निर्णय गरेको थियो । सोही अनुसार २०६४ सालदेखि २०७६ सालसम्म ८ सेप्टेम्बरको दिन राष्ट्रिय शिक्षा दिवस मनाइयो ।

२०७७ सालमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साक्षरता दिवस र शिक्षा दिवस एउटै नभएको भन्दै ८ सेप्टेम्बरमा हुँदै आएको शिक्षा दिवस स्थगित गरे ।

नयाँ मिति तय नहुँदा २०७७, ०७८ र ०७९ मा शिक्षा दिवस नै मनाइएको थिएन । गत ९ जेठमा बसेको तत्कालीन मन्त्रिपरिषद्को बैठकले अनिवार्य निशुल्क शिक्षा ऐन–०७५ जारी भएको दिन (असोज २) लाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।
अनलाइनखबरबाट