कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको ‘पोन्ड क्रस कन्टेस्ट विथ रोप २०२४’ को निर्धारित दुरी पार गर्न खेलाडीहरु असफल भएका छन् । वडा, दशैँ, तिहार र छठ पर्वको अवसर पारी लायन्स तथा लियो क्लव अफ कपिलवस्तुले आयोजना गरेको प्रतियोगितामा सिनियर र जुनियरतर्फका १६४ प्रतियोगी नै दुरी पार गर्न असफल भएका हुन् ।
सबै प्रतियोगी दुरी पार गर्न असफल भएपछि खेलको निर्णय उनीहरुले पार गरेको सबैभन्दा लामो दुरी र समयबाट लिइएको छ । जसमा सिनियरतर्फ विशाल थारु प्रथम भएका छन् । उनले निर्धारित ७५ वटा रिङमा ५४ वटा रिङ पार गरेका थिए । यी दुरी पार गर्न उनलाई १ मिनेट ४७ सेकेण्ड लागेको थियो ।
यस्तै ४९ वटा रिङ पार गरी शुशिल थारु दोश्रो भए । उनले यो दुरी पार गर्न २ मिनेट ४९ सकेण्ड समय लगाएका थिए । यस्तै तेश्रो स्थान हासिल गर्न रोशन श्रेष्ठ सफल भएका छन् । उनले ४६ रिङ २ मिनेट ११ सेकेण्ड लगाएका थिए । उनीहरुले क्रमश ५१ हजार १ सय ११, दोश्रो हुनेले २५ हजार १ सय ११ र तेश्रो हुनेले १५ हजार १ सय ११ रुपैया र प्रमाण पत्र पाएका थिए ।
खेल हेर्दा सजिलो भए पनि निकै कठिन भएको खेलाडीले बताए । प्रथम भएका थारुले भने, ‘सजिलो हुन्छ होला भनेको निकै कठिन भयो । सबै रिङ पार गर्छु भनेर आएको सकिएन । निकै गारो भयो । माथिको डोरी हल्लिएपछि पाखुरामा शक्ति संचय गर्न निकै गारो भयो ।’
उनले थपे, ‘रिङमाथि डोरी नभएर फलामको डण्डी या नहल्लने केहि राखिएको हुन्थ्यो भने सजिलै दुरी पार गर्न सकिन्थ्यो । धेरै खेलाडी डोरी हल्लिएपछि असफल भए । सबैलाई त्यस्तै कठिन भयो ।’
जुनियर तर्फ भने अभिशेख खड्का विजयी भर्इ १५ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेका थिए । उनले १ मिनेट ४५ सकेण्डमा ३६ वटा रिङ पार गरेका थिए ।
यस्तै १ मिनेट २१ सकेण्डमा २३ वटा रिङ पार गरी कविम सापकोटाले दोश्रो भए भने १ मिनेट १२ सकेण्डमा १९ वटा रिङ पार गरी शौरम शर्मा तृतीय भएका थिए । उनीहरु सबैलाई क्लवका अध्यक्ष नवदत्त घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा भएको चिट्ठातर्फको पहिलो पुरस्कार रिजन बस्यालले जितेका छन् । उनले एउटा विद्यूतीय स्कुटर प्राप्त गरे । चिट्ठातर्फ नै सन्त कुमार थारुले दोश्रो पुरस्कार ल्यापटप प्राप्त गरे भने तेश्रो पुरस्कारको गेयर साइकल प्रकाश पौडेलले पाए । खेलमा सहभागि भएकामध्येबाट नै लक्की ड्र गरिएको थियो ।
खेलबाट सङ्कलन गरिएको रकम लागू पदार्थ दुर्व्यसन र अटिजम प्रभावितलाई सहयोग गर्ने क्लबका अध्यक्ष नवदत्त घिमिरेले बताए । प्रतियोगिता बाणगंगा नगरपालिका वडा नम्बर ३स्थित राजापानी सामुदायिक वनको पोखरीमा भएको थियो । खेलको उद्घाटन प्रदेश सांसद विष्णु पन्थीले गरेका थिए ।
अहिलेसम्म नेपालमा कहिँ कतै भएको खेल खेलाउन पाउँदा निकै खुसी भएको खेल संयोजक संयोजक राम शुभागे थारुको दावी छ ।
खेलपछि लायन्सको चौतर्फी प्रसंसा भएको छ । खेल सकेपछि लायन्सले समिक्षा वैठक पनि राखेको थियो । वैठकमा सबै सदस्यले खेल सफलतापूर्वक सफल भएको भन्दै सबैलाई धन्यबाद दिए । यस्ता खेलले आगामी वर्ष पनि निरन्तरता पाउनु पर्ने क्लवका सदस्यको धारण छ ।
प्रतिक्रिया