जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगाका विग्रेका सडक बन्न थालेका छन् । केहि दिनअघि अपिटाइम्स डट कमले सडक बिग्रेको भनेर समाचार प्रकाशन गरेको थियो ।
त्यसपछि वडा नम्बर ४ को नेतृत्वको कडा आलोचना भएको थियो । समाचार प्रकाशन भएर आलोचना हुन थालेपछि वडा अध्यक्ष छविलाल रेश्मीले तत्कालै सडक मर्मतमा ध्यान दिन थालेका हुन् ।
इट्टाभट्टा चोकदेखि कुवेरापुरको पीस हिमालय रिसोर्टसम्मको करिब साढे ४ किलोमिटरको बाटोको पीच बिग्रेर जताततै खाल्डा खुल्डी बनेका थिए । जसका कारण सडक दुर्घटना पनि निम्तिएको थियो भने जनताले पनि सास्ती पाएका थिए ।
श्रोत अनुसार उक्त सडकका ठाउँठाउँमा दशैँ अघि नै मिस्कट झरेको बताइएको छ । चाडबाडको समयमा आवतजावत सजिलो होओस् भनेर तत्कालको लागि मिस्कट राखेर खाल्डाखुल्डी पुरिएको र पछि राम्रोसंग मर्मत गरिने वडाले जनाएको छ ।
समाचार प्रकाशन भएर तत्काल वडा अध्यक्षले सडक मर्मतमा ध्यान दिनुलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् । कतिपय जनप्रतिनिधिले यस्ता विषयमा खासै चासो नदिएको पाइन्छ । तर उनले भने समाचार आएसंगै सडक मर्मत गरेर जिम्मेवार जनप्रतिनिधि रहेको प्रमणित गरेका स्थानीयले बताए ।
सो सडक मात्र नभएर अन्य टोलका सडक मर्मतमा पनि वडाले ध्यान दिन थालेको छ । समाचार प्रकाशन भएपछि नगरका अरु वडाले पनि बिग्रेका सडक मर्मत गर्न थालेका छन् । वडा नम्बर ३ ले पनि भक्तौली जाने बाटोको मर्मत थालेको छ ।
यस्तो थियो समाचार
प्रतिक्रिया