काठमाडौं । कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित यात्रा कायम राख्दा ललितपुर क्विन्सले पनि उपाधि भिडन्तमा स्थान पक्का गरेको छ ।
शुक्रबार मध्यरातमा सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३(१ ले पराजित गरेपछि फाइनल समिकरण तयार भएको हो । यसअघि फाइनल पुगिसकेको कर्णालीविरुद्ध काठमाडौंले फाइनल पुग्न २ सेट आफ्नो पक्षमा पारे पुग्ने अवस्था रहेपनि त्यो हासिल गर्न नसक्दा काठमाडौं फाइनल पुग्न पाएन । ललितपुर भने अन्तिम दिन चितवनलाई हराउँदै दोस्रो स्थानमा उक्लेसँगै फाइनल प्रवेश गर्न सफल रह्यो ।
दशरथ रंगशालाको कभर्ड हलमा पहिलो सेटमा कर्णालीले उत्कृष्ट सुरुवात गर्दै फराकिलो अग्रता लिएपनि उक्त सेट २५(२३ ले गुमायो । तर त्यसपछिका ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली अपराजित रहेर फाइनल यात्रा तय गर्न सफल रह्यो । काठमाडौं भने फाइनल नजिक पुगेर पनि बन्चित भयो ।
कर्णालीले दोस्रो सेट २५(१४, तेस्रो सेट २५(२३ र चौथो सेटमा २५(१२ को सहज जित निकाल्यो । यससँगै कर्णालीको ५ खेलमा १३ अंक पुग्यो । दोस्रो स्थानमा ललितपुर क्विन्सले ५ खेलमा १० अंक जोड्यो । काठमाडौं भने ९ अंकसहित तेस्रो स्थानमा रह्यो ।
चितवन शक्तिले ५ खेलमा ७ अंक र गण्डकी थन्डर्सले ६ अंक जोड्दा मधेश युनाइटेड अंकविहिन रहँदै लिगको अन्त्य गर्यो ।
शनिबार साढे ५ बजे फाइनल खेल हुनेछ ।
प्रतिक्रिया