मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतार च्यारिटीका नाममा करोडौं रकम अपचलन भएकै हो, के भन्दछन् मुसलमान ?

कतार च्यारिटीका नाममा करोडौं रकम अपचलन भएकै हो, के भन्दछन् मुसलमान ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अतहर कमाल मुसलमान अध्यक्ष रहेको कतार च्यारिटी नामक संस्थाबाट करोडौँ रकम अपचलन भएको विषय बाहिर आएको छ । कतार च्यारिटी नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको कपिलवस्तुस्थित शाखा लुम्बिनी एकिकृत विकास संस्थाबाट ८ वर्षको अवधिमा ४० करोडभन्दा बढीको काम गरेको देखाएर अध्यक्ष मुसलमानले रकम अपचलन गरेको आरोप छ ।

मुसलमानले कतार च्यारीटी र इस्लामिक रिलिफ जस्ता मुस्लिम संस्थाबाट फण्ड ल्याई मोटो रकम अपचलन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत् पत्राचार भएको अवस्था छ ।

संस्थाको अपचलनबारे नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुले संस्थालाई पत्राचार गरेको हो । संस्थाका नाममा प्रशासनले गरेको गोप्य पत्राचार पत्र बाहिरिएसंगै मुसलमानले संस्थाको नाममा रकम अपचलन गरेको विषय पनि बाहिरिएको हो ।

संस्थाले विगत ८ वर्षदेखि विभिन प्रोजेक्टहरुमा लाखौँ खर्च गरी गर्दै आइरहेको संस्थामार्फत् बिभिन्न स्थानमा चापाक र शौचालयहरु बनाइएको छ भने आयआर्जनका पसल, रेष्टुरेन्ट, मौरीपालन, बाख्रापालन व्यवसायहरुमा पनि लगानी छ । तर ती प्राजेक्टहरु अहिले बन्द भएका, सिँचाई प्रोजेक्टमा कमसल सामानको प्रयोग भएको, कार्यालयका डाइरेक्टर, कर्मचारीहरुलाई लाभग्राही बनाइएको लगायतका आरोप उजुरीमा रहेपछि सो विषयमा के भएको हो भनि बुझ्न प्रशासनले संस्थालाई पत्राचार गरेको हो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पनि आफ्नो गृहकार्य अघि बढाएको छ । प्रहरीले लुम्बिनी एकिकृत विकास संस्थासँग हालसम्म सञ्चालन भएका विभिन प्रोजेक्टहरुको आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदनलगायतका कागजात माग गरेको बताइएको छ ।

यहि विषयमा मुसलमानसंग बुझ्दा भने उनले संस्थामा रकम अपचलन गरेको विषय फेक रहेको बताए । आफ्नो कार्यबाट सयौँले रोजगारी पाएको, विपन्न बस्तीहरुमा सिंचाई सुविधा पुगेको, बिभिन्न स्थानमा रोजगारी सिर्जना भएको, शौचालय नभएर रोगब्याधिहरु बढेका बस्तीमा जीवन बचाउने काम भएको, बिभिन्न अस्पतालमा उच्च स्तरका एम्बुलेन्सहरु हस्तान्तरण भएको बताउँदै रकम अपचलन भएको भए कारबाही भोग्न तयार रहेको उनले बताए ।

अहिलेको अवस्थामा करोडौँ रकम अपचलन गर्ने भन्ने कुरा कल्पना नै गर्न नसकिने भन्दै यहाँका केहि ब्यक्तिले राजनैतिक दाउपेच संगालेर आफूलाई बदनाम गराउन र सिध्याउन यस्तो प्रपञ्च रचेको समेत उनको भनाई छ ।

आरोप लागेका हरेक कार्य र प्रोजेक्टका प्रमाण आफूसंग सुरक्षित रहेको बताए । संस्थाले गरेका हरेक काम पालिका, प्रदेश, जनप्रतिनिधि आदिसंग समन्वय गरेर मात्र काम भएको भन्दै कहिँ कतै संस्थाको रकम अपचलन नरहेको उनको दावी छ ।
यस विषयमा सरकारका संयन्त्रले आवश्यक छानबिन गरोस् भन्दै उनले भने, ‘कि ममाथिका अरोप पुष्टि हुनुपर्दछ होइन आरोप प्रमाणित हुँदैन भने यसरी मेरो नाम जोडेर संस्थाको बदनाम गर्ने उजुरीकर्तामाथि कारबाही हुुनुपर्दछ ।’ केहि सिमित ब्यक्ति र मिडिया आफूमाथि लागेको उनले बताए ।

आफू अहिले काठमाडौँ रहेको भन्दै चाँडै कपिलवस्तु आएर यसबारे प्रशासनलाई पनि जानकारी गराउने र पत्रकार सम्मेलन गरेर सत्य कुरा बाहिर ल्याउने मुसलमानको भनाई छ । संस्थाको रकम आफ्नो राजनीतिमा प्रयोग गरेको कुरा सत्य नभएको भन्दै भ्रममा नपर्न समेत उनले आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको गोप्य पत्र सार्वजनिक भएको प्रति पनि कमालले आपत्ति जनाए । यस विषयमा सिडिओमाथि पनि प्रश्न रहेको उनको भनाई छ । पत्र सार्वजनिकबारे सिडिओसंग बुझ्दा उनी पनि तनावमा रहेको सुनाएको मुसलमानले बताए ।

आफूले गरेको राम्रो कामको बारेमा जनजनमा जानकारी रहेको, अपचलन गरेको भनिएको सबै रकमको फोटो, भिडिओ र प्रमाणहरु आफूसंग रहेको भन्दै चाँडै वृहत् पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने उनको दावी छ ।
मुसलमानले संस्थाको करोडौँ रकम दुरुपयोग गरेको समाचार बाहिर आएपछि उनका शुभचिन्तक र पार्टीका नेता पनि आश्चर्यमा परेका छन् ।