मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा धानको समर्थन मूल्य कार्यान्वयन सुरु, किसानलाई राहत हुने

कपिलवस्तुमा धानको समर्थन मूल्य कार्यान्वयन सुरु, किसानलाई राहत हुने

अपि टाइम्स

तौलिहवा । कपिलवस्तुमा धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनका लागि सामुहिक पहल थालिएको छ । जिल्लाको कृषि क्षेत्रको विकास र धानको उचित मूल्य व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा सोमबार समन्वय बैठक समेत सम्पन्न गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सरोकारवालाहरुको उपस्थितिमा ४ बुँदे सहमती एवम् निर्णयहरु समेत गरिएको छ । बैठकको मुख्य उद्देश्य कृषक र व्यवसायीहरु बीच सहकार्य गर्दै धानको बजारिकरणमा आएका समस्याहरुको बारेमा रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “धानको मूल्य निर्धारण र उचित व्यवस्थापन गर्न आवश्यक रहेको छ । कृषकहरुको परिश्रमलाई सम्मान गर्नका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्नुको साथै बजारमा उचित मूल्य व्यवस्थापन गर्न हामीले यो पहल गरेका हौं ।”

कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर पौडेलले भने, “धानको उत्पादनमा कृषि ज्ञान केन्द्रले कृषकहरुलाई आवश्यक ज्ञान तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ । हामी स्थानीय स्तरमा उचित बीउ, मल, र अन्य साधनहरुको उपलब्धता सुनिश्चित गर्न कटिबद्ध छौं ।”

कपिलवस्तु किसान संघका अध्यक्ष अनुप चौधरीले जिल्लाका कृषकहरुको समस्याहरु उजागर गर्दै भने, “हामीले उत्पादन गरेका धानको उचित मूल्य पाउन नसक्दा कृषकहरु हतोत्साही भएका छन् । यस्तो अवस्थामा सरकार र स्थानीय निकायबाट सहकार्यको आवश्यकता छ ।” उनले मूल्य निर्धारण र बजार व्यवस्थापनको पाटोलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

चेम्बर अफ कमर्श कपिलवस्तु अध्यक्ष महादेव पोखरेलले भने, “धान उत्पादनका लागि आवश्यक संसाधनहरु, जस्तै बीउ, मल लगायतका सामग्रीहरुको उचित आपूर्ति नहुँदा कृषकहरु समस्यामा छन् । स्थानीय निकायहरुले समयमै सहजीकरण गरेमा मात्र कृषि उत्पादनमा सुधार आउन सक्छ ।”

तौलेश्वर चौधरीले जोड दिँदै भन्नुभयो, “कृषकहरुको मुख्य समस्या उत्पादन गरेको धानलाई उचित मूल्यमा बजारसम्म पु¥याउन नसक्नु हो । स्थानीय व्यापार संघ र अन्य सम्बन्धित निकायसँग सहकार्य गरेर हामीले यस समस्याको समाधानमा जोड दिनुपर्छ ।”

बैठकमा उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल), तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी (दिपु), कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, लगायत जिल्लाका स्थानीय तहका कृषि शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।