मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद पन्थीको एउटा सपना साकार भएको ‘त्यो दिन’

सांसद पन्थीको एउटा सपना साकार भएको ‘त्यो दिन’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, बाणगंगा । ८१ असोज १७ गते, वडा दशैँको पहिलो दिन ‘घटस्थापना’ को अवसर पारेर कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलोपटक ‘कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर’ को शुभारम्भ भयो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सेन्टरको शुभारम्भ गरेका थिए ।

सेन्टरबाट सेवा शुभारम्भ भएपछि बुटवल पुगेर डाइलाइसिस गराइरहेका मृगौला पीडित विरामीहरुमा खुसीको सिमाना थिएन भने यस क्षेत्रका सरोकारवाला, सर्वसाधारण र आम नागरिकमा पनि उत्तिकै खुसियाली थियो । उक्त दिन विरामी र सर्वसाधारणभन्दा औधि खुशी यदि कोहि थिए त, केवल लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री माननीय विष्णु पन्थी थिए ।
हुन त पन्थीको खास घर रुपन्देही नै हो, यद्यपी उनको कपिलवस्तुमा पनि बासस्थान र र जग्गा छ । तर कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट लगातार २ पटक लुम्बिनी प्रदेश सभा सदस्य पदमा चुनिएपछि भने उनको ध्यान कपिलवस्तु नै छ । पन्थीका पछिल्लो समयका गतिविधिले यस्तो लाग्दछ कि उनले कपिलवस्तुकै विकास र उन्नयनमा जीवन मरणको कसम खाएका छन् ।

चाहे रुपन्देही, चाहे कपिलवस्तु या संसद जहाँ पनि उनले कपिलवस्तुको विकासको योजना र भिजन सुनाउँछन् । कपिलवस्तु र आफ्नो निर्वाचन क्षेत्रको विकासबारेका कुराहरु सुनाउँछन् ।

जसले जहाँ भन्यो, त्यहाँ पुग्दछन्, जसको फोन पनि उठाउँछन् र सकेको सहयोग गर्न तत्पर हुन्छन् । आफू सहभागि भएका हरेक गतिविधिको झलकहरु आफ्नो सामाजिक संजालमा पोष्ट्याएर आयोजकहरुको हौसला बढाउने लगायतका गतिविधिले हुन सक्दछ, उनी प्रदेशमै सर्वाधिक लोकप्रिय सांसदको छविमा छन् ।

त्यहि भिजन अन्तर्गतको पन्थीको एउटा योजना थियो कपिलवस्तुमा सुरु भएको डाइलाइसिस सेन्टर । ३६ महिनासम्मको लामो प्रयास, प्रतिक्षा र बिभिन्न अवरोधहरु छेडेँर पन्थीकै सक्रियतामा गौतमबुद्ध मुटु अस्पताल र रोटरी सेन्ट्रल कपिलवस्तुले जेसिजको भवन वैरियामा सेन्टर संचालन गर्न सफल भएका हुन् । यो सेन्टरको कुरा सुरु भएपछि सेवा सुरु नहुँदासम्म उनी यति खटे कि राति पनि सायदै सुते होलान् ।

रोटरी सेन्ट्रल बुटवलले आफ्नो मातृशाखाका रुपमा रोटरी सेन्ट्रल कपिलवस्तु खोल्न चाहानु, संस्था पनि खोलिनु, त्यसपछि डाइलाइसिस सेन्टर खोल्न संस्थालाई अफर आउनु, जिल्लाभर भवन खोजिनु र अन्तिममा डाइलाइसिस सेन्टर संचालन गर्न निशुल्क भवन उपलब्ध गराउन जेसिज कपिलवस्तु तयार रहनुले यो कार्य सम्पन्न भएको थियो ।

यी सबैको प्रयासका बाबजुत सबैभन्दा बढी यदि कसैलाई चासो थियो भने केवल पन्थीलाई नै थियो । यहाँ ६ ६ जना प्रदेश सांसद, तिनतिन जना संघीय सांसद र १० वटा नगरपालिका रहेको भए पनि उनीहरुमध्ये सायदैले यस कार्यको बारेमा गम्भीर चासो दिए । डाइलाइसिस सेन्टर खोल्ने ३ बर्षदेखि हल्ला भए पनि अरु जनप्रतिनिधिले चासो दिएको खासै सुन्नमा आएन । यता पन्थी भने बाणगंगामै सेन्टर खोल्न पाए बुटवल र काठमाडौँ धाउने मृगौला पीडित विरामीलाई धेरै सहज स्थिति सिर्जना हुने थियो भन्ने लागेर बाणगंगामा डटेर खटे ।

जेसिजलाई प्रस्ताव राखे र भवन पाउने निधो भएपछि गौतमबुद्ध मुटु अस्पत्ताललाई भिजिट गराए अनि अन्तिममा पक्का भयो । उसो त मुटु अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकासम्म पनि भवन नखोजेको होइन तर जेसिजको भवन पक्का भएपछि यहाँ नै सेन्टर संचालन गर्न अस्पताल तयार भयो । संयोग यस्तो भयो कि त्यतिखेरदेखि अहिलेसम्म नै बाणगंगामा मृगौला रोगीको संख्या सबैभन्दा धेरै छ ।

यहाँ अहिले पनि ३० जनाधन्दा धेरै विरामी रहेको नगरपालिकासंग तथ्य छ । रुपन्देहीको पश्चिम भेग, सिंगो कपिलवस्तु र अर्घाखाचीसम्मका नागरिककको लागि पनि बाणगंगा उपयुक्त भएपछि सेन्टर संचालन गर्न पन्थी थप डटेर लागे । पन्थी कति डटेर लागेका रहेछन् भन्ने कुरा सेन्टर संचालन भएको दिन पनि थाहा भयो, जब मंञ्चमा बोल्ने मुख्यमन्त्री, मन्त्री, सांसददेखि विरामीसम्मले नै पन्थीको मुक्तकण्ठले प्रसंसा गरे ।

यहि सेन्टर संचालन गर्न पार्टीभित्रकै अवरोध सहेका पन्थीले कर्मचारीबाट पनि थुप्रै अवरोध र उल्झन् ब्यहोनु परेको थियो । जायज काममा सरकारका कर्मचारीले कतिसम्म पूर्वाग्रह राख्दछन् र दुख दिन्छन् भन्ने कुरा उनले केहि समयअघि फेसबुकमा राखेको स्टाटसबाट पनि थाहा भएको थियो । सेन्टर सुरु हुँदाको दिन पनि उनले आफूले २१ पटकसम्म फाइल बोकेर मन्त्रालय धाउन परेको सुनाए ।
उनले भाषणमै सेन्टर संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै भनेका थिए, ‘आज म निकै खुसी र सन्तुष्ट भएको छु । आज जति मलाई अरु बेला खुसी लोगेको थिएन ।’ पछि अपिटाइम्ससंग पनि उनले कपिलवस्तुमा कपिलवस्तु डायलाइसिस सेन्टर सुरु हुँदा आफ्नो एउटा सपना पुरा भएको बताएका थिए ।

पन्थीले गौतम बुद्ध मुटु अस्पत्ताल र एजाज आलमको जति बखान गरेर पनि थाक्न नसक्ने बताउँदै यो योगदानको मूल्य जिल्लाले कहिल्यै दिन नसक्ने बताए ।

पन्थीको योगदानकै कारण सेञ्टर शुभारम्भ कार्यक्रममा उनलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रम संचालकले पनि पन्थीको नाम लिनासाथ केहि मिनेट उनको योगदानको चर्चामा विताउँथे । यसबाट थाहा हुन सक्दछ कि, पन्थीले डायलाइसिस सेन्टर सुरु गर्न कति खटेर लागेका थिए । संघीय र प्रदेश मन्त्रालय धाउँदाको सबै खर्च पनि पन्थी स्वयम्ले गरेको भन्दै उनको थप प्रसंसा भएको थियो ।

रोटरी नेपाल र इन्टरनेश्नलबाट मुटु अस्पताल र डायलाइसिस सेन्टरको लागि करोडौँ बजेट आए पनि थन्किएको अवस्थामा सांसद पन्थीको सक्रियताका कारण बजेट कार्यान्वयन गर्न पाएको गौतम बुद्ध मुटु अस्पत्तलका अध्यक्ष एजाज आलम तथा अन्यले बताएका थिए ।
डायलाइसिस सेञ्टर संचालन हुँदा राजनैतिक रुपमा पन्थीले कति अवरोध सहेका रहेछन् भन्ने कुरा आलमको कुराबाट थाहा हुन्छ ।

उनले भनेका थिए, ‘पन्थीले इनिसेसन नलिनुभएको हुन्थ्यो भने सायद यो सेन्टर उहिल्यै सुरु हुने थियो तर उहाँले इनिसेसन लिँदा थप समय लाग्यो । उहाँलाई नभएर अरु कोही खटेको भए चाँडै सेञ्टर सुरु हुन सक्दथ्यो । मैले भन्न खोजेको कुरा यहाँहरुले बुझ्नुहाला ।’ अर्थात् पन्थीको लोकप्रियताको डरले पार्टीभित्रकै र यहाँका अन्य राजनैतिक दलबाट पनि पन्थीलाई अवरोध थियो ।

अध्यक्ष आलामले कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर बाणगंगामा सूचिकृतका निम्ति अनेकन समस्या भोग्न परेको कथा, ब्यथा र ढिलाईका बाबजुद ३६ महिनाको अर्थक प्रयास पश्चात सामुदायिक डायलासिस सेन्टर, बाणगंगा सूचिकृत भएकोमा विशेषगरी मृगौला पिडितहरुलाई बधाई ज्ञापन गरे ।

आलमका अनुसार पन्थीले यतिधेरै चासो दिए पनि बाणगंगा नगरपालिकाले त्यति धेरै चासो दिएको रहेनछ । नगरले सेन्टर चलाउनमा चासो दिएको रहेनछ भन्ने कुरा मुटु अस्पतालले योगदानकर्तालाई सम्मान गरी नगरपालिकालाई नगरेकोबाट थाहा हुन्छ । अस्पतालले जेसिज, सेन्ट्रल कपिलवीस्तु, रोटरी सेन्ट्रल बुटवल, कपिलवस्तु जेसिज र सांसद पन्थीलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको थियो । तर नगरपालिका भने सम्मानित हुन सकेन । सायद सेन्टर संचालनको लागि फुकाउनुपर्ने गाँठोमा नगर त्यति तातेनकि भन्ने कुरा यसबाट थाहा हुन्छ । यसबाट पनि थाहा हुन्छ कि नगरपालिकाले लिने चासोभन्दा सांसद पन्थीको चासो अत्यधिक थियो ।

‘नगरमा संचालन भएको डायलाइसिस सेन्टरमा एक जना र एउटा संस्थाको मात्र भूमिका छैन, सम्मानको सुचिमा नगर नपरेपछि नगरप्रमुख चक्रपाणी अर्यालले भाषणमै भन्नु परेको थियो, ‘यहाँका धेरै संस्था र नगरपालिकाको पनि भूमिका छ यसलाई विर्षन हुँदैन भनेर ।’ कार्यक्रम अवधीभर २ घण्टा समय विताए पनि नगरप्रमुख अर्यालको मुहारमा त्यति उज्यालो देखिदैनथ्यो ।तथापी पन्थीले सेन्टर खुल्नमा नगरको पनि ठुलो योगदान रहेको भनेर चर्चा गरेका थिए ।

पन्थीले जिल्लामा क्रान्ति ल्याउने एउटा सपना पुरा भएको र अरु थप योजनामा पनि डटेर लाग्नुपर्ने बताए । पंथीले जिल्लाको चन्द्रौटामा प्रदेश स्तरकै सरुवा रोग अस्पताल, तौलिहवामा १ सय वेडको कपिलवस्तु अस्पताल, बाणगंगा नगरपालिका भित्र ५० सैयाको यूनाइटेड सहकारी अस्पताल, बाणगंगा नगरपालिकाको मातहतमा रहेको १५ शैयाको पिपरा अस्पताललाई ट्रमा सेन्टर र ४ नं मा रहेको कपिलवस्तु सामुदायिक अस्पताललाई ब्रोन अस्पतालको रुपमा विकास गर्ने कार्य सम्पन्न गर्न पाए आफ्नो जिल्लाप्रतिको केहि सपना पुरा हुने बताएका थिए ।

कार्यक्रममा सहभागि भएका प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर शारु, सांसद तथा प्रदेशका विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपाने, प्रमुख जिल्ला अधिकारी ओम प्रकाश अर्याल, रोटरीका नेपाल डिस्टिक पूर्व गर्भनर राजेन्द्र ध्वजु, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, कपिलवस्तु जेसिजका अध्यक्ष प्रविण पौडेल, रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने लगायतले सेन्टर संचलनमा पन्थीको विशेष योगदान रहेको बताएका थिए ।

सेन्टरमा १० वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ । ५ करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

मृगौला पीडित एकजना बिरामीले हप्ताको दुई देखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने हुन्छ । सेन्टर संचालनसंगै मृगौला डायलाइसिस गर्नुपर्ने विरामीलाई जिल्ला बाहिर जानु पर्ने अवस्था अन्त्य भएको छ । ८ वडा मेसिनबाट सेवा सुरु भएको सुन्टरमा विस्तारै सेवा थपिँदै जाने मुटु अस्पतालले जनाएको छ । रोटरीको सहयोगमा मुटु अस्पत्तालले कपिलवस्तुमा संचालन गरेको यो चौथो डाइलाइसिस सेन्टर हो ।