मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्ष रेश्मीको गाउँकै विजोग, गाडीको सिसाबाट देख्दैनन् भ्वाङहरु !

वडाअध्यक्ष रेश्मीको गाउँकै विजोग, गाडीको सिसाबाट देख्दैनन् भ्वाङहरु !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमार्फत् केहि युवाहरुले नसोचेको जित हासिल गरे । त्यसमध्ये पर्दछन् वडा नम्बर ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर । मतमा काँग्रेसको बाहुल्यता रहेको उक्त वडामा नेकपा एमालेबाट रेश्मीले जित हासिल गरेपछि केहि गर्दछन् कि भनेर कतिपयले आशा गरेका थिए त कतिपयले रेश्मीबाट पनि केहि हुँदैन, उनी पनि उहि ड्याङकै मूला हुन् भनेर टिप्पणी गरेका थिए । युवा र जुझारु, कपिलवस्तु उद्योग बाणिज्य संघमा लामो अनुभव बटुलेका ब्यवसायी, बिभिन्न मेला महोत्सवका अनुभवी रहेका कारण रेश्मीले केहि गर्दछन् भन्ने अनुमान हुनु स्वभाविक थियो ।

तर रेश्मीको कार्यकालको २ बर्षको अवधिको समिक्षा गर्ने हो भने अवस्था सन्तोषजनक छैन । पहिलो अनुमानभन्दा पछिल्लो टिप्पणीले उनको काम गराइमा मेल खाएको देखिन्छ । उनको कामबाट अहिले वडाबासी त्यति खुसी बनेको देखिदैन । रेश्मीमाथि प्रश्न गर्नुपर्ने धेरै कारण छन् तीमध्ये उनको वडामा बनेका सडकको दुर्दशा र उनकै गाउँको विजोग स्थितिबारे चर्चा गरौँ ।
वडाको पहिलो वडा अध्यक्ष गणेश बहादुर क्षेत्री पनि यस प्रश्नको घेराबाट माथि उठ्न सकेका थिएनन् । नयाँ वडा अध्यक्षको रुपमा रेश्मीको आगमन भएपछि यस्तो हुँदैन कि भनेर आशा गरेका वडाबासी फेरि रेश्मीका कामबाट पनि बढि दिक्क हुन थालेका छन् । वडा नम्बर ४ मा बनेका कुनै पनि सडकको निर्माण र तिनको गुणस्तरमा प्रश्नैप्रश्न छन् ।

सार्वजनिक मञ्च पाउँदा आफ्नो दिन गनेरै विकासको भाषण रन्काउने रेश्मीलाई अचेल उनकै वडामा बनेका पीच सडकले गिज्याउने गरेका छन् । अझै उनकै गाउँमा भएका पीच र तिनको दुर्दशाले रेश्मीको जिम्मेवारीविहिनतालाई उजागर गर्दछ ।
झुँगाका बिभिन्न गाउँमा निकै लामो समय भयो सडक बिग्रेको, बीचबीचमा भ्वाङ परेको, पीच उप्किएको तर यसको मर्मत सम्भारमा वडा अध्यक्ष रेश्मी पूर्णरुपमा उदाशिन छन् ।

झुँगामा मात्र होइन अरु वडामा पनि सडकको यस्तै दुर्दशा छ । झुँगाको दक्षिण तिनकुनेबाट पिस हिमालय रिसोर्टसम्मको बाटो यसरी जिर्ण बनेको छ कि त्यहाँ यात्रा गर्ने साइकल यात्री, मोटरसाइकल यात्री र तिन पांग्रे सवारी चालकका सवारी साधन पनि बिग्रेका छन् । बालबालिकामा पनि दुर्घटना बढेको छ । पैदल यात्रीसमेत लड्ने गर्दछन् । पीच छ क्यारे भनेर रातिको समयमा बत्ती बाल्न बिर्सियो भने पैदल यात्री पनि खाडलमा जाकिन्छ ।

साढे चार किलोमिटरको उक्त बाटोको अधिकांस स्थानको पीच उप्केर गेग्रान र खाल्डाखुल्डीबाहेक केहि छैन । पानी जम्मा भएको अवस्थामा यस्तो देखिन्छ कि सडकमा खाल्डा नभएर ठुलै भ्वाङ छन् । यो बाटो वडाअध्यक्ष रेश्मीले देखेनन् र मर्मतमा ध्यान पुगेन भनौँ, विहान-साँझ दैनिक त्यहिबाटोमा गाडीमार्फत् सवार गर्दछन् । तर वडाअध्यक्ष रेश्मी सवार टलक्क टल्कने गाडीको सिसाभित्रबाट त्यो बिग्रेको बाटाको नाजुक अवस्था कहिले देखिएन ।

आफ्नै गाउँको त्यस्तै जिर्ण बाटोमा दैनिक ओहरदोहर गर्दा पनि उनलाई आनन्दै रहेको बुझ्न सकिन्छ । आफ्नो गाउँको बाटोको यस्तो हरि बिजोग भएपछि अचेल वडा अध्यक्षलाई जो सुकैले सजिलै प्रश्न गर्न थालेका छन् कि, अन्य टोल र गाउँको अवस्था के होला ? गणेश क्षेत्रीको कार्यकालमा बनेका वडाका बाटा सबै क्षतविक्षत छन् भने रेश्मीले बनाएका बाटा पनि उस्तै गतिमा देखिन्छन् ।

झुँगामा बाटो उप्कन लागेको त निर्माण भएको ६ महिनादेखि नै हो तर बढी जिर्ण भएको एक बर्ष भइसक्न थालेको छ । तर रेश्मीले यो बीचमा नत मर्मत, नत टालटुल, केहि कुरामा ध्यान दिन सकेनन् । जसका कारण घाम लाग्दा धुलो र पानी पर्दा सडकमै पोखरी बन्ने गरेको बाटो प्रयोग कर्ताहरु बताउँछन् ।

सडकमा ठाउँठाउँमा खाल्डैखाल्डा हुँदा सडक प्रयोगकर्ता कष्टकर यात्रा गर्न बाध्य भएका छन् । तत्काल कालोपत्रे गर्न नसकिने भए पनि ग्राभेलले टाल्ने योजनासम्म वडाको नभएको देखिन्छ । बाटो यसरी बिग्रदा एकदिन पनि माटोलेसम्म पुर्ने र टाल्ने प्रयास नभएपछि वडा अध्यक्षसंग गाउँबासी रुस्ट छन्, ‘झुँगाका एक जना बुद्धिजिवी भन्दछन् ‘जिर्ण बाटाहरु फेरि पीच गर्ने अवस्थामा पुगेका छन् । टालटुलले पनि काम त गर्दैन तै पनि टालटुल र मर्मतमा वडा अध्यक्ष, टोलका अध्यक्ष, गाउँका अगुवाले ध्यान दिएको भए यस्तो दुख हुँदैनथ्यो । तर कसैको पनि ध्यान पटक्कै गएको छैन ।’

कुवेरापुरमै घर रहेकी एक जना महिलाले भनिन्, ‘केके न हुन्छ भनेर आफ्नै गाउँको मान्छेलाई चुनाव जिताइयो तर आज पछुताउने स्थिति छ । अरु केहि नगरे पनि यी बिग्रेका बाटो बनाउन त ध्यान दिनुपर्छ नि । म पनि कतिपटक यी खाल्डोमा परेँ । दुर्घटना पनि बढेको छ ।’

बाटोमा हैरानी खपेका झुँगाका धेरैजसो मानिस भन्दछन्, ‘न यहाँ पार्क बनाउनु छ, न यहाँ खेल मैदान बनाउनु परेको छ, न यहाँ फराकिला बाटा बनाउन परेको छ न कभर्ड हल । बनाउँछु भने पनि यहाँ स्थान छैन । केहि नभएपछि यी बाटा त राम्रा बनाउनु नि । नयाँ र ठुला बाटा बनाउन नसके पनि बिग्रेका बाटाघाटा त टाल्नुपर्दछ कि पर्दैन ? यी बाटा बिग्रेको धेरै नै भयो । हेर्ने कोही छैन । उहाँले नै नदेखेपछि हामीले देखेर के नै भयो र ?’

हुन पनि झुँगा गाउँ अन्य गाउँहरुभन्दा निकै पछि परेको छ । यहाँको शैक्षिक, सामाजिक र भौतिक निर्माणको स्थिति टिठ लाग्दो छ ।

नगरकै पुरानो बाटोमा पर्ने गर्दछ पिस हिमालय रिसोर्टदेखि इटाभट्टासम्मको बाटो । तर यहि बाटो गजेहडा, ठाकुरापुर, हरिहरपुरको भन्दा पनि टिठ लाग्दो छ । कति नयाँ बाटा बने तर यो पुरानो बाटोको अवस्था उस्तै खराब छ । अलिकति अलकत्राले टाल्ने बाहेक विस्तार गर्ने लगायतका काम हुन सकेको छैन ।

६ मिटरको बाटो भनिए पनि हिँड्न सहज हुने जम्मा ४ मिटर पनि ठाउँ छैन । अर्कोतर्फ बाटो साँघुरोसंगै निकै घुमाउरो छ । जसले दिनहुँ दुर्घटना निम्त्याइरहेको छ । झुँगामा धेरै जनताको माग अब बाटो मर्मत मात्र होइन विस्तारको छ, तर वडाको नेतृत्वमा पनि यस खालको भिजन छैन, स्थानीय सन्तोष रेग्मी थप्दछन् ‘यिनै कारण धेरै माथि जाने हाम्रो गाउँ विकासमा निकै पछाडी परेको छ ।’

‘एकातर्फ निकै साँघुरो बाटो, अर्कातर्फ जिर्ण र सडककाबीचमा भ्वाङ । बाटो छलेर हिँड्नु पर्दा पनि खेत कि कुलोमा सवारी जाकिने हो कि भन्ने डरैडरमा कुद्नु परेको छ, एक जना अटो रिक्सा चालकले अपिटाइम्संग भने, ‘अरु यात्रु पनि त्यस्तै डरमा सवारी कुदाउँछन् । बाटोको दुवैतिरबाट चार पांग्रे ठुला सवारी आए भने छिर्नेसम्म स्थान छैन ।’

अर्का एक जनाले पनि उस्तै प्रश्न गरे, ‘झुँगामा के छ विकास गर्ने कुरा ? न विद्यालय, न खेल मैदान बनाउनु छ, न पार्क, न कभर्ड हल न केहि । बल्ल बल्ल एक दुई वटा पक्की कुलो बनेका छन् । बजेट कहाँ खर्च गर्दछन् वडाअध्यक्षले ? यी बिग्रेका बाटोको मर्मत गर्नै पर्दन र ? यी बने भन्दैमा सबै भयो भनेर चुप्प लागेर बस्दा कहिल्यै गाउँको विकास हुँदैन । आफ्ना जनप्रतिनिधिलाई खबरदारी गर्न डराउन हुँदैन ।’

यस्तो हुनमा वडा अध्यक्ष रेश्मीको मात्र दोष छैन त्यहाँका जनता, अगुवा र टोल समितिका नेताको पनि छ । यस्तो भएन भनेर गाउँले वडा अध्यक्षविरुद्ध चुईक्क बोल्न सक्दैनन् अगुवा भनौदाहरुलाई आफ्नो स्वार्थ सिद्ध गर्नमै मस्ती छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष र झुँगा गाउँलाई चलाउने पात्र हुन् गोविन्द पौडेल । उनलाई नसोधी रेश्मीले कुनै योजना पनि बनाउँदैनन् झुँगाका । वडा अध्यक्षलाई नै गलाउने तागत भएका तिनै पौडेल पनि स्वार्थ मिल्ने कुराबाहेक गाउँबासीको हित हुने कुरामा कहिल्यै उदार देखिएनन् ।

गाउँका सडकको यस्तो हालत हुँदा मुखमा माड हालेर उनै बसेको देखिन्छ भने वडा अध्यक्षलाई पनि पौडेलले यस्तो विषयमा कहिल्यै घच्घच्याउन अघि सरेनन् । गाउँमा नाली बन्दा बालुवा गिटी उनैका ट्याक्टरले ल्याए, उनले सस्तैमा सयौँ टन माटो उठाएर लगे तर यी खाल्डाखुल्डीमा सेवा भावले एक कोदालो पनि माटो हाल्न पौडेलले सकेका छैनन् । पौडेल नाफा हुने विषयमा मात्र वडा अध्यक्षसंग कुम जोरेर काममा अघि सर्ने गरेका जनगुनासो ब्याप्त छ ।

यस्तै टोल विकास समितिका अध्यक्ष दामोदर पौडेल पनि यी विषयमा मौन छन् । पौडेलद्धय र रेश्मीलाई आफूहरु मिले गाउँमा सबथोक हुन्छ भन्ने घमण्डका कारण पनि उनीहरुले ससाना काममा ध्यान दिन छाडेको स्थानीयहरुले गुनासो गर्दछन् । गाउँका अगुवा मानिने रामु पौडेल, चन्द्रकान्त भट्टराईहरु पनि यस्तै जिर्ण बाटोलाई सहेर बसेका छन् ।

झुँगाबासी एक जनाले भने, ‘वडाअध्यक्षमा एउटा घमण्ड छ, गाउँको विकास गरेको छु, पक्की नाली बनाएको छु भन्ने । तर त्यो मात्र होइन । त्यति सानो काम गरेर जस खान नखोजे हुन्छ । अरु वडाका गाउँको तुलनामा हाम्रो वडा विकासमा धेरै पछि छ । नाली देखेर विकास गर्यो भनेर बुझ्नु म त भन्छु ती गाउँलेबासीको अज्ञानताको द्धोतक हो ।’

वडा अध्यक्ष रेश्मी भने कसैको आआलोचना सहनै सक्दैनन् । कसैले आलोचना गरेको थाहा पाए भने उनले त्यस्तो ब्यक्तिलाई नोटिस्टमा राख्ने गरेको गुनासो छ । त्यसैले पनि सडक विग्रँदाको अवस्थाबारे वडाअध्यक्ष रेश्मीसंग गाउँका अगुवा भन्नेहरुले कहिल्यै प्रश्न गर्न नसकेको देखिन्छ । तसर्थ पनि झुँगामा विकास नभएर एक समुहको मोनोपली बढेको देख्न सकिन्छ ।

झुँगाकै नविन शर्मा भन्दछन् ‘मेरो वडा १ हो, तथापि हामी झुँगाबासी हौँ । तर यो भएन भनेर आलोचना गर्ने हो भने वडा अध्यक्ष पूर्वाग्रही बन्ने गरेको सुनेको छु । म पनि आलोचक हुँ तर आजभोलि केहि भन्नैँ छाडेँ । गाउँका बाटोको अवस्था विजोग छ । यस विषयमा उहाँले नराम्रो मान्न हुँदैन । जनताको प्रसंसा आलोचना दुवै सुन्नु पर्दछ ।’

रेश्मीजत्तिको मान्छेले पीच बन्दा नै गुणस्तर जाँच, मापदण्ड सबै जान्नु पर्ने र कमशल निर्माण गर्ने ठेकेदारमाथि जवाफ खोज्नुपर्ने सरोकारवालाको भनाई छ ।

यी बाटाका हविगतको विषयमा वडा अध्यक्ष रेश्मीसंग बुझ्न प्रयास गर्दा जवाफ आउन सकेन । बाटोको हविगतका प्रमाणहरु नै पठाए पनि उनले ती प्रमाण हेर्ने फुर्सद नै पाएनन् । त्यसपछि वडा श्रोतसंग बुझ्दा भने बिग्रेका ठाउँहरुको बारेमा योजना बनिरहेको जानकारी प्राप्त भएको छ । अहिले कालोपत्रे नै गर्न नसकिए पनि खाल्डाखुल्डी पुरेर सडक हिँड्नका लागि सजिलो बनाइने वडा श्रोत बताउँछ ।

रेश्मी मात्रै होइन नगर भर नै जनप्रतिनिधि र सडक निर्माण गर्ने ठेकेदारहरुमा कमिसनको धन्दा चल्ने गरेको आरोप छ । त्यसैले ११ वटै वडामा पीचहरुमा समस्या भएको बताइएको छ । नगरका अरु वडामा बनेका पीच सडकको अवस्था पनि झुँगाकोभन्दा झन् खत्तम रहेको बताइन्छ ।