अर्घाखाँची । अर्घाखाँचीको मुख्य सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिराले गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको हो ।
गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिका क्षेत्रका विभिन्न स्थानमा खसेको पहिराले विहानदेखि सडक अवरुद्ध रहेको छ। जेसिभी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको नरपानी प्रहरी चौकी प्रमुख अर्जुन बस्नेतले बताउनुभयो । सडक अवरुद्ध बनेपछि यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन् । गाडी सडकमै रोकिएका छन् ।
सन्धिखर्क गोरुसिङ्गे सडक खण्डको सन्धिखर्क ६ जगतादेखि नरपानीसम्म १२ ठाउँमा पहिरोले बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। नरपानीबाट असइको कमाण्डमा ४ जना जेसिवीसहित खटिइएर काम सुरु भएको प्रहरीको भनाइ छ।
सितगंगा नगरपालिका १२ बसेरीदेखि शितगंगा २ सितापुरसम्म ३ ठाउँमा बाटो अवरोध भएको र सितापुरमा जेसिवीसहित टोली खटिइएको र सितगंगा १२ हिलेखोलातर्फ सई डम्बर बुढाथोकीको कमाण्डमा ४ जना टोली खटिइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया