काठमाण्डौँ । १५ हजार ३७३ समर्थक र घरेलु टोली नेपाललाई २–१ ले स्तब्ध पार्दै बंगलादेशले बुधबार सातौँ दक्षिण एसियाली (साफ) च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको छ । सन् २०२२ मा दशरथ रंगशालामै भएको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग ३–१ ले स्तब्ध भएको थियो । घरेलु मैदानमा नेपालको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन । १४ वर्षको अन्तरमा नेपाली महिला फुटबल टोलीले समग्रमा १२ अन्तर्राष्ट्रिय फाइनल गुमायो । जसमध्ये ६ वटा साफ च्याम्पियनसिप नै रह्यो । नेपालले साफको सातमध्ये ६ साफ फाइनल खेल्यो । चार भारत र बंगलादेशसँग दुई फाइनल खेल नेपालले गुमाएको छ । सन् २०१६ मा मात्र नेपाल अन्तिम दुईमा पुग्न सकेन । त्यसवेला नेपाल सेमिफाइनलमा रोकिएको थियो ।
दोस्रो हाफमा तीन गोल
नेपाल र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । १५ हजार दर्शकका अगाडि दुवै टोलीका खेलाडी मध्यान्तरअघि नर्भस देखिन्थे । यद्यपि, नेपालको तुलनामा बंगलादेशले सुधारिएको प्रदर्शन गरेको थियो । नेपालको फिनिसिङ र मिडफिल्ड कमजोर देखियो । खेलको ५२औँ मिनेटमा मनिका चक्माले बंगलादेशलाई १–० को अग्रता दिलाइन् । नेपाली डिफेन्डरको गल्तीमा उनले सहजै गोल गरिन् ।
नेपालको डिबक्सभित्र आठ खेलाडी थिए । मनिकाले नेपालको डिफेन्स तोड्दै सहजै गोल गरिन् । बंगलादेशको अग्रता धेरै बेर रहेन । नेपालले चार मिनेटभित्र नै बराबरी गोल फर्कायो । अमिषा कार्कीले उत्कृष्ट बराबरी गोल फर्काउँदा घरेलु दर्शकले खुसी मनाए । अमिषाले प्रीति राईले निकालेको थ्रो बलमा बंगलादेशी गोलरक्षक रुक्मा चक्मालाई बिट गर्दै १–१ का लागि गोल गरिन् । खेलको ८१औँ मिनेटमा बंगलादेशले पुनः गोल गर्दै फाइनलमा २–१ को अग्रता बनायो । रितु पुर्ना चक्माले बक्सबाहिरबाट प्रहार गरेको बल स्विङ भएको थियो । नेपालकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाले पहिलो बारमा बल छेक्ने कोसिस गरेकी थिइन् ।
समान एक प्रहार पोलमा
पहिलो हाफको १० मिनेटमा रोमाञ्चक भिडन्त भएको थियो । दुवै टोलीका खेलाडी आक्रामक रूपमा प्रस्तुत भएका थिए । खेलको दोस्रो मिनेटमै बंगलादेशकी सविना खातुनको प्रहार क्रसबारमा लागेको थियो । खेलको १०औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गरेको प्रहार बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा नेपालकी कप्तान अञ्जिलाले उत्कृष्ट बचाउ गर्दै फराकिलो गोल अन्तरको हार टारेकी थिइन् ।
खेलको ६८औँ मिनेटमा मारिया मान्डाले बक्सबाहिरबाट हानेको प्रहारलाई उनले पन्च गरेकी थिइन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध सेमिफाइनल खेलेको पहिलो रोजाइमा एक खेलाडीलाई फाइनलमा परिवर्तन गरेका थिए । रेखा पौडेलले भारतविरुद्ध दोहोरो पहेँलो कार्ड सामना गरेपछि फाइनल गुमाएकी हुन् । खेलमा दोस्रोपटक अग्रता गोलपछि बंगलादेशले बल पोसेसनमा पकड बनायो । उसले नेपाललाई आक्रमण बुन्ने अवसर दिएन ।
अमिषालाई परिवर्तन गर्नु नै गल्ती भयो राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
नेपालको प्रदर्शन हेर्दा समग्रमा साफ च्याम्पियनसिप राम्रो भयो । दोस्रो हाफमा अमिषालाई परिवर्तन गर्नु नै ठूलो गल्तीजस्तो लाग्छ । बंगलादेशको दोस्रो गोल हुँदा हाम्रा गोलरक्षक तयार देखिएनन् । डिफेन्सबाट पनि राम्रो भएन । बंगलादेशीका लागि विजयी गोल गरेकी खेलाडीलाई अनिताले रोक्न सकिनन् । अगाडि सावित्रा भण्डारी एक्लैजस्तै देखियो । उनले सही समयमा बल पास नै पाउन नै सकिनन् । प्रतियोगितापछि एन्फाले महिला फुटबलबारे योजना बनाउनुपर्छ । साफजस्तो प्रतियोगिता खेल्न छोटो तयारीले पुग्दैन । यसका लागि राम्रो र लामो तयारी हुनुपर्छ । विजेता बंगलादेशको तयारी र योजना निकै राम्रो छ । नेपालले फिफा महिला विश्वकप खेल्ने योजना बनाएको छ । तर, यस किसिमको योजनाले सम्भव छैन ।
प्रशिक्षकको पद छाड्ने घोषणा
नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाड्ने घोषणा गरेका छन् । लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा हारेपछि तामाङले पद छाड्ने घोषणा गरेका हुन् । ‘अब महिला टोलीसँग काम गर्दिनँ, आजको खेल अन्तिम हो,’ उनले भने, ‘राजीनामाभन्दा पनि अब छाड्छु ।’ उनले प्रशिक्षण करिअरलाई निरन्तरता दिने बताएका छन् । ‘अब म क्लबतिर जान्छु,’ तामाङले भने, ‘नेपाली टोलीमा अरू नयाँ मान्छे आउँछन् ।’ उनको प्रशिक्षण महिला टोलीले गत वर्ष वाफ च्याम्पियनसिप खेलेको थियो । त्यतिवेला नेपाली टोली फाइनलमा जोर्डनसँग पराजित भएको थियो ।
प्रधानमन्त्रीद्वारा नेपाली टोलीको प्रशंसा
प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँँ साफ महिला फुुटबलमा उपविजेता भएको नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् । दशरथ रंगशालामा नेपाल र बंगलादेशबिचको फाइनल खेल हेरेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट घरेलु खेलाडीको प्रशंसा गरेका हुन् । ‘अब अर्को खेल जित्ने गरी मिहिनेत हुने विश्वास छ । उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई धन्यवाद छ,’ उनले भने ।
रंगशालामै प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी
साफ च्याम्पियनसिपको उपाधि भीडन्तमा नेपालले हारेपछि रंगशालामै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी भयो । खेल समर्थकले केपी ओली मुर्दाबाद्, केपी चोर देश छोड, केपी ओली पनौति भन्दै युवाहरुले चर्को नाराबाजी गरेका थिए ।
उपविजेता नेपाललाई काठमाडौं महानगरको २५ लाख पुरस्कार
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले बुधबारै एक कार्यक्रमबिच उपविजेता टोलीलाई चेक हस्तान्तर गर्दैै पुरस्कृत गरेका हुन् ।
प्रतिक्रिया