काठमाडौँ । कर्णाली यश्विसले अपराजित रहँदै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी उचालेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार ललितपुर क्विन्सलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो ।
सुमित्रा रेग्मीको कप्तानी र कुमार राईको प्रशिक्षणमा रहेको कर्णालीले सुरुआती दुई सेटमा अग्रता बनाए पनि लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौं सेटमा लम्बिएको थियो । अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो । त्यसअघि सुरुको दुई सेटमा कर्णाली २५–१७, २५–२० ले अगाडि थियो ।
सलिना श्रेष्ठको ललितपुर क्विन्स लगातार दुई सेट जितेर खेलमा फर्किएको थियो । सोझो सेटमा खेल जित्दै उपाधि जित्ने मुडमा रहेको कर्णालीविरुद्ध ललितपुरले २५–१२, २८–१८ ले सेट आफ्नो पक्षमा पारेपछि खेल २–२ को स्थितिमा पुगेको थियो । अन्तिम सेटमा कर्णालीले सुरुदेखि अग्रता बनाउँदै सेट आफ्नो पक्षमा पारेको हो ।
कर्णालीले लिग चरणमा पनि ललितपुरलाई हराएको थियो । ललितपुरले हारेको कर्णालीसँग मात्र हो । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेकामा शीर्ष दुई टोली फाइनल पुगेका थिए ।
प्रतिक्रिया