मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज २३ गते लायन्सले गर्ने नयाँ खेल, राजापानीमा यसरी हुँदैछ तयारी

असोज २३ गते लायन्सले गर्ने नयाँ खेल, राजापानीमा यसरी हुँदैछ तयारी

अपि टाइम्स

कपिलवस्तु । दशैँ, तिहार र छठ पर्वको अवसर पारी लायन्स तथा लियो क्लव अफ कपिलवस्तुले यस वर्ष बाणगंगामा गर्न लागेको नयाँ खेलको तयारी सुरु गरेको छ ।

पछिल्लो दुई वर्ष ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता गरेर चर्चा कमाएको लायन्सले यसपटक असोज २३ गते फुलपातिको दिन पाउन्ड क्रस उथ रोप (Pond cross with Rope) प्रतियोगिता गर्न लागेको हो । यो खेल पनि पोखरीमाथि खेलिने खेल हो । जहाँ खेलाडीले पोखरीमाथि १० फिटको उचाईमा राखिएको डोरीमा अड्काइएका रिङलाई एकपछि अर्को गर्दै समातेर निर्धारित ५० मिटरको दुरी पार गर्नु पर्नेछ । यसरी सबैभन्दा छिटो दुरी पार गर्ने प्रतियोगि पहिलो हुने पत्रकारसम्मेलनमार्फत् खेल संयोजक राम शुभागे थारुले जानकारी दिए ।

उनका अनुसार २ उमेर समुह विभाजन गरेर प्रतियोगिता हुनेछ । जुनियरहरु पनि सहभागि बनून् भनेर ८ देखि १६ बर्षकाको लागि त्यहि प्रकारको संरचना तयार गरिन लागेको छ भने त्यो भन्दा माथि जुनसुकै उमेर समुहको सहभागिता हुने गरी अर्को समुह बनाएर खेल खेलाईने थारुले जानकारी दिए ।

खेलको संरचना निर्माण थालि सकिएको उनले जानकारी दिए । स्वास्थ्य र पर्यटनलाई टेवा दिने यो खेल नेपालमै पहिलो हुन लागेको संयोजक थारुको दावी छ ।

यस खेलको लागि १ हजारको फारम भरी अभिभावकको स्वीकृति लिएर सहभागिता जनाउन पाइने छ । प्रतियोगितामा प्रथम हुनेले ५१ हजार, दोश्रोले २५ हजार बढी र तेश्रो र चौथोले पनि पुरस्कार पाउने थारुले जानकारी दिए । जुनियरतर्फ पनि नगद पुरस्कार राखिएको छ ।

यस खेललाई सहासिक खेलको रुपमा लिइएको बताउँदै क्लवका अध्यक्ष नवदत्त घिमिरेले सफल पार्न सबैलाई आग्रह गरे । जिल्लामा पर्यटन प्रवर्द्धनका साथै अटिजम समस्या र लागू पदार्थ दुर्वयसनविरूद्ध जनचेतना जगाउने पनि प्रतियोगिताको उद्देश्य रहेको उनले बताए ।

सुरक्षालाई दृष्टिगत गरी खेलाडीलाई कुनै प्रकारको जोखिम नहुने गरी तयारी भइरहेको क्लवका पूर्वअध्यक्ष सुरेन्द्र घिमिरेले बताए ।

पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले लायन्सले हरेक बर्ष जिल्लाकै प्रचारप्रसार गर्ने गरी नयाँनयाँ खेल आयोजना गरेकोमा धन्यबाद दिँदै सबैले प्रतियोगिता सफल बनाउनु पर्ने बताए ।

राजापानी सामुदायिक वनकी अध्यक्ष सितादेवी पौडेलले यस खेलबाट आफूहरु निकै उत्साहित रहेको भन्दै उक्त दिन प्रतियोगिता हेर्न पैसा नलाग्ने बताइन् । विश्वब्यापी चर्चा पाएको पहिलो र दोश्रो संस्करणको साइकल प्लयांक ब्यालेन्सलाई विविध कारण निरन्तरता दिन नसकिएको क्लवले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ८ लाख खर्च हुने क्लवको अपेक्षा छ । प्रथम उपाध्यक्ष नरायण पौडेलको स्वागतमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको संचालन सचिव दामोदर पन्थीले गरेका थिए ।