मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलवर्ट बोर्डिङको प्राङगणमै तोप पड्कँदा यस्तो भयो !

हिलवर्ट बोर्डिङको प्राङगणमै तोप पड्कँदा यस्तो भयो !

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलवर्ट ईङलिश बोर्डिङ स्कुलले शनिबार नतिजा प्रकाशन र विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । एकैपटक आयोजना भएका यी २ कार्यक्रमका कारण विद्यालयमा अभिभावक र विद्यार्थीको भीँड थियो ।
अभिभावक र विद्यार्थीको आउजाउ चलिरहेको थियो भने प्राङगणमा सजाएर विज्ञान प्रदर्शनीका सामाग्रीले रौनक फरक देखिन्थ्यो ।
तीमध्ये प्राङणको उत्तरतर्फ विद्यार्थीको भीँड अझै बढी थियो । विद्यार्थीहरु होहल्ला गरिरहेका थिए । के भएको रहेछ भनेर पुग्दा त्यहाँ सानो पाइपबाट धुवाँ उडिरहेको देखियो । ज्वालामुखी जसरी पाइपबाट आगोको लप्का निस्किएको देखिन्थ्यो ।

आगोको लप्कासंगै ठुलो आवाज आएपछि कतिपय विद्यार्थी डरले भागेका देखिन्थे भने कतिपय विद्यार्थी चर्को आवाजमा हुटिङ गरिरहेका थिए । यस्तो भीँड भएको विद्यार्थीले बनाएको तोप र त्यो पड्काएर रहेछ । त्यो दृश्य र विद्यार्थीको कलाले अरु विद्यार्थी पनि उत्साहित थिए भने अभिभावक पनि खुसी थिए ।

विज्ञान शिक्षक सन्तोष खनालको सहयोगमा कक्षा १० मा अध्ययनरत छात्रहरु नवीन बुढाथोकी, सिद्धान्त बुढाथोकी लगायतले तोपको नमुना बनाएर पड्काएका रहेछन् ।

छोटो समयमा बनाएको तोपले प्रदर्शनीमा नयाँपन थपेको छात्रद्धयले अपिटाइम्सलाई बताए । पाइप प्रयोग गरी तोपको आकार बनाएर त्यसभित्र ग्याँस उत्पादन गरेर ग्याँसकै सहायताले पड्काइएको उनीहरुले बताए । यो नमुना मात्र भएको र विद्यालयमा जोखिम हुने ठानी सानो आकारको तोप बनाएको उनीहरु बताउँछन् ।

आफूहरुले माग गरेका सामाग्री र श्रोतसाधन उपलब्ध हुने हो भने ठुलो आवाज निस्कने गरी पड्कने तोप बनाउन सक्षम रहेको विद्यार्थीहरु बताउँछन् ।

शिक्षक खनालले पनि विद्यार्थीमा अद्भूत क्षमता रहेको बताउँदै आगामी दिनमा प्रदर्शन गर्दै जाने बताए ।कक्षा ३ देखि १० सम्मका विद्यार्थीले निर्माण गरेका ११५ प्रकारका नयाँ प्रविधि प्रोजेक्टवर्कमार्फत प्रर्दशन गरिएको विद्यालयका प्रिन्सिपल शिव पोख्रेलले बताए । त्यहाँ रोवर्ट, अन्तरिक्ष चक्र, रक्त संचार प्रणाली, इकोसिस्टम लगायतबारे प्रदर्शनी देखिन्थ्यो ।
विद्यार्थीहरुले रोबोर्ट लगायतको कोडिङ पनि जानेको बताउँदै उनले राष्ट्रिय स्तरमै विज्ञान र प्रविधिमा राष्ट्रिय रुपमै प्रतिस्पर्धा गर्न सक्ने पिन्सिपल पोख्रेलको दावी छ ।

तोप पड्काउने तयारीमा विद्यार्थी

विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलले दशैँ र तिहारको विदामा परीक्षा संचालन गरी छोटो समयमै प्रदर्शनी गरिएको बताउँदै यसबाट अभिभावक र विद्यार्थी खुसी भएको जनाए । पढाईसंगसंगै विद्यार्थीमा अद्भूत क्षमता रहेको बताउँदै त्यसको प्रसफुटन गराउन बिभिन्न अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिएको पौडेलले बताए ।

विद्यालयका अध्यक्ष दीपक खनालले विद्यालयलाई यस क्षेत्रमै उत्कृष्ट बनाउने गरी काम भइरहेको बताए । प्रदर्शनीमा विद्यार्थीले बनाएका नयाँ–नयाँ आविष्कारले उनीहरुको अद्भुत क्षमतालाई उजागर गरेको अध्यक्ष खनालको भनाई छ ।
नतिजा लिन आउँदा आफ्ना नानीबाबुले बनाएका सामाग्री र प्रविधि देख्दा खुसी लागेको भन्दै अभिभावकहरुले विद्यालयलाई धन्यबाद दिएका थिए ।