मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामै ठुलो मात्रामा सुनको अवैध कारोबार, बुटवल प्रहरीद्धारा दुई जना पक्राऊ

बाणगंगामै ठुलो मात्रामा सुनको अवैध कारोबार, बुटवल प्रहरीद्धारा दुई जना पक्राऊ

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रबाटै ठुलो मात्रामा सुनको अवैध कारोबार हुने गरेको तथ्य खुलेको छ । नगरपालिकाको वडा नम्बर ७ निवासी एक जना ब्यापारी सुन तस्करमा संलग्न भएको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले सोमबार राति पक्राउ गरेबाट नगरमा सुन तस्कर हुने गरेको पाइएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितका अनुसार बाणगंगाको वडा नम्बर ७ कोइली बनगाईमा अर्घाखाँची सुनचाँदी पसल संचालन गरिरहेका बर्ष ३० का सन्तोष सुनार गयराति पक्राऊ परेका हुन् ।

‘सोमबार राति नै १० बजेको समयमा कपिलवस्तुबाट एउटा गाडी बुटवल हुँदै पूर्वतर्फ जाँदै थियो । त्यहि क्रममा बुटवल १० रामनगरमा शंका लागेर चेक जाँच गर्दा उक्त गाडीमा २९ तोला काँचो सुन भेटिएको हो’, डिएसपी पण्डित भन्छन् ‘गाडीमा सुनारका खलासी अकबर अली थिए ।’ लु २ ख ६५४२ नम्बरको बसमा अली रहेका थिए ।

मियाले दाँया खुट्टामा लगाउने जुत्ता भित्र खैरो रातो बुट्टे लेडीज व्यागमा कालो टेपले बेरेर चलाखी अपनाएका थिए । जाँचका क्रममा बेरीएको अवस्थामा पहेलो रङको सुन जस्तो देखिने बिस्कुट आकारको धातु २ थान फेला परेपछि थप जाँच गर्दा सुन रफेला पारिएको डिएसपी पण्डितले बताए ।

सुनको श्रोतको बारेमा अलीसंग बुझ्दा सन्तोष सुनारबाट सुन लिएको खुलेको हो । त्यसपछि उनको ठेगाना पत्ता लगाएर मंगलबार विहान साढे ३ बजे घरबाटै पक्राउ गरेर बुटवल ल्याइएको डिएसपी पण्डितले अपिटाइम्सलाई जानकारी दिए । सो सुनको मुल्यको हिसाब गर्दा ४९ लाख बढी हुने प्रहरीको भनाई छ ।

सो सुन तस्करी गरिएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको पण्डितले बताए । बरामद भएको सुन अहिले राजश्व अनुसन्धान शाखा बुटवलमा पठाइएको छ भने अली पनि प्रहरीको नियन्त्रणमा छन् । सन्तोष पहिलेदेखि नै कारोबारमा संलग्न भएको हुन सक्ने आशंका गरिएको छ ।

सन्तोषका बारेमा स्थानीयबासीसंग बुझ्दा उनले परिवारका अरु सदस्यलाई पनि जोडेर अवैध तरिकाले सुनको कारोबार गरेको जानकारीमा आएको छ । सन्तोषबारे परिवारका अरु सदस्य जोडिएको प्रहरीले भने अहिले पुष्टि गरेको छैन । सुनारबारे अनुसन्धान भइरहेकाले यसबारे विस्तृत कुराहरु पछि थाहा हुने प्रहरी बताउँछ ।

पछिल्लो समय सन्तोषले गरेको आर्थिक कारोबार अस्वभाविक देखिएको स्थानीयले नै शंका गर्न थालेको एक जनाले अपिटाइम्सलाई बताए । २९ तोला सुनमा सुनार नै संलग्न भएबाट उनी ठुलै तस्कर भएको तथ्य पुष्टि भएको स्थानीय बताउँछन् ।
सुन तस्करीको प्रमाणित भए सुनार र उनीसंग जोडिएका सबैलाई कानुनअनुसार कारबाही हुने प्रहरी बताउँछ । सुनार पक्राउ भएपछि यससंग जोडिएको थप नेक्सेस पत्ता लगाउन सहज हुने प्रहरीको भनाई छ ।

सुन तस्करको जालो बाणगंगामा रहेको थाहा पाएपछि यस क्षेत्रका सरोकारवाला पनि अचम्ममा परेका छन् । सन्तोषको पक्राउबारेको सुचना यस क्षेत्रमा गोप्य थियो भने कुनै मिडियाबाट पनि यो खबर अहिलेसम्म प्रकाशन भएको छैन । सन्तोषको पक्राउसंगै बाणगंगामा अन्यबाट पनि सुनको अवैध कारोबार भएको हुन सक्ने अनुमान गर्न थालिएको छ ।