मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माल र नापीले गर्ने काम मन्त्रीले गर्न थाले, पुर्जा बाँडे भनेर जस लिन खोज्दा आलोचना

माल र नापीले गर्ने काम मन्त्रीले गर्न थाले, पुर्जा बाँडे भनेर जस लिन खोज्दा आलोचना

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । नेपाल सरकारका भूमि ब्यवस्था,गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीले शुक्रबार कपिलवस्तु आएर गाउँब्लक अन्तर्गतका १ सय २२ जना जग्गाधनीलाई लालपुर्जा बाँडे ।

काठमाण्डौँबाट जम्बो टोलीसहित जहाजमार्फत् कपिलवस्तु आएका उनले बाणगंगा नगरपालिका वडा नं. १० का ९६ र कपिलवस्त नगरपालिका वडा नं. ७ का २२ जनालाई पुर्जा दिएको भनेर ब्यापक प्रचार गराएका थिए । उनले यसरी प्रचार गराए की मन्त्री अधिकारीले आफैले खल्तीबाट झिकेर पुर्जा बाँडिरहेका थिए ।

यो चाडबाडको समयमा पनि मन्त्री अधिकारी नापी विभागका महानिर्देशक प्रकाश जोशी, नापी विभागका निर्देशक दामोदर ढकाल,सचिवालयका केहि कर्मचारी पनि संगै बोकेर आएका थिए भने जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक बहादुर भण्डारी र केहि प्रतिनिधि पनि संगै थिए ।
तामझामसहित आयोजना गरिएको पुर्जा बाँड्ने कार्यक्रममा मन्त्री अधिकारीले भनेका थिए, ‘नापी कार्यलाई दशै तिहार लगत्तै ५ टोली निर्माण गरी अभियानकै रुपमा नापी कार्य सम्पन्न गर्न चाहेको छु । भूमिहिन सुकुम्बासी, अब्यवस्थित बसोबासीको समस्या सदाका लागि समाधान गर्न चाहेको छु ।’

उनले थपेका थिए, ‘३९० वटा गाउँ ब्लकको ७२१८ थान पूर्जा वितरण कार्य सम्पन्न भएको छ । ७८२ गाउँ ब्लक कित्ता संख्या मध्ये १५ हजार घरधुरी जग्गाधनी प्रमाण पत्र पूर्जा तयार गर्न बाँकी रहेको छ । त्यो पनि चाँडै हुन्छ ।’ मन्त्री अधिकारी यस कार्य गर्न के जिल्ला आएका थिए उनका नेताकार्यकर्ताको भुईमा खुट्टा थिएन । त्यसरी प्रचार गराएका थिए ।

तर मन्त्री अधिकारीले गरेको यो कार्य भने कुनै नौलो थिएन, पुरानै कामको निरन्तरता थियो । उनले कुनै जंगलमा रातदिन कटाएका वास्तविक सुकुम्बासी र भूमहिनलाई लालपुर्जा दिने ब्यवस्था गरेर पुर्जा बाँडेका थिएनन्, गाउँब्लक अन्तर्गतका जग्गाधनीलाई पुर्जा दिइएको थियो । भूमिहिनको यो गाँठो मन्त्री बनेपछि अधिकारीले फुकाएका थिएनन् जो कोहि मन्त्री भएको भए पनि गर्न सक्दथे । अनि यो कार्य गर्न मन्त्री नै दलबल लिएर जिल्लामा आउनुपर्दैनथ्यो नापी र मालका कर्मचारीले नै गर्न सक्दथे ।

मन्त्री अधिकारीले यहि कामको यसरी प्रचार गराए की उनले आफैले खल्तीबाट झिकेर पुर्जा बाँडिरहेका छन् ।उनी मातहतका मिडियाका समाचारका हेडलाइनमा पनि मन्त्री अधिकारीले लालपुर्जा बाँडेर भनेर खुबै प्रसंसा गरिएको थियो ।

यो चाडबाडको समयमा पनि मन्त्री अधिकारी नापी विभागका महानिर्देशक प्रकाश जोशी, नापी विभागका निर्देशक दामोदर ढकाल, सचिवालयका केहि कर्मचारीलाई जहाजमा बोकेर आई आफैले बाँडेको प्रचार गरेपछि केन्द्रदेखि स्थानीयस्तरसम्म उनको आलोचना भइरहेको छ ।

नापी र मालले गर्ने सदिऔँदेखिको कार्यलाई मन्त्री अधिकारी र उनको टोलीले निकै ब्यापक रुपमा प्रचारप्रसार गरेर जस लिनखोजेपछि यस क्षेत्रका विज्ञ र जानकारहरुले मन्त्री अधिकारीको आलोचना गर्न थालेका हुन् ।

नापीको निरन्तरको कार्यलाई समेत कसैले नगरेको कार्य मैले गरेँ भनेर मन्त्री अधिकारीले सिधा जनतामाथि छारो हाल्ने काम भएको समेत भनिएको छ । ‘कपिलवस्तुमा अहिले जति पनि थारु गाउँहरु छन् ती सबै मिनाहा दिइ अन्तर्गत नै पर्दछन्’, एक जना जानकार भन्दछन्, ‘वडा नम्बर २ राजपुर लगायतका कतिपय थारु गाउँहरु छन् त्यहाँ सबैलाई यस्तै खाले मिनाहा दिई पुजाँ बाँडिएको थियो । कतिपयका कागजमा श्री ५ को सरकार लेखिएको छ, कतै के छ । त्यसैको निरन्तरता हो मन्त्रीले बाँडेको भनिएको त्यो काम । मन्त्रीले जस लिन खाजेको देख्दा अचम्म लाग्यो । त्यस्ता गाउँ र जग्गाका बारेमा रेकर्डमा जनता बसेका छन् भनेर लेखिएको हुन्छ ।’

उनी भन्दछन्, ‘जनतालाई त त्यो बाँडेर नराम्रो भएन राम्रै भयो । मन्त्री आउनुभयो । बाँड्नुभयो ठिकै छ तर त्यहाँनेर उहाँको नियत ठिक देखिएन । एमालेले गर्यो । मैले गरेँ भनेर जसरी प्रचार भएको छ त्यो पटक्क राम्रो भएन ।’

अर्का एक जना जानकार भन्दछन् ‘त्यो पुर्जा भनेको जग्गा पास गर्न दिएको पुर्जा दिएजस्तो हो । मन्त्री यसरी जग्गा पास गरिदिँदै हिँड्ने हो भने नापी र मालका कर्मचारीले के काम गर्ने ? मन्त्रीले गर्ने काम र दायरा आफ्नै छन् । यसरी जनताको करको पैसा खर्च गरेर, जम्बोटोली जहाजमा आएर, टिएडिए भरेर, रिसोर्टहरुमा खानपिन गर्ने कार्य ठिक भएन । शुसासन दिन खोज्यौँ भन्दा उहाँहरुका क्रियाकलापले कुशासन र आर्थिक अनियमिततालाई उजागर गर्दछन् ।’

राजनैतिक दलका जान्ने मान्छेले पनि भन्दछन् कि, ‘मन्त्री अधिकारीले लालपुर्जा भनेर बाडेका ती कागज नापी कार्यालयले नै दिन सयक्दथ्यो । फरक यत्ति भयो मन्त्री अधिकारीले फिल्डमा एकमुष्ट बाँड्नुभयो । जब कि ती भूमिहिनहरुले एकएक गरी नापी कार्यालयमै पुगेर पनि पाउन सक्दथे ती कागज । मन्त्री, विभागप्रमुखहरु आएर दिने विषय होइन, एक जना नेताले भने यसरी राजनैतिक फाइदा देखाउन मन्त्री यस्तो हलुङगो भएर हिँड्नु हुँदैन ।’

नापी तथा मालपोत कार्यालय कार्यालय कपिलवस्तुका एक जना अधिकृतले पनि यो निरन्तर हुँदै आएको कार्य भन्दै कुनै ब्यक्ति र पार्टीले जस लिनुपर्ने कार्य नभएको बताए । उनले पनि यो कार्य गर्न मन्त्रीको टोली नै आउन आवश्यक नरहेको बताए ।

नापी विभागको कित्ता नापी महाशाखाका अनुसार गाउँब्लकको नापजाँच निरन्तर भई अहिले देशभर पुर्जा वितरण कार्य भइरहेको छ । २०४५ सालदेखि सुरु भएको यस कार्यलाई ७९/८० भित्र सक्ने लक्ष्य राखिएको भए पनि विविध कारणले त्यो सकिएको छैन । आगामी आर्थिक बर्षसम्म यो कार्य सकेर गाउँब्लकमा पुर्जा वितरण सक्ने सरकारको लक्ष्य छ । नेपालमा भूमिसुधार कार्यक्रम लागू गर्ने क्रममा भूमिमा हदबन्दी कायम गर्न र राजस्व सङ्कलन गर्ने उद्देश्यले जग्गा (नापजाँच) ऐन जारी गरी २०२१ सालदेखि एकसरो क्रमबद्ध कित्ता नापी सुरु गरिएको थियो ।

गाउँब्लकमा बसेका नागरिकले सो क्षेत्रमा आफूले भोगचलन गरिआएको जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गर्न सकेका थिएननन् जसका कारण ती नागरिकले उक्त जग्गाको बेचबिखन तथा वित्तीय कारोबार पनि गर्न पाएका थिएनन् । यस कार्यपछि जग्गा पनि पाएका र कारोबार गर्न पनि पाएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०४५/४६ मा बाँके, सर्लाही र मोरङ जिल्लाबाट पहिलो पटक गाउँब्लक क्षेत्रको नापी सुरु गरिएको थियो । कपिलवस्तु, इलाम, धनकुटा, मोरङ, सुनसरी, सिरहा, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, सिन्धुली, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौंँ, तनहुँ, चितवन, रुपन्देही, नवलपरासी, बाँके र सुर्खेत गरी २२ जिल्लामा यस्ता गाउँब्लक क्षेत्रको नापनक्सा भइरहेको छ । कति स्थानमा सकिएको छ भने कपिलवस्तुसहितका कतिपय स्थानमा नापजाँच गरी पुर्जा दिने काम भइरहेको छ ।
सुकुम्बासी जनताको समस्या एकातिर छ, लाखौँ जनता जंगलमा टहरो हालेर बसेका छन् । लालपुर्जा त उनीहरुलाई पो हो दिनुपर्ने । तर यतातिर मन्त्रालय र सरकारको ध्यान छैन ।

अर्कोतर्फ मन्त्री अधिकारी मन्त्रालयको काममा हिँड्दा जम्बो टोली लिएर हिडी राज्यकोषमा ब्ययभार थोपरेको आरोप पनि लाग्दछ । यसअघि मन्त्री हुँदा पनि अधिकारीको मन्त्रालयमा गाडी दुरुपयोग भएको थियो ।