मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज मुलुकका केही ठाउँमा वर्षा हुने, साँझदेखि मौसममा सुधार

आज मुलुकका केही ठाउँमा वर्षा हुने, साँझदेखि मौसममा सुधार

अपि टाइम्स

काठमाडौँ । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।

ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए ।

महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढी—पहिरोबाट मृत्यु हुनेको संख्या सय पुग्यो, काठमाडौं उपत्यकामै बढी क्षति
काठमाडौँ । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ६५ जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

बाढी पहिरोबाट कोशी प्रदेशमा १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्।

बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।