मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिरासतभित्र रविः एक्लो कैदीवन्दी, ‘ब्रम्हास्त्र’, ‘सन्त्रासका ६० दिन’ लगायतका पुस्तक

हिरासतभित्र रविः एक्लो कैदीवन्दी, ‘ब्रम्हास्त्र’, ‘सन्त्रासका ६० दिन’ लगायतका पुस्तक

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने १० दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिसकेपछि उनलाई प्रहरीले दुईपटक म्याद थप गराइसकेको छ ।

पक्राउपछि रविलाई जिल्ला प्रहरी कार्यालय भवनको माथ्लो तल्लामा रहेको गार्ड सुत्ने कोठामा राख्ने व्यवस्था मिलाइएको थियो । अहिले पनि उनी यही कोठाभित्र छन् । कोठामा खाट र ओढ्ने–ओछ्याउनेबाहेक एउटा टेबल र लुगा झुण्ड्याउने ह्याङ्गर छ । माथिल्लो तल्लामा रविबाहेक अन्य कैदीबन्दी छैनन् ।

रास्वपा स्रोतका अनुसार रविको हिरासत बसाइ सामान्य छ । रविका वकिलहरूले दाबी गरेजस्तो प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार वा पेलान नभएको स्रोत बताउँछ । भेट्न आउनेहरूले सहजरूपमा भेट्न पाइरहेका छन् ।

रविको कोठामा रहेको झ्याल वा ढोकाबाट आगन्तुकहरूले रविसँग कुरा गर्ने गर्छन् । उनी सुत्ने ओछ्यान झ्यालमै सटेको हुनाले कुराकानी गर्न कुनै पनि असुविधा छैन ।

रवि किञ्चित पनि निराश वा हताश मनस्थितिमा नरहेको एक नेताले बताए । अदालतको इजलासमा आवेशपूर्ण अभिव्यक्ति दिए पनि हिरासतभित्र उनी उच्च मनोबलमा रहेको ती नेताको भनाइ छ ।

रविलाई हिजोमात्र भेटेका एक रास्वपा नेताले भने, ‘उहाँमा पहिलेकै जस्तो ऊर्जा र आत्मविश्वास देखेँ । लवाइ र हेयरस्टाइल पनि उस्तै थियो । अनुहार चम्किलो छ । अदालतले आफूलाई न्याय गर्छ भन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ । ‘चिन्ता नलिनुस, म चाँडै निस्किन्छु’ भन्नुभयो ।’

रविको दिनचर्या अहिले भेटघाट र लेखपढमा बितिरहेको छ । उनलाई प्रत्येक दिन दुईपटक दुईदुई घन्टा आगन्तुकहरूले भेट्न पाउँछन् । बिहान ७ देखि ९ र बेलुकी ३ बजेदेखि ५ बजेसम्म भेटघाटका लागि समय छुट्याइएको छ । यो समयमा रविलाई भेट्न आउनेहरूको ताँती लाग्छ । प्राय रास्वपाका नेता कार्यकर्ता हुन्छन् । आउनेहरूलाई प्रहरीले पनि सहजरूपमा नै भेट्न दिइरहेको स्रोतले बतायो । एकजनाले १५देखि २० मिनेटसम्म भेट्ने गरेका छन् ।

रविलाई भेट्न आउनेहरूले विभिन्न पुस्तकहरू ल्याइदिएका छन् । ती पुस्तकमध्ये छनोट गरेर पढिरहेका छन् रवि । उनको कोठाभित्र ‘ब्रम्हास्त्र’, ‘सन्त्रासका ६० दिन’, रुदाने लगायतका पुस्तकहरू भेटिन्छन् । पुस्तकसँगै पत्रपत्रिका पनि उपलब्ध छन् । दैनिक केही समय टिभी पनि हेर्न पाइरहेका छन् ।

रवि लेखनकार्यमा पनि व्यस्त रहेको अर्का रास्वपा नेताले बताए । ती नेताका अनुसार रवि अहिले आफ्नो हिरासत डायरी लेखिरहेका छन् । पछि पुस्तक प्रकाशित गर्ने उनको तयारी छ ।

हिरासतमा रहेका अन्य कैदी बन्दीहरू पहिलो तल्लामा छन् । हिरासतको साझा शौचालय पहिलो तल्लामा रहेकाले शौचकार्यका लागि रवि तल झर्न सक्छन् । फोन गर्नुपर्‍यो भने प्रहरीलाई गुहार्नुपर्छ । खाना भने रविले प्राय बाहिरबाट मगाउने गरेका छन् । पत्नी निकिता पोखरामा हुँदा उनले नै खाना ल्याइदिने गरेकी थिइन् । हिजो उनी काठमाडौं फर्किएकी छन् ।

सर्वोच्च अदालतमा रविको बन्दी प्रत्यक्षीकरण रिट हाल्ने निकिताको तयारी छ । त्यसैका लागि काठमाडौं आएकी हुन् । रिट हालिसकेर उनी फेरि पोखरा फर्किनेछिन् । रास्वपाका सीमित नेताहरू पोखरामा छन् ।नेपालप्रसबाट