मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगा राइडर्स जस्तो पो क्लव, यसरी जित्दैछ परिवार र समाजको मन !

वाणगंगा राइडर्स जस्तो पो क्लव, यसरी जित्दैछ परिवार र समाजको मन !

अपि टाइम्स

जितपुर । बाणगंगा नगरपालिकालाई केन्द्रमा राखेर कपिलवस्तुमा पछिल्लो समय स्थापना भएको बाणगंगा राइडर्स क्लवले एउटा नयाँ अभियान थालेको छ । क्लवसंग समाज र परिवारलाई जोड्न र आत्मियता बढाउन त्यस्तो अभियानको सुरुवात गरिएको क्लवले जनाएको हो ।

अभियान हो, ‘विहानैविहानै साइकल चलाउने अनि हरेक दिन सदस्यका परिवारलाई भेटेर फर्कने ।’ साधारण र आजिवन गरी क्लवमा अहिले करिब ८० जना सदस्य बनिसकेका छन् । तीमध्ये अधिकांसले साइकल चलाउने गर्दछन् ।

क्लवका सदस्यले सल्लाह गरेर हरेक दिन बाणगंगा नगरपालिका र सम्भव हुने कपिलवस्तु जिल्लाभित्रा पर्यटकीय स्थललाई केन्द्रमा राखेर साइकल रुट बनाउने गर्दछन् र साँझमा म्यासेञ्जर र ह्वाट्सएप ग्रुपमा सल्लाह गरेर उनीहरु विहानविहानै साइकल कुदाउँछन् ।

विहान ठिक ५ बजे चार नम्बर चोकमा जम्मा उनीहरुको तालिका छ। राइडर्सको ड्रेस लगाएर लाइट बाल्दै सडकमा राइडर्सहरु गुड्दा मर्निङ वाक हिँडिरहेका सबैको ध्यान उनैतर्फ हुने गर्दछ । अहिले त सदस्य हरि घिमिरेको संयोजकत्वमा रुट निर्धारण समिति बनेको छ । यहि नेतृत्वले नै कहाँकहाँ जाने रुट बनाउँछ । कसको घरमा पुग्ने त्यो पनि तय गर्दछ । त्यो रुटमा दुरी, समयअवधि, हरेक घण्टाको स्पिड सबै खुल्दछ ।

केहि समय अघिसम्म साइकल चलाएपछि आआफ्नो घर जानेहरु अहिले भने हरेक सदस्यको घरघर पुग्न थालेपछि अभियानको प्रभाव पनि बेग्लै छ । घरघरमा पुग्ने, सदस्यका परिवारसंग चिनजान गर्ने, खाजा चिया खाने र फर्कने कामले एक आपसमा आत्मियता र माया जोडेको संयोजक घिमिरे बताउँछन् ।

समस्यामा परेका परिवार र सदस्यलाई आर्थिक लगायतका सकेको सहयोग गर्ने, जन्मदिनमा मायाको चिनो उपहार लिएर जाने लगायतका राइडर्सका गतिविधिले क्लवभित्रका सदस्यको मनोबल उच्च हुने गरेको सदस्यहरु बताउँछन् ।

शारीरिक र वातावरणीय स्वस्थताको उद्धेश्य बोकेर क्लव स्थापना भएको हो । यस क्लवले चिया र खाजा खर्च कटाएर समाजका पीडित र विपन्न वर्गलाई पनि सहयोग गरिरहेको छ ।
ती कामहरुसंगै परिवार भेट्ने अभियानले सदस्यहरुको परिवारमा विश्वासको वातावरण निर्माण गर्न सुरु गरेको घिमिरेको भनाई छ ।
उनले भने, ‘हामी धेरै क्लव र सामाजिक संस्थामा आवद्ध छौँ । तर हामी क्लवमार्फत् के गर्दछौँ । कहिले राति फर्कन्छौँ । कहिले परिवारलाई भन्दा धेरै समय दिनुपर्ने हुन्छ । यिनै बाध्यतापछि कतिपय अवस्थामा परिवारमा संस्था र संगतको विश्वास नहुँदा संस्थाको आवद्धता पनि त्याग्नु परेको छ ।’

उनले थपे, ‘यो त्यसैले यो अभियान सुरु भएको हो । अभियानपछि हरेक सदस्यका परिवारले आफ्नो जहानको संगत चिन्ने मौका पाउनु भएको छ । प्रसंसा गर्नुभएको छ । संस्थाप्रतिको विश्वसनियता बढेको छ । राइडर्सका सदस्यलाई हेर्ने परिवारको दृष्टिकोण पहिलेभन्दा अहिले निकै फरक भएको पाएका छौँ ।’

विश्वमा उर्जा संकट बढिरहेको बेला साइकल नै यात्राको असल साथी हुने, साइकल चलाउँदा धेरै रोग ब्याधिबाट बच्न सकिने, पैसाको पनि बचत हुने लगायतका सन्देश पनि घरघरमा प्रदान गर्दै हिँडेको सदस्य रामु भुसाल बताउँछन् । आफूहरुले यसो भनिरहँदा साइकल चढ्ने परिवार थप खुसीले गद्गद् हुने गरेको उनले बताए ।

क्लवका सचिव राम चन्द्र बेलबासेले यो अभियानपछि परिवारबाटै उर्जा मिलेको बताए । परिवारसंगै सामाजिक अगुवा र जनप्रतिनिधिसंग पनि भेटघाट गर्ने अभियान जोडिने उनले बताए ।
क्लवका उपाध्यक्ष विष्णु गैरेले पनि यो अभियानपछि परिवारमा निकै राम्रो सन्देश पुगेको बताए । ‘कहिले क्लवको मिटिंग छ ढिला हुन्छ घर आउन भन्दा कन्भिन्स नहुने परिवारले अहिले क्लवको काम छ भन्दा केहि भन्नु हुन्न’, गैरे भन्दछन् ‘क्लव सफल बन्न हरेक घरका परिवारको साथ जरुरी छ । यो अभियान र अरु गतिविधिले बाणगंगा नगरपालिकाकै शशक्त क्लव बनाउन सन्देश पनि मिलिरहेको छ ।’

क्लवका अध्यक्ष विष्णु सापकोटा अहिले दुर्घटनामा परेर घाइते भई आराम गरिरहेका छन् । साथीहरुको अभियान देख्दा खुसी लाग्ने बताउँदै उनले बाणगंगा राइडर्स क्लव फरक सोचका साथ अघि बढेको बताए । आगामी दिनमा सामाजिक सेवा भावमा पनि क्लव अरुभन्दा अग्रणी हुने उनको दावी छ ।

क्लवका सल्लाहाकार विष्णु घिमिरेले सदस्य संख्या बढाउँदै नगरको वृहत् सदस्य भएको क्लवको रुपमा राइडर्सलाई अघि बढाउने योजना भइरहेको बताए ।
यस क्षेत्रका सामाजिक सघसंस्था र ब्यक्तिहरुले अहिले क्लवको अभियानलाई निकै सकारात्मक रुपमा हेर्न थालेको उनी बताउँछन् । यसैकारण अहिले दैनिक रुपमा साइकल चलाउनेहरुको संख्या पनि बढिरहेको उनले बताए ।